नेपाल र भारतबीच जनस्तरमा जुन संबन्ध छ, त्यसलाई कायम राख्न सकिएन भने पछिका दिनमा अप्ठेरो पर्न सक्छ । सरकार–सरकारबीचको सम्बन्ध स्वार्थमा आधारित हुन्छ । जनता–जनताबीचको सम्बन्ध भावनामा आधारित हुन्छ । सौभाग्यबस नेपालको दक्षिणी क्षेत्रमा र भारतको उत्तरी क्षेत्रमा जनघनत्व निकै ठुलो छ । यो ठुलो जनसंख्याले दुवै देशलाई एकआपसमा चिनेको छ । यो चिनारीलाई कायमै राख्न सकियो भने २ देशबीच सरकारी स्तरमा सम्बन्ध बिग्रने संभावना कम हुन्छ ।
प्रसिद्ध लेखक श्रीमन्नारायण मिश्र खासगरी समसामयिक राजनीतिका विषयमा कलम चलाउनुहुन्छ । त्यसमाथि पनि अन्तर्राष्ट्रिय राजनीति उहाँको रुचीको विषय हो । अन्तर्राष्ट्रिय राजनीतिमध्ये पनि नेपाल र भारत सम्बन्धका विषयमा उहाँको अध्ययन निकै गहिरो छ । खासगरी नेपाल–भारत सम्बन्धका अध्येता तथा विद्यार्थीहरूले मिश्रका लेखहरू खोजी खोजी पढ्ने गर्छन् । विगत केही वर्षदेखि सौर्य राष्ट्रिय दैनिकको साप्ताहिक स्तम्भकारसमेत रहनुभएका मिश्रले हालै एक पुस्तक प्रकाशन गर्नुभएको छ । वीरगन्जबाट प्रकाशित हुने प्रतिक दैनिकमा छापिएका लेखहरूको संगालोको रूपमा ‘बहुआयमिक महत्वका द्विपक्षीय सम्बन्ध’ नामक पुस्तक प्रकाशित भएको हो ।
पुस्तक मूलतः प्रकाशित भइसकेका लेखहरूको संग्रह हो । तर माथि नै उल्लेख गरिएको छ कि, यी लेखहरू राजधानी काठमाडौँबाट होइन कि, आर्थिक राजधानी मानिने वीरगन्जबाट प्रकासित प्रतिक दैनिकमा छापिएका हुन् । वीरगन्ज आसपासबाहेक अन्य क्षेत्रका पाठकका लागि यो पुस्तकमा छापिएका सामग्रीहरू नयाँ हुन् । किनकी मोफसलबाट प्रकासित हुने अखबारहरू देशका सबै ठाउँमा पु¥याउन संभव छैन । राजधानी काठमाडौँबाटबाहेक अन्य क्षेत्रबाट देशव्यापी पुग्ने हवाई सन्जाल छैन, न त सडक सन्जाल नै छ । देशभरका पाठकका लागि न्याय होस् भन्ने हेतुले नै लेखक मिश्रले पुस्तकका रूपमा बजारमा ल्याउने प्रयास गर्नुभएको हो ।
राजधानीबाट प्रकाशित हुने मिडियामा उहाँका अहिलेसम्म हजारौँ कालजयी लेखहरू प्रकाशित भइसकेका छन् । तर पुस्तकमा भने उहाँले वीरगन्जबाट प्रकाशित हुने अखबारमा छापिएका लेखहरू मात्रै समेट्नुभएको छ । आफ्नो यो प्रयासबाट देशको सीमा क्षेत्रमा क्रियाशील अन्य लेखक तथा पत्रकारहरूले पनि प्रेरणा पाउन भन्ने उहाँको उद्देश्य हुनुपर्छ । नेपालको सीमा क्षेत्रमध्ये पनि पश्चिम, पूर्व तथा उत्तरका लेखक तथा पत्रकारहरू मस्त निदाएको अवस्था छ । सीमा क्षेत्रका लेखक तथा पत्रकारहरू मस्त निदाउँदा अथवा बेखबर हुँदा के कति समस्या आइपर्छ ? अथवा सीमा क्षेत्रका लेखक तथा पत्रकार संक्रीय हुँदा देशलाई के कति लाभ पुग्छ भन्ने कुरा विगतका कैयौँ अनुभव र घटनाले पुष्टि भइसकेको छ ।
साँची भन्ने हो भने नेपालको दक्षिणी क्षेत्रको पत्रकारिता नेपालको मूलधारको पत्रकारिताभन्दा पनि जेठो छ । अर्थात काठमाडौँको पत्रकारिताभन्दा वीरगन्जको पत्रकारिता जेठो छ । मिश्रजीको पुस्तकमा शुभकामना प्रकट गर्नेहरू मध्ये कसैकसैले अभूतपूर्व काम भनेर टिप्पणी पनि गरेका छन् । यो टीप्पणी लेखकलाई खुसी पार्न गरिएको अतिशयोक्ति हो भन्न मिल्छ । किनकी वीरगन्ज क्षेत्रमा उहाँका बाजे पुस्ताले पनि पत्रकारितामार्फत पुर्याएको योगदान अविष्मरणीय छ । त्यति मात्रै होइन, जुन बेला नेपाल राणा शासनको मध्ययुगिन चपेटामा थियो, त्यो बेला पनि भारतको बनारसबाट नेपाली पत्रकारिता आरम्भ भएको इतिहास छ ।
फरक यत्ति हो कि, अग्रजहरूले सीमा वारी र सीमा पारीका स्थानीय जनतालाई जोड्ने जमर्कोमा कलम चलाउन भ्याएनन् । किनकी राष्ट्रिय मुद्दामा कलम चलाउँदैमा उनीहरूलाई फुर्सद भएन । स्थानीय समस्या प्राथमिकतामा परेन । तर, मिश्रले सक्रीय पत्रकारिताको आरम्भ गर्दाको बेलासम्म देशको राष्ट्रिय समस्या, खासगरी निरंकुश शासन व्यवस्थाको समस्या समाधान भएर प्रजातन्त्र आइसकेको थियो । २०४६ सालको परिवर्तन याताको सीमावर्ती पत्रकारितालाई विश्लेषण गर्ने हो भने मिश्रजीको योगदान सर्वोपरी रहेको विश्लेषणमा मत भिन्नता दर्शाउनु जरुरी देखिँदैन ।
स्पष्ट उद्देश्य
अक्सर गरेर कुनै पनि देशको सीमा क्षेत्रमा जाति, भाषा, धर्म तथा संस्कृति एउटै हुन्छ । देशको राजनीतिक सिमाना तथा प्रशासनिक ढाँचाका कारण कालान्तरमा फरक पर्दै जान्छ । तर, नेपाल र भारतबीच राजनीतिक सिमाना नाम मात्रैको छ । प्रशासनिक ढाँचा पनि दुवै देशको उस्तै उस्तै छ । त्यसैले सीमा वारी र सीमा पारी बस्ने जनताको देश मात्रै फरक छ, अरू सबै एउटै छ । यो सामिप्यलाई विश्वकै अनुपम उदाहरणका रूपमा लिने गरिएको छ ।
नेपाल–भारतबीचको खुला सिमानाका लाभहरू निकै धेरै छन्, हानिहरू निकै थोरै छन् । दुवै देशका जनताले अधिकतम लाभ लिइरहेका छन् । एउटा देशको पूर्वाधारको लाभ अर्को देशका जनताले समेत लिनसक्ने वातावरण बनिरहेको छ । जनस्तरमा अत्यन्तै घनिष्ट सम्बन्ध छ । जनस्तरको यो घनिष्ट सम्बन्धको लाभ दुवै देशका सरकारहरूले लिइरहेका छन् । तर जति लिनुपर्ने हो त्यति लिन सकिरहेका छैनन् । त्यसैका लागि लेखक मिश्रजीले आफ्नो कलम निरन्तर चलाइरहनुभएको छ ।
