झारफुकको बहानामा बलात्कार

झापा : झारफुक गर्न गएकी २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय भारतीय नागरिक रवि सिंहलाई प्रहरीले पक्राउ गरेको हो । एक सातादेखि अनारमनी–१, बुट्टाबारी चोकमा झारफुक र जडीबुटी बिक्री गर्दैआएका भारत हरिद्वारका सिंहले ती महिलालाई सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । पेटको बिरामी रहेकी महिलालाई पतिले जडीबुटी दोकानमा सोमबार बिहान लगेका थिए । अभियुक्तले दुईवटा बोक्सी लागेको र घरैमा गएर झारफुक गर्नुपर्छ भनेर दुई हजार दुई सय रुपियाँ समेत मागेपछि घर आएको र झारफुकको बहानामा घरमै बलात्कार गरेको ती महिलाले बताइन् । अभियुक्त सिंहले पीडित महिलालाई मंगलबार पनि फुक्नुपर्छ भनेर पतिलाई समेत भनेको र पतिले पनि झारफुक गर्न दबाब दिएपछि उनले मंगलबार घटनाबारे बताएकी हुन् ।
पीडितका परिवारले प्रहरीमा खबर गरेपछि आरोपित सिंहलाई नियन्त्रणमा लिइएको हो । सिंहविरुद्ध बलात्कारको जाहेरी परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर छविरमण भट्टराईले बताए । (सौस)

प्रतिक्रिया