क्रान्तिकारी धार र नौलो स्वादका कविता

२०१६ सालमा शारदा प्रकाशन गृहबाट पहिलो, साझा प्रकाशनबाट २०२८ मा दोस्रो र २०३६ मा तेस्रो संस्करण प्रकाशन भएको ‘विजय मल्लका कविता’ नेपाली गद्य कविताको प्रारम्भकालीन कविताहरूसमेत समेटिएको संग्रह हो । नेपाली कवितामा आधुनिकता र गद्यशैलीको प्रयोगका हिसाबले वि.सं. १९९२ को गोपालप्रसाद रिमालको कविता ‘कविको गायन’ले सुरु गरेको गद्य कविता आन्दोलन विजय मल्लमा आएर अझ सुदृढ बनेको छ । विजय मल्ल रिमालपछि नेपाली कविताको गद्यधारामा देखिएका महत्त्वपूर्ण हस्ताक्षर हुन् । नेपाली उपन्यास, कथा र नाटकमा समेत महत्त्वपूर्ण हस्तक्षेप गर्न सफल विजय मल्ललाई उपन्यास, कथा र नाटकले स्थापित गर्‍यो । तर, उनको कविता यात्राले भने अत्यन्त महत्त्वपूर्ण योगदान हुँदाहुँदै पनि पाउनुपर्ने जति प्रसिद्धि पाएन ।
विजयका कथा, नाटक र उपन्यासमा रचनाको जस्तो सम्पूर्णता वा समग्रताको प्रयास भएको छ, केही कवितामा त्यस्तो मिहिनेत नपुगेको जस्तो पनि देखिन्छ । अत्यन्त भव्य र वाचाल देखिए पनि फिनिसिङ नपुगेको जस्तो धेरै कवितामा देखिएको छ । ६१ कविता संगृहीत यस पुस्तकमा नेपाली कवितामा आजसम्म कोसेढुंगो मानिएका सुन्दरतम् रचनाहरू पनि छन् । विजय मल्ल नेपाली साहित्यको आधुनिकताको प्रारम्भकालीन समयदेखि उत्कर्षको समयसम्म सधैँ सक्रिय देखिए पनि पछिल्लो समयमा कविता सिर्जनाभन्दा उनको ध्यान गद्यतर्फ लागेकाले उच्चस्तरीय काव्य सामथ्र्य गद्यमा झैँ प्रस्फुटन हुन सकेको छैन ।
विजय मल्लका कविता मलाई मनपर्नु र नेपाली कवितामा यस संग्रहको शीर्षस्थान हुनुका कारणहरू छन् । प्रथमत: संग्रहमा नेपाली गद्यकविताको प्रारम्भकालीन समयमै प्रस्फुटित कविताको आधुनिक छटा राम्रोसँग परिलक्षित हुन्छ । छन्द कविताले टिप्न नसक्ने विषय, प्रस्तुति तथा शैली कविताबाट सम्प्रेषित भएको छ । ‘छोरीलाई मानचित्र पढाउँदा’, ‘एउटी अधबैसेँलाई देखेर’, ‘बम खसाल ए † बम खसाल’, ‘कलम रोक’, ‘म फेरि यहाँ नै जन्मन्छु ?’ ‘तिमी हाँसे’, ‘यान्त्रिकता’, ‘जंगलको बाटोबाट’, ‘गणना’, ‘एक मिनेट’, ‘बाक्लो कोट’, ‘मेरो हंस’, ‘मृत्यु र जीवन’, ‘महान लेनिनप्रति’ जस्ता आजसम्म पनि दबाब दिनसक्ने कविता त्यसैबेला लेखिनुले नेपाली कविताको प्रारम्भकालीन समयमै विजयको प्रतिभाशाली संलग्नता आजको परिप्रेक्ष्यमा समेत गणनायोग्य देखिन्छ । विजय मल्लका ‘छोरीलाई मानचित्र पढाउँदा’, ‘बम खसाल, ए बम खसाल’ र ‘महान् लेनिनप्रति’ कविताहरू प्रकाशनको समयदेखि आजसम्म पनि त्यति नै महत्त्व राख्ने र सम्भवत: नेपाली कविताकै सुन्दरतम कवितामध्ये पर्छन् । मल्लका प्रस्तुत कविताले रुसीक्रान्ति, क्रान्तिको अग्रभूमि र क्रान्तिले ल्याएको स्थानीय र वैश्विक प्रभाव र दबाबको सुन्दर चित्रण गरेको छ । लेनिनको आगमन र उनको नेतृत्वमा भएको क्रान्तिका युगान्तकारी प्रभाव विश्व राजनीतिमै क्रान्तिको समयदेखि नै पर्दै आएका छन् । माक्र्सवादी दर्शन र विचारलाई व्यावहारिक रूपमै लागु गरेका कारण मानव सभ्यताको नयाँ समय रच्ने कलाकारका रूपमा समेत लेनिनलाई लिनुपर्ने हुन्छ । विजय मल्लको ‘महान् लेनिनप्रति ‘कवितामा रुसी क्रान्तिको विश्व प्रभाव अत्यन्त राम्रोसँग टिपिएको छ ।
हर विश्वको कानले बहिरो सुन्न सक्तछ, त्यस आवाजलाई जो कानको प्वालमा गुन्जिरहन्छ–
दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिंगटनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौंमा,