सार्वभौमिकताको हिसाबले जुनसुकै देशको पनि हैसियत बराबर हुन्छ । तर, नेपाल क्षेत्रफल र जनसंख्याको हिसाबले भारतको तुलनामा धेरै सानो छ । अहिलेसम्म त खासै समस्या छैन । किनकी ठूलो देश भइकन पनि भारतको नीति निर्माण तहमा नेपाल चिन्नेहरू पुगेका छन् । भारतीय स्वतन्त्रता संग्राममा कन्याकुमारीदेखि कस्मिरसम्म र आसामदेखि पन्जाबसम्मका अगुवाहरू एउटै मोर्चामा बसेर संघर्ष गरेका थिए । थुप्रै नेपालीहरूले भारतीय स्वतन्त्रता संग्राममा भाग लिएका थिए । त्यसैगरी अहिले भारत भनिने भुखण्डलाई एउटै छातामुनि ल्याउन अंग्रेजहरूले गोर्खा सेनाका नाममा नेपालीहरू प्रयोग गरेका थिए । त्यसैले भारतको वर्तमान भूगोल निर्माण गर्न गोर्खा सेनाको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैगरी भारतीय स्वतन्त्रता संग्राममा नेपाली नेताहरूले पु¥याएको योगदानलाई पनि नजरअन्दाज गर्न मिल्दैन । त्यसको कदर अहिलेसम्म भारत र भारतीय जनताले गरेकै छन् ।
तर, इतिहासको अत्यन्त कठीनकालखण्डमा नेपालीहरूसँग सहकार्य गर्ने पुरानो पुस्ता भारतीय राजनीतिमा अब छैन । कर्मचारी तन्त्रमा पनि छैन । नेपाललाई भूगोलका रूपमा चिन्नेहरू त होलान् तर नेपाल र नेपालीको भावना चिन्नेहरू भारतको नीति निर्माण तहमा क्रमशः कम हुँदै गएका छन् । भारतमा मात्रै होइन नेपालको अवस्था पनि यही हो । अहिलेसम्म त नेपालको नीति निर्माण तहमा भारतबाट उच्च शिक्षा लिएर आएकाहरूकै वर्चश्व छ । तर यो वर्चश्व पनि क्रमशः सकिँदै छ । पहिलो कुरा त सबै उच्चतहको पढाइ नेपालमै हुन्छ, भारत जानु पर्दैन, दोस्रो कुरा चीन, अमेरिका, जापान, युरोपलगायत विश्वका विख्यात युनिभर्सिटीमा अध्ययन गरेकाहरू नेपालको नीति निर्माण तहमा आइरहेका छन् ।
यसरी हेर्दा नेपाल र भारतबीचको सम्बन्ध अब हिजोको जसरी नै अघि बढ्न सहज छैन । त्यसैले नेपाल र भारतको परम्परागत सम्बन्धलाई बलियो बनाउन क्रियाशील लेखक तथा पत्रकारहरू खाँचो छ । यो खाँचो दूरदर्शी व्यक्तिहरूले मात्रै थाह पाउन सक्छन् । त्यो दूरदर्शिता लेखक मिश्रले प्रस्तुत गर्नुभएको छ ।
जनस्तरको सम्बन्ध कायमै राख्ने चुनौती
नेपाल र भारतबीच जनस्तरमा जुन सम्बन्ध छ, त्यसलाई कायाम राख्न सकिएन भने पछिका दिनमा अप्ठेरो पर्न सक्छ । सरकार–सरकारबीचको सम्बन्ध स्वार्थमा आधारित हुन्छ । जनता–जनताबीचको सम्बन्ध भावनामा आधारित हुन्छ । सौभाग्यबस नेपालको दक्षिणी क्षेत्रमा र भारतको उत्तरी क्षेत्रमा जनघनत्व निकै ठूलो छ । यो ठूलो जनसंख्याले दुवै देशलाई एकआपसमा चिनेको छ । यो चिनारीलाई कायमै राख्न सकियो भने २ देशबीच सरकारी स्तरमा सम्बन्ध बिग्रने संभावना कम हुन्छ । जुन कुरामा लेखक मिश्र स्पष्ट हुनुहुन्छ ।
