कानुन नलाग्ने राजनीतिज्ञ

राजनीतिमा जब–जब नैतिकता, अपराधीकरण र भ्रष्टाचारको सवाल उठ्छ राजनीतिज्ञहरू नेतृत्वमा बस्न वर्जित जस्तै हुन्छन् । जापानमा त भ्रष्टाचारको अभियोग लागेका राजनीतिज्ञले हाराकिरीसमेत गरेका घटना प्रशस्तै सुनिन्छन् । अहिलेको नेपाली राजनीतिका चर्चित खेलाडी प्रचण्डलाई उनकै पार्टी एमाओवादीको वैद्य पक्षले पौने तीन अरब रुपियाँ माओवादी शिविरबाटै भ्रष्टाचार गरेको आरोप लगाएका छन् । वैद्य पक्षको आरोपअनुसार ‘लडाकुको भरणपोषण, भत्ता र शिविर निर्माणमा सरकारले खर्चेको करिब नौ अर्बमध्ये पौने तीन अर्ब भ्रष्टाचार भएको ठहर गरेको छ ।’ त्यसैगरी माओवादीकै एकजना डिभिजन सहायक कमान्डर उदय चलाउनेका अनुसार ‘तीन हजारभन्दा बढी लडाकु कहिल्यै ब्यारेक बसेनन् तिनको रासन र भत्ताको पैसा सबै प्रचण्ड र डिभिजन कमान्डरहरूले बाँडेर खाए ।’ कांग्रेस, एमाले नेताहरूलाई सबै कण्ठ छ, तर उनीहरू शान्ति र संविधान भन्दै भ्रष्टाचारको कुरामा एक शब्द बोल्दैनन् भनेर आरोप लगाएका छन् ।
खुला प्रजातन्त्रमा माथिल्लो तहका नेताले गरेको भ्रष्टाचार भनेर किटानीसाथ सार्वजानिक भएको टीकाटिप्पणीलाई प्रमाणित गर्नका लागि मार्ग प्रशस्त गर्न अहोदामा नबसेर छानबिन गर्ने निकायलाई सजिलो गराउने चलन छ । माओवादी पार्टीका सुप्रिमले आफूमाथि लागेको उक्त गम्भीर दोषारोपणको सफाइको चुनौती दिन आफ्नो पदबाट राजीनामा दिएर आफूलाई निष्कलंक प्रमाणित गरेदेखि त्यो एउटा उत्तम प्रजातान्त्रिक तरिका हुन सक्छ । तर, के प्रचण्ड वैद्य वा गजुरेलहरूलाई प्रजातान्त्रिक नेता मान्न मिल्छ र ? त्यसैले उनीहरूबाट प्रजातान्त्रिक नेताको आचरण खोज्नु कति सान्दर्भिक छ ? त्यो वैद्य वा प्रचण्डले नै जान्ने कुरा हो । माओवादीका लडाकु बसेका क्यान्टोनमेन्ट भ्रष्टाचारका आहाल भए भन्दा नेपाल राष्ट्रको र नेपालका पार्टीको बदनाम त हुने नै भयो तर एउटा आदर्श, सिद्धान्त र खास निष्ठाको लागि बिसौँ वर्ष लडेको सम्पूर्ण पार्टीको लामो जीवनका लागि पनि प्रचण्डजस्ता नेताले क्लिनचिट लिनु त्यत्तिकै जरुरी छ । त्यसका लागि सबैभन्दा सर्वसम्मत तरिका भनेको सम्बन्धित निकायलाई छानबिनका लागि आफैँले निम्ता दिनु र पार्टीका सबै सम्बन्धित निकायबाट छानबिन पूरा नभइन्जेल राजीनामा दिएर प्रचण्डले एउटा राम्रो र प्रजातान्त्रिक अभ्यासलाई प्रोत्साहित गर्न सक्छन् । तर, प्रचण्ड वा वैद्यहरूलाई प्रजातान्त्रिक चस्माले हेर्दा ठम्याउन सकिन्छ र ? जुन पार्टीलाई हजारौँ मानिस मर्दा पीडाबोध भएन त्यहाँ भ्रष्टाचारका कुराले छुन्छ र ?
