संविधान निर्माणमा देखिएका जटिलता

संविधान निर्माण प्रक्रियामा जटिलता देखिनाको प्रमुख कारण राजनीतिक दलहरूकै आन्तरिक र दलगत खिचातानी हो । एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), मधेसवादीलगायत सबै दलका आआफ्नै किसिमका सैद्धान्तिक अडान छन् । यी राजनीतिक दलहरूमा कांग्रेस अर्कै राजनीतिक सिद्धान्त भएको दल हो । उसका आफ्नै किसिमका राजनीतिक एजेन्डा छन्, राज्य पुनर्संरचना, सङ्घीयता, संविधानमा उल्लेख गरिने धेरै व्यवस्थाका सम्बन्धमा । त्यस्तै एमाओवादी १० वर्ष जनयुद्ध लडेर आएको पार्टी हो, उसका पनि आफ्नै निश्चित कारण थिए । राजनीतिक एजेन्डा, पुनर्संरचना, सङ्घीयतालगायत संविधानका विषयमा त्यस्तै किसिमका एजेन्डा एमालेका पनि छन् । चौथो मधेसवादी दलहरूको मोर्चा पनि महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा आइरहेको छ । संविधानका सन्दर्भमा उसका पनि आफ्नै किसिमका राजनीतिक एजेन्डा छन् ।
संविधानमा उल्लेख गरिने विषयवस्तुका सन्दर्भमा यी सबैका फरकफरक धारणा रहेकाले यसमा जटिलता देखापरेको छ । यी चारवटै प्रमुख राजनीतिक दलमा संविधानका सन्दर्भ भिन्नाभिन्नै किसिमको सोच, दृष्टिकोण छ । नेपाली राज्यलाई रूपान्तरण गर्ने सम्बन्धमा फरकफरक किसिमका एजेन्डा छन् । राजनीतिक एजेन्डा र सैद्धान्तिक भिन्नता नै संविधान निर्माणका सन्दर्भमा सबैभन्दा ठूलो जटिलताका रूपमा देखापरेको छ । संविधान निर्माणका बेला राजनीतिक दल र नेतृत्वबीच मतभिन्नता हुनु स्वाभाविक पनि हो । तर, ती राजनीतिक विविधता र मतभिन्नतालाई ‘न्यारो डाउन’ गर्न सक्षम नेतृत्वकर्ता चाहिन्छ जसले सबै राजनीतिक शक्तिबीच सहमति र विश्वासिलो वातावरण बनाउन सकोस् र समयमै विभिन्न राजनीतिक विषयवस्तुमा सहमतिको वातावरण बनाएर संविधान निर्माण गर्न सकोस् ।
राष्ट्रको सर्वोच्च कानुनको रूपमा रहेको संविधान भनेको कुनै पनि मुलुकका लागि धेरै महत्वपूर्ण दस्तावेज हो । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका मामिलामा संविधानमा उल्लेख गरिने विषयवस्तुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मुलुकको राजनीतिक शासन व्यवस्थासँगै राष्ट्र निर्माणका लागि असाध्यै महत्वपूर्ण साधन र दस्तावेजका रूपमा संविधान रहेको हुन्छ । यस सन्दर्भलाई हरेक राजनीतिक शक्तिबीच वर्तमानमा देखापरेका राजनीतिक भिन्नतालाई ‘न्यारो डाउन’ गर्ने र त्यसलाई सहमतिमा ल्याउन सक्ने किसिमको लिडरसिपको भयङ्कर ठूलो अभाव देखिएको छ । अहिले हामीले जुन किसिमका समस्यासँग जुध्नु परिरहेको छ, हामीले जुन सहमति बनाउनु पथ्र्यो, त्यसबारेमा खासै सम्बोधन नभइरहेको अवस्था छ । यसले नेपालको राजनीतिक नेतृत्व असाध्यै कमजोर, कुनै भिजन नभएको पुष्टि गर्छ ।
संविधान निर्माणका लागि संविधानसभाको संरचना पनि आफैँमा अवरोधका रूपमा देखिएको छ । संविधानलाई दुई तिहाई बहुमतले पारित गर्नुपर्ने अवस्थामा संविधानसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नभएका कारण यसमा जटिलता थपेको छ, अहिलेसम्म जहाँ पनि संविधानसभामार्फत संविधान समयमै निर्माण भएका छन्, त्यहाँको संविधानसभामा एउटा राजनीतिक पार्टीको मात्रै वर्चस्व रहेको देखिन्छ । उदाहरणका लागि भारतमा पनि पूर्ण रूपको संविधानसभा होइन, जे होस्, त्यहाँको संविधान पनि संविधानसभाबाटै आएको हो । त्यो संविधानसभामा दुई–तीनभन्दा बढी सिट कंग्रेसको थियो । संविधानसभामा एउटै राजनीतिक विचार बोकेको राजनीतिक पार्टीको वर्चस्व रहेकाले उनीहरू समयमा नै नयाँ संविधान निर्माण गर्न सफल भएका हुन् । तर, नेपालमा त्यसको ठीक विपरीत अवस्था भएका कारण संविधान निर्माण प्रक्रियाले गति लिन सकिरहेको छैन ।
बाह्य शक्तिको सक्रियता ः संविधान निर्माणको वर्तमान परिवेशलाई यसका लक्षणबाट परिलक्षित भएर परिभाषित गर्नुपर्ने हुन्छ । नेपालको संविधान निर्माण गर्ने सवालमा होस् वा नेपालको राजनीतिक परिवर्तनका सवालमा होस् । यस ममिलामा बाह्य शक्ति नेपालमा अति नै सक्रिय रहेको अवस्था छ । बाहिर सदैव शान्त, स्थिर, समृद्ध, प्रजातान्त्रिक नेपालको चाहना भएको बताउँदै जहिले पनि नेपालमा राजनीतिक अस्थिरता रहिरहोस् भन्ने चाहिरहेको हुन्छ । खासगरी सन् १९५० यता नेपालमा एउटा अन्तर्राष्ट्रिय शक्ति सदैव नेपालमा अस्थिरताको लागि राजनीति गरिरहेको छ । सतहमा जे देखिए पनि बाह्य शक्तिका कारणले गर्दा नेपालको संविधान निर्माण कार्यमा प्रगति हुन सकिरहेको छैन । यदि भोलि नेपालले समयमै संविधान निर्माण गर्न सफल भयो भने नेपाल एउटा नयाँ राजनीतिक प्रक्रियाबाट अगाडि बढ्छ । यससँगै नेपाल र नेपाली आत्मनिर्भरताको मार्गमा जान सक्छन्, जसले गर्दा भोलि त्यो अन्तर्राष्ट्रिय शक्तिले आफ्नो चलखेलबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ । त्यसैले उनीहरू वक्तव्यबाजी गरेर स्थिर र समृद्ध नेपालको चाहना गरेजस्तै नेपालमा राजनीतिक स्थिरता देख्न चाहँदैनन् । जहिले पनि राजनीतिरूपी पानीलाई सधैँ धमिलो पारिराखेर राजनीति र चलखेल गरिरहन चाहन्छन् । उनीहरूले बाहिर मुखले जे भनुन्, वक्तव्यबाजी जे गरुन्, जस्तोसुकै अन्तर्वार्ता दिउन्, तर उनीहरूको भित्री चाहना भने नेपालमा चाँडो संविधान नआओस् र राजनीतिक अस्थिरता रहिरहोस् भन्ने पक्षमा रहेको देखिन्छ ।
वास्तवमा संविधान बनाउने भनेका नेपालका राजनीतिक दलहरू नै हुन् । संविधानसभाले नै हो । हुनत संविधानसभा संविधान निर्माण गर्ने औपचारिक संस्था मात्रै हो । संविधानसभाबाहेक पनि बाहिरबाट वास्तविक रूपमा संविधान निर्माणका लागि काम गर्नुपर्ने भनेको राजनीतिक दलहरूले नै हो । तर, राजनीतिक दलहरूले समयमा संविधान निर्माणका लागि जे–जसरी काम गर्नुपर्ने हो, त्यसरी उनीहरूले पनि गर्न नसकिरहेको अवस्था छ । यस मामिलामा जसरी राजनीतिक सहमति जुटाएर काम गर्नुपर्ने थियो, राजनीतिक दलहरू असाध्यै कमजोर र निरीह देखिएका छन् । एक त उनीहरू आफैँ आन्तरिक द्वन्द्वमा छन् । अर्को उनीहरूमा राष्ट्र बनाउनुपर्छ, संविधान बनाउनुपर्छ भन्ने भावना नै छैन । संविधानको महत्व नै राजनीतिक दलका नेताले बुझ्न नसकिरहेको जस्तो देखिन्छ । संविधानको भावना, आवश्यकता र महत्व बुझ्न नसक्नु पनि राजनीतिक दलहरू र तिनका नेतृत्वकर्ताको असफलता हो ।
एकातिर अन्तर्राष्ट्रिय समुदाय पनि नेपालमा लामो समयसम्म राजनीतिक अस्थिरता र द्वन्द्व चलिरहोस्, जसले गर्दा यहाँ हामी चलखेल गर्न पाइरहौँ भन्ने चाहना राख्छन् । अर्कातिर नेपाललाई वास्तवमै माया गर्ने अन्तर्राष्ट्रिय शक्ति पनि त्यत्तिकै छन् । तर, त्यो अन्तर्राष्ट्रिय शक्तिको स्रोत र सहयोगलाई हामीले राम्रोसँग उपयोग र परिचालन नै गर्न सकेका छैनौँ । त्यो स्रोतलाई सही ठाउँमा उपयोग गर्नुभन्दा पनि दुरुपयोग भइरहेको अवस्था छ । यससँगै नेपालमा राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था चाहिरहने अन्तर्राष्ट्रिय शक्तिहरू र तिनका कारिन्दाहरूलाई सघाउ पुगिरहेको छ । उनीहरूले दिएको स्रोत, साधन र सहयोगलाई हामीले संविधान निर्माणको काममा भन्दा पनि नेपाललाई अस्थिरतातिर लैजाने काममा बढी प्रयोग गरिरहेको जस्तो लाग्छ ।
बौद्धिक वर्गको भूमिका ः यस्तो विषम परिस्थितिमा देशका बुद्धिजीवीको पनि ठूलो भूमिका हुन्छ । हाम्रा देशका हरेक बुद्धिजीवीले प्रजातन्त्र, संविधान निर्माण प्रक्रियाजस्ता राजनीतिक महत्वको विषयलाई परियोजनाको रूपमा परिभाषित गरिरहेका छौँ । संविधान, संविधानसभामार्फत् प्रजातन्त्रको नाममा यसलाई कसरी व्यावसायिक रूपमा कमाइ खाने भाँडो बनाउने भन्नेतर्फ मात्रै हामी बुद्धिजीवीको ध्याउन्न रहेको पाइन्छ । संविधान निर्माणका नाममा कसैले ५० ६० लाख रूपैयाँ आर्जन गरे होलान्, त्यो आफ्नो ठाउँमा छ, तर हामी भोलि आफ्ना सन्ततिका लागि कस्तो संविधान निर्माण गरिरहेका छौँ, कस्तो राजनीतिक संस्कार सिकाइराखेका छौँ भन्ने कुरा हामी कसैले विचार गर्न सकिरहेका छैनौँ । यही नै हामी नेपाली र सिङ्गो राष्ट्रकै लागि विडम्बना बन्न पुगेको छ । हाम्रो यस्तो प्रवृत्तिले संविधान निर्माणका लागि राजनीतिक दल र संविधानसभालाई जुन किसिमको दबाब पर्नुपर्ने हो बाहिरबाट त्यो पर्न सकेन । यो नेपालका ‘इन्टेलिजेन्सिया’को ठूलो असफलता हो ।

प्रतिक्रिया