यसै गरी कुनै पनि २ देशको सरकारी स्तरको सम्बन्ध बिग्रँदा सबैभन्दा दुःख झेल्नुपर्ने भनेको सीमा क्षेत्रका बासिन्दाले हो । यो मामिला नेपाल–भारतबीच अझै पेचिलो छ । सरकारी स्तरको सम्बन्ध बिग्रेका बेला कहिलेकाहीँ नेपाल–भारतका व्यापारिक नाकामा असहज स्थिति उत्पन्न हुने गरेको छ । भारतले कहिले घोषित र कहिले अघोषित नाकाबन्दी लगाउँदै आएका उदाहरणहरू पनि छन् । यस्तो बेलामा सीमा क्षेत्रका जनताको आपसी सम्बन्धका कारण नेपाली जनताले सोचेजस्तो अप्ठोरो बेहोर्नुपरेको छैन । ग्यालिनमा डिजेल भरेर पनि सीमा क्षेत्रका जनताले नेपाल पठाएका थुप्रै उदाहरणहरू छन् ।
खुला सिमाना भएकोले एक किलो चिनी किन्नसमेत भारतीय बजार पुग्ने चलन छ । जसका कारण सरकारले पाउने राजस्वमा नेपालले ठूलो घाटा बेहोर्नुपरेको छ । तर यसले नेपाली जनता र भारतीय जनताबीच आपसको सम्बन्धलाई थप बलियो बनाएको छ । त्यसो त छिमेकी भारत सत्रु देशहरूद्वारा घेरिएको छ । भुटानको केस बेग्लै हो, नेपालबाहेक भारतको अन्य छिमेकीसँग राम्रो सम्बन्ध छैन । पाकिस्तानसँग त शत्रुतापूर्ण अवस्था छ । चीनसँग पनि पटकपटक युद्ध भएको छ । चीन र भारत एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धामा छन् भन्ने कुरा छिपेको छैन । त्यसैले नेपालसँगको खुला बोर्डरमार्फत आफ्नो देशमा अवाञ्छित व्यक्तिहरू छिर्ने त होइनन् ? भन्ने चिन्ता भारतलाई छ । जसका कारण नेपाल– भारतबीचको खुला सिमानाले भविष्यका दिनमा निरन्तरता नपाउन पनि सक्छ । यस्तो अवस्थामा जनस्तरको सम्बन्धलाई कसरी निरन्तरता दिने ? भन्ने चासो उत्पन्न हुनु स्वभाविकै हो । यो चासोका विषयमा अहिलेदेखि नै कलम चलाएर मिश्रजीले नेपालका लागि ठूलो योगदान पुर्याउनुभएको छ ।
जिम्मेवार पत्रकारिता
नजिकको छिमेकीसँग जति धेरै व्यवहार हुन्छ, त्यति नै धेरै विवाद पनि हुन्छ । मन माझामाझ पनि हुन्छ । सन्धीसर्पन एउटै भएपछि विवाद हुनु स्वभाविकै हो । नेपाल र भारतबीच करिब १ हजार ७०० किलोमिटर लामो सीमा छ । त्यसमध्ये करिब आधा दर्जन ठाउँमा सीमा विवाद छ । नेपाल–भारतबीचको सीमा विवादबारे सुक्ष्म विश्लेषण गर्ने हो भने जहाँ सक्रिय लेखक तथा पत्रकारहरू धेरै छन्, त्यहाँ सीमा विवाद खासै छैन । उदाहरणका लागि पर्सादेखि झापासम्म खासै सीमा विवाद छैन । थोरै विवाद हुनासाथ मिडियामा समाचार तथा लेखहरू आइहाल्छन् । तत्काल विवाद समाप्त गर्न दुवै देशका सरकारमाथि दबाब पर्छ । यस्तो दबाब दिने मामिलामा मिश्र र उहाँजस्ता लेखक पत्रकारको योगदान ठूलो छ ।
