नवलपुरमा सवारी दुर्घटनाको दर बढ्दै, चालकको लापरबाही र जीर्ण सडक मुख्य कारण

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा गत शनिबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकै घरका सहोदर दाजुभाइको मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल गुडाएका कारण कावासोती–११ का २ दाजुभाइ २४ वर्षीय ईश्वर दर्लामी र २२ वर्षीय सागर दर्लामीले अल्पायुमै ज्यान गुमाए ।

पछिल्लो समय पूर्वी नवलपरासीमा चालकको लापरबाहीका कारण अधिकांश दुर्घटनाहरू हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को ९ महिनामा जिल्लाभित्र २७ जनाको ज्यान जानेगरी ८४ वटा सवारी दुर्घटना भएका छन् । त्यसमध्ये चालकको लापरबाहीको कारणले ३२ दशमलव १४ प्रतिशत र सडकको अवस्थाको कारणले ३४ दशमलव ५२ प्रतिशत सवारी दुर्घटना भएका छन् । यो तथ्यांक बर्सेनि बढ्दो क्रममा रहेको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार सवारी चालकले सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तीव्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान सवारी साधनमा नभई अन्यत्र हुने हुँदा दुर्घटना बढ्ने गरेको हो ।


चालकको लापरबाहीको कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ९ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २५ हजार सवारी साधनलाई कारबाही गरेको जनाएको छ । जसमध्ये १ हजार ७१७ जना सवारी चालक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कारबाहीमा परेका थिए । यो अवधिमा ट्राफिक कारबाहीबाट २ करोड १ लाख ८४ हजार ५०० राजस्व संकलन गरेको प्रहरीको भनाइ छ । यद्यपि कारबाही र जरिमानाले पनि सवारी चालकको लापरबाहीको कारण हुने दुर्घटनामा भने कमि आउन सकेको छैन ।

जिल्लामा हुने गरेका सवारी दुर्घटनाको अर्को कारण भनेको सडकको अवस्था पनि हो । जिल्लाको मुख्य सडक अर्थात पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत गैँडाकोट–दाउन्ने खण्डको ६४ किलोमिटर सडक विगत ५ वर्षदेखि विस्तारको क्रममा रहेको छ । यही कारणले गर्दा पनि जिल्लामा अधिकांश सवारी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकाल बताउँछन् ।

विस्तारको क्रममा रहेको सडकको अवस्था, सडकमै निर्माण सामग्री छरपस्ट हुनुजस्ता कारणले समेत दुर्घटना बढिरहेको उनले बताए । उनका अनुसार सडक बिस्तारकै क्रममा रहेकाले राजमार्गको बीच तथा छेउमा भएका धर्काहरू मेटिएको र पुनः कालोपत्रे गरिसकेपछि धर्का बनाउन बाँकी रहेकाले चालकलाई लेनको स्थान अन्दाज गर्न गाह्रो हुँदा पनि दुर्घटना जोखिम बढेको हो ।

त्यसै गरी जिल्लाका प्रायः सडकहरू साँघुरा छन् । २ वटा सवारी साधन एकैपटक छिर्न धौधौ पर्दछ, ग्रेडिङ मिलेको छैन । सडकहरू कच्ची छन्, घुम्तीहरू नजिक नजिकबाट काटिएका छन्, प्रायः घुम्तीहरूमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन । पुराना सडकहरू जुन सदरमुकामसँग जोडिएका छन्, ती प्रायः मान्छेले खनेर बनाएका सडकहरू हुन् जतिबेला दैनिक १–२ वटा मात्र गाडी गुड्ने गर्दथे । पछि तिनै सडकहरू ठेकेदारको जिम्मा लगाइयो र कालोपत्रे गरियो । तिनै सडकहरू अहिले दुर्घटनाको मुख्य कारण बनेका छन् ।

त्यसैगरी सवारी दुर्घटनाको अर्को कारण प्रायः पुराना र थोत्रा सवारी साधनहरू हुन् । आवश्यक मात्रामा सवारी साधनको सर्भिसिङ नगर्ने, यात्रुको सुरक्षा भन्दा पैसा कमाउनमा बढी ध्यान दिने गर्दा सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ । सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कनेजस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

सरकारी तथ्यांकले नै सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था र चालकको लापरबाही र सवारी साधनको अवस्था भएको भए पनि यसको न्यूनीकरणमा सम्बन्धित निकायको ध्यान भने गएको देखिँदैन । दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु, सवारी चाप बढनु लगायतका कारण देखाउने गरिए पनि जिल्लामा सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था र चालकको लापरबाही रहेको सरकारी तथ्यांकले देखाएको छ । सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्ने हो भने पनि सडक दुर्घटनामा कमी ल्याउन सकिने देखिन्छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया