शिक्षक र प्रहरीबीच झडप

नेपालगन्ज, १६ फागुन । जिल्ला शिक्षा कार्यालय बाँकेमा घेराउ सहित धर्नामा बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । झडपका क्रममा प्रहरीले केही शिक्षकलाई नियन्त्रणमा लिएको छ ।
अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने र शिक्षक आन्दोलनमा प्रहरी दमन भएको बिरोधमा शिक्षकहरुले शिक्षा कार्यालय बाँकेमा धर्ना दिन पुगेका थिए । मुल गेटमा धर्ना बसेका ४७ शिक्षकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विद्यालय बन्द गराएर धर्ना बसेका शिक्षकलाई शिक्षा कार्यालयबाट हटाउन खोज्दा नमाने पछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शिक्षकलाई पक्राउ गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । मुल ढोकामा धर्नामा बसेका शिक्षकलाई हटाएर कामकाज सुचारु गराउने क्रममा शिक्षकले नमाने पछि प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रयोग गरेको छ । शिक्षकहरुले ईटा, ढुङगा हानेपछि जवाफमा आफूहरुले बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया