क्यासिनो प्रवेश निषेध गर

नेपालका क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध लगाइएको छ । यसले व्यक्ति वा समूहको श्रीसम्पत्ति समाप्त पार्ने र इज्जतसमेत लुट्ने हुँदा प्रतिबन्ध लगाएको सजिलै बुझ्न सकिन्छ । तर, अहिले नेपालमा रहेका क्यासिनोका अधिकांश ग्राहक नेपालीहरू नै हुने गरेका छन् भन्ने स्पष्ट भइसकेको छ । जुवाप्रेमीले क्यासिनोलाई आफ्नो मनोरञ्जनको स्थल बनाएका छन् । र, प्रहरीले कहिलेकाहीँ छापा मार्नुलाई जुवाडेले रकम असुली नपुगेको ठान्छन् । वास्तवमा सुरक्षानिकायले चाहे पनि क्यासिनोमा नेपालीको प्रवेश रोक्न सक्ने अवस्था छैन । साथै, प्रहरीले नेपाली प्रवेशमा पूर्णरूपले प्रतिबन्ध लगाउनसक्ने धारणा बनाएको पनि पाइँदैन । एक त जुवाडे माथि कारबाही गर्ने उपयुक्त कानुन छैन भने अर्कातिर प्रहरीले क्यासिनोलाई कमाइखाने थलोका रूपमा प्रयोग गर्छ भन्ने आमधारणा विस्थापित गर्ने ठोस् आधार भेटिँदैन । यो निकै दु:ख लाग्दो र टिठ लाग्दो विषय हो । यो तीतो सत्यसँग मुकाबिला गर्न प्रहरी प्रशासनले आफूलाई चुस्त, दुरुस्त र लोभरहित बनाउन जरुरी छ । २/४ जना प्रहरी अधिकृत सरुवा अथवा बढुवा हँुदा क्यासिनोमा नेपाली जुवाडे बढ्ने वा घट्ने अवस्था रहनु भनेको प्रहरीमा ‘एकातिर टाल्यो, अर्कातिर भ्वाङ’ भने जस्तै हुनु हो । फेरि पनि भन्नै पर्छ– क्यासिनोमा नेपाली प्रवेश रोक्ने दायित्व प्रहरीको मात्र होइन । यसका लागि नियम, कानुन र सम्बन्धित सबैको सहयोग आवश्यक हुन्छ ।
नेपालीलाई क्यासिनो प्रवेशमा निषेध गरिएका बारेमा क्यासिनो सञ्चालकहरू अनभिज्ञ छैनन् । जुवाडे र जुवा खेलाउने पनि त्यसबारे जानकार छन् । ती जुवाघरहरू चौबीसै घन्टा प्रहरीको निगरानीमा छन् । नेपालीलाई प्रवेश गराएर जुवा खेलाइन्छ भने क्यासिनो बन्द गर्न सकिन्छ । अथवा सञ्चालकलाई नै कारबाही गर्न सकिन्छ । यी कुनै पनि काम नगर्ने तर जुवाडेलाई मात्र पक्राउ गरेर छाड्ने कार्य आफैँमा गलत छ । को हो क्यासिनोको ठेकेदार ? किन नेपालीलाई निषेध गरेको ठाउँमा प्रवेश गराएर जुवा खेलाउँछ ? उनीहरूमाथि कारबाही किन हुँदैन ? अहिलेसम्म यस्ता प्रश्नहरू अनुत्तरित छन् । यदि त्यो खालको कानुनी प्रावधान छैन भने कानुन निर्माण गरिनुपर्छ । अन्यथा औँशी र पूर्णिमामा छापा मार्दैमा जुवाघर नेपालीरहित बन्ने अवस्था देखिँदैन । काठमाडौंका पाँच प्रहरी प्रभागमा प्रमुख फेरिएसँगै क्यासिनो, मसाज सेन्टर र डान्स रेस्टुरेन्ट पहिलो निसाना बनेका छन् भन्ने समाचार प्रहरीका लागि दु:खको समाचार हो । किनभने त्यो समाचारको निहित अर्थ यीभन्दा अगाडिका प्रहरी अधिकृत कि त भ्रष्ट थिए कि त नालायक थिए भन्ने अर्थ लाग्छ । तसर्थ, यस्ता समाचार बनाउनुभन्दा पनि जहाँ अपराध हुन्छ त्यहाँ प्रहरीले जहिले पनि छापा मार्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।
माओवादी विद्रोह सुरु भएपछि गाउँघरका झिनामसिना जुवाडे वा तासेको छाला काड्ने काम गरे । तास चपाउन लगाएर भाटे कारबाही गरे । पछि माओवादी सत्तामा पुग्यो र अत्यधिक खन्चुवा बानीको विकास गर्‍यो । यससँगै उसले क्यासिनो कब्जामा लियो र नेपालीले पनि जुवा खेल्न पाउने आफ्नै नीति बनायो । माओवादीमा क्यासिनोकै कारणले ठूलठूला विवाद भए । आपसमा काटाकाट गरे । यसले क्यासिनोलाई माओवादीको पैसा कमाउने थलोका रूपमा परिणत गर्न मद्दत गर्‍यो । तारागाउँ, एभरेस्ट, सेराटन लगायतमा भएको झगडा पैसाकै कारण भएको थियो । अहिले पनि भनिन्छ– क्यासिनोहरू एमाओवादी निकट मजदुरहरूको कब्जामा छ । जसले गर्दा नेपालीलाई प्रवेशको कुनै रोकटोक छैन । यी सबै विषयको विश्लेषण गरेर नेपालीलाई प्रवेश निषेध गर्नैपर्छ ।

प्रतिक्रिया