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन ।
– महान् लेनिनप्रति, पृष्ठ ११७
प्रस्तुत कविताले रुसी क्रान्ति र यसका प्रभावबारे जति सरल तर युगान्तकारी आँकलन गरेको छ, लेनिनमाथि स्पष्ट, सुन्दर र शक्तिशाली अभिव्यक्ति यसबाट प्रवाहित भएको भन्न सकिने आधारहरू यस कविताको समग्र अध्ययनबाट प्रमाणित हुन्छ । एक ध्रुवीय विश्वलाई अर्को ध्रुव दिने रुसी क्रान्तिका नायक महान् लेनिनको शक्ति र प्राप्तिको भव्य चित्रणका कारण प्रस्तुत कविता अहिले पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ ।
मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’ कवितामा विश्वबन्धुत्वको सार्वभौम घोषणा मात्र गरिएको छैन, भौगोलिक सीमाले मान्छेलाई कैदीझैँ पारेको र दीर्घकालमा मान्छेलाई बाँध्ने राजनीतिक र भौगोलिक सिमाना नरहने उद्घोषसमेत गरिएको छ । कवि सिद्धिचरण श्रेष्ठले भनेका छन्– ‘मल्लका रचनामा अन्तर्राष्ट्रिय परिस्थिति र आजको विश्व समस्याको मुक्तिको गुञ्जन हामी पाउँछौँ । छन्द र अलंकारमा मात्र कवितालाई नबाँधी जोडदार गद्यबाट आफ्नो अभिव्यक्ति कला प्रस्तुत गर्ने कविका रूपमा हामी मल्ललाई पाइरहेछौँ ।’ कवि श्रेष्ठको भनाइमा ऐक्यबद्धता जनाउनुपर्ने तर्क मल्लका कवितामा भएकाले उनलाई नेपाली गद्य कविताको रूप निर्माताका श्रेणीमा
राख्नु पर्दछ ।
विजय मल्लको ‘बम खसाल, ए बम खसाल †’ कविताले युद्धको वीभत्स रूपको चर्चा गर्दै यसले नाश गर्ने सम्पदा र मानवमूल्यको पक्षमा जोडदार रूपमा युद्धको विरोध गर्दछ । ‘कलम रोक’ कवितामा शासक र अत्याचारीले कलम रोक्न दबाब दिने गरेको तर नरोकिने दह्रो प्रतिबद्धता निहित छ । मल्लका केही कवितामा प्रेम र रोमान्टिक भावनासमेत अभिव्यक्त भएका छन् । ‘एक मिनेट’ कवितामा समयको महत्त्व देखाउँदै समय रोकिनु भनेको मानव सभ्यता र यसका उपलब्धिको नाश हुनु तथा सभ्यताले आर्जन गरेका मूल्य र भौतिक सम्पदाको क्षतिको भयावह भविष्यको संकेत पनि हुन जाने विचार व्यक्त भएको छ ।
मल्ल जीवनवादी कवि हुन्, आशा र भरोसाका कवि हुन् । उनका कवितामा मृत्युले जीवनलाई समाप्त गर्न नसक्ने भावना राम्ररी अभिव्यक्त भएको छ –
मृत्यु झुकेर फर्कन्छ,
उसको नैराश्यले बहुलाएको आँखा,
छट्पटाउँछ, छट्पटाउँछ, छट्पटाउँछ ।
जीवनको संगीत तर कतै बजिरहन्छ,
बजिरहन्छ ।
मृत्यु सधैँ लखेटिरहन्छ, लखेटिरहन्छ ।
–मृत्य र जीवन, पृष्ठ १०९
मल्लका कवितामा रहेको यही विविधता, भाषा, भाव र शैलीको शक्ति, जीवनको अपराजित यात्रा, आशावाद, क्रान्तिप्रतिको निष्ठा र परिवर्तनको स्वीकारोक्तिका कारण प्रस्तुत संग्रह नेपाली जाति र भाषाको अमूल्य धरोहर बन्न पुगेको छ भन्ने मलाई लाग्छ । म मल्लका नाटक, कथा र उपन्यासको समेत पाठक हुँ । तिनमा रहेको आधुनिकता नेपाली समाजको रूपान्तरण र परिवर्तनशील गणितको उपभोक्ता पनि हुँ । तर, उनका कवितामा रहेको ताजापन भाषा, भाव र शैलीको नवीनता र अभिव्यक्तिको उच्चता उनका गद्यमा भन्दा शक्तिशाली र घनीभूत रहेको तथा नेपाली काव्यमा उदाएको आधुनिकता, अभिव्यक्तिको फरक धार र चेतनाको भव्यता पूरै फरक र शक्तिशाली रहेका कारण– ‘विजय मल्लका कविता’ मलाई औधी मन पर्छ ।
‘मेरो हंस’ कवितामा विजय मल्ल भन्छन्–
ए शत्रु † पहिले मार धर्तीलाई
अनि, मलाई मार्न सक्छौ ।
मेरो हंस त्यहीँ छ ।
– मेरो हंस, पृष्ठ १०६
मल्लको हंस यसै पृथ्वीमा अहिले पनि रहेकाले पृथ्वी नमरेसम्म उनी अमर छन् र उनका कविता पनि अमर रहनेछन् ।

प्रतिक्रिया