९ वैशाखमा अस्ट्ेरलियाका सभामुख पिटर स्लिपरले यौन दुव्र्यवहार तथा जालसाजीको आरोप लागेपछि संसद्को सभामुख पदबाट राजीनामा गरेका छन् । नागरिक कानुन तथा आपराधिक क्रियाकलापसहित लागेको आरोप नसल्टिन्जेल सभामुखका रूपमा बसिरहन सही नहुने ठानेको भन्दै अस्ट्रेलियाका सभामुखले आफ्नाबारे छानबिन गर्न मार्ग प्रशस्त गर्नुलाई प्रजातन्त्रमा सकारात्मक परम्पराका रूपमा लिइन्छ । ‘सबै आरोपबाट सफाइ पाएपछि म फेरि सभामुखको जिम्मेवारीमा फर्कने छु’ भनेर उनले प्रजातान्त्रिक शैलीको एउटा उच्च नमुना प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले वाटरगेट काण्डमा अभियोग लागेपछि राष्ट्रपतिबाट राजीनामा दिएका थिए । तर बैंक लुट्नेदेखि ०६२/६३ पछि बन्दुक देखाएर जनता लुट्ने छुट पाएको माओवादी पार्टीले सरकारी पैसा लुट्नु कुन ठूलो कुरा भयो र ? नेपालको ०६२/६३ को आन्दोलनपछि नेपालको राष्ट्रिय राजनीतिमा गिरिजा र प्रचण्ड सर्वाधिक लोकप्रिय नेता रहेका थिए । ०४६ पछि सबैभन्दा भ्रष्ट छवि भएका गिरिजा न जेल गए न त भ्रष्ट ठहरिए । कांग्रेसका चिरञ्जीवी वाग्ले भ्रष्टाचारको आरोपमा जेल बसेर छुटिसके भने फोरमका जेपी गुप्ता जेलमै छन् । कांग्रेसका खुमबहादुर खड्का,
गोविन्दराज जोशी भ्रष्टाचारको अभियोगमा तारिख खेप्दै छन् । सर्वोच्चले ज्यानमारा ठहराएका माओवादीका ढुंगेल सांसद नै छन् भने नाथे भ्रष्टाचारले प्रचण्डलाई के छोला र ? गिरिजाजस्तै प्रचण्ड पनि कानुनमाथि नै छन् नि ।
प्रजातान्त्रिक पद्धतिमा राजनीतिक पद र प्रतिष्ठा तथा व्यक्तिगत प्रभावले कुनै पनि नागरिकलाई कानुनभन्दा माथि राखेर उन्मुक्ति दिन मिल्दैन । प्रचण्डको बोली नै कानुनभन्दा माथि देखिएको छ । कानुन कांग्रेस, एमाले र अरूलाई पो लाग्ने हो । केही समयअघि चीनको छोङ–किङ नगर पार्टी प्रमुख यो सिलाई शक्ति दुरुपयोग तथा अनुशासन उल्लंघनको अभियोगमा बर्खास्त गरिएको थियो । सोही अभियोगमा गत अप्रिल १० मा पोलिटब्युरो र केन्द्रीय समितिबाट पनि निलम्बन गरियो । प्रचण्ड र उनको पार्टीका अरू नेतालाई माडी र दोलखा बमकाण्डजस्ता थुप्रै आततायी अभियोग लागेका छन् । १० वर्षभन्दा बढी समयमा राज्य पक्ष र माओवादी पक्षबाट थुप्रै गैरन्यायिक हत्या भए तापनि ०६२/६३ पछि शान्ति स्थापनाका लागि र खासगरी सेना समायोजन गरेर राज्यलाई सेना तथा हतियार बुझाएकामा अहिले प्रचण्ड राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा समेत शान्ति पक्षधर भनी प्रशंसाको पात्र भएका छन् । कांग्रेस र एमाले पार्टीले १७ हजार नेपाली मारिएकामा एम्नेस्टीले आममाफी दिने मञ्जुरी दिएका छन् ? त्यस्तो अवस्थामा झिना मसिना भ्रष्टाचारको प्रसंगको के काम ? अहिले माओवादी चरम गुटबन्दीमा फसेको छ । एमाओवादी नेता सिपी गजुरेलले खासगरी प्रचण्ड र माओवादीले गरेको भ्रष्टाचार थाहा पाएर पनि कांग्रेस र एमाले शान्ति र संविधान भन्दै भ्रष्टाचारको कुरामा एक शब्द बोल्दैनन् भन्ने दोषारोपण गरेका छन् । कुरा उठाए पनि कांग्रेस र एमालेले पार लगाउने हैसियत राख्छन् र ? त्यसको आँकलन वैद्यहरूले नै गर्ने कुरा हो । आमजनताका दृष्टिमा कमरेडहरूलाई भ्रष्टाचारले छुन्छ  जस्तो लाग्दैन ।
कांग्रेस र एमालेका कैयौं ठूला नेता पनि भ्रष्टाचारको मामिलामा माओवादी नेताहरूभन्दा कम छैनन् । खासगरी २०४६ पछि राजनीति गर्ने मानिसले भ्रष्टाचार गर्नुहुन्छ भन्ने नजिर स्थापना गर्ने पार्टी कांग्रेस र एमाले नै छन् । भ्रष्टाचारको मामिलामा कांग्रेस र एमालेका नेता कहाँ छन् भन्ने कुरो प्रचण्ड तथा सिपी गजुरेललाई पनि ज्ञान भएकै विषय हुन् । अत ‘तैँ चुप, मै चुप’ नीतिमा वैद्य र सिपी गजुरेल थिएनन् भन्ने ठाउँ भने देखिँदैन । ठूलो नरसंहारका लागि माओवादी नेताहरूलाई कुनै दिन न्युरेमबर्ग ट्रायलजस्तो ट्रायल गरियो भने १७ हजार नेपालीको मृत्युको कारक एक्लै प्रचण्ड मात्र हुन्, हामी क्यै जान्दैनौँ भनेर सिपी गजुरेलहरूले मुक्ति पाउने सम्भावना कत्तिको छ ? त्यो त सिपीसहित वैद्य पक्षका नेताहरूले जान्ने कुरो हो । अहिले प्रचण्ड, वैद्य, गजुरेलले गान्धी, बिपी कोइराला, नेहरू वा अन्य प्रजातान्त्रिक नेताको आचरण देखाउँछन् भन्नु त्यति पत्याउने कुरा होइन । सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने सिद्धान्तबाट दीक्षित प्रचण्डले एक–दुई वर्ष पहिला ‘पैसा र बन्दुक भए सत्ता टाढाको कुरा होइन’ भनेकोबाट पनि प्रचण्ड, वैद्य तथा गजुरेललाई सत्तामा टिकीराख्न पनि पैसा तथा हतियार चाहिएकै विषय हुन् ।

प्रतिक्रिया