नेपाली पत्रकारिता वीरगन्ज क्षेत्रमा जसरी फस्टाएको छ, अरू सीमा क्षेत्रमा त्यसरी फस्टाएको छैन । जसका कारण नेपाल–भारत दुवै देशले क्षति बेहोर्नुपरेको छ । त्यसो त नेपालको सीमा क्षेत्रका बासिन्दाका सन्दर्भमा राजधानी काठमाडौँको आम बुझाई पनि त्यति फराकिलो भएको देखिँदैन । खासगरी मधेसी जनतालाई मात्रै सीमा क्षेत्रका जनताका रूपमा देख्ने गरेको छ काडमाडौँले । दक्षिणी क्षेत्रमा मात्रै दुवै देशबीच एउटै जाती तथा भाषीका जनता बस्छन् । यही क्षेत्रमा मात्रै अन्तर्राष्ट्रिय रूपमा रोटी बेटीको सम्बन्ध छ भन्ने झुठो भाष्य निर्माण भएको छ । यो भाष्यका कारण नेपालको सिमान्चल पत्रकारिता सबै क्षेत्रमा फष्टाउन सकेको छैन ।
उदाहरणका लागि दार्चुला जिल्लाको कुटी, नाभी लगायतका गाउँका जनताले २०१५ सालको आमनिर्वाचनमा भाग लिए । २०१८ सालको राष्ट्रिय जनगणनामा सुपरभाइजर भएर लिपुलेक पुगेका भैरव रिसाल अहिले पनि ज्युँदै छन् । तर, उक्त क्षेत्र २०१९ सालदेखि नै भारतले उपभोग गर्न थालिसकेको रहेछ । जुन कुरा २०५४ सालमा कान्तिपुर दैनिकका रिपोर्टर नारायण वाग्लेले स्थलगत अध्ययन गरेर समाचार लेखेपछि मात्रै काठमाडौँले थाहा पायो । नेपालका नीतिनिर्माताहरूले थाहा पाए । मधेसी बाहुल्य नेपालको दक्षिणी क्षेत्रमा एक इन्च सीमा विवाद हुनासाथ स्थानीय लेखक तथा पत्रकारहरूले तत्काल खबरदारी गर्ने अवस्था छ ।
सीमा क्षेत्रमा थोरै गडबढ हुनासाथ खबरदारी गरिहाल्ने अवस्था छ । तर पूर्व र पश्चिमको सीमा क्षेत्रमा यस्तो अवस्था छैन । जबकी नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध दक्षिणमा जति छ त्योभन्दा बढी पूर्व तथा पश्चिममा छ । त्यसैले श्रीमन्नारायण मिश्रको यो पुस्तक पूर्वी तथा पश्चिमी सीमा क्षेत्रका लेखक तथा पत्रकारका लागि प्रेरणाको स्रोत हो ।
मिश्र र उहाँजस्ता दक्षिणी सीमा क्षेत्रमा बस्ने लेखक तथा पत्रकारहरूको योगदान कति अतुलनीय छ भनेर बुझ्नका लागि एक साता जति विहारको दरभंगा र एक साता जति उत्तराखण्डको पिथौरागढमा गएर बस्ने हो भने छर्लंग हुन्छ । दरभंगा क्षेत्रमा नेपालीप्रति जति न्यानो व्यवहार हुन्छ, पिथौरागढमा नेपालीप्रति त्यति नै छुद्र व्यवहार हुने गरेको अनुभव यस पंक्तिकारको पनि छ । जबकी नेपालका खससमुदाय र उत्तराखण्डका खससमुदाय एउटै खलकका हुन् ।
कुल देवता एउटै हुन् । थर गोत्र एउटै हो । उत्तराखण्डका तीर्थस्थलको दर्शन नगर्दासम्म आफ्ना पितृ तर्दैनन् भन्ने नेपालका खस समुदायको मान्यता छ । तर त्यस क्षेत्रमा नेपालीहरूलाई ‘गोर्खे वा गोर्खाणी’ भन्दै हेलाँ गर्ने गरिएको देखिन्छ । यता वीरगन्जबाट दक्षिणतर्फ सयौँ किलोमिटर परसमेत नेपालीलाई सम्मान गरिन्छ, चाहे मधेसी होस् वा खस अथवा जनजाति । दक्षिणको सीमा क्षेत्रका पत्रकार तथा लेखकहरू ले के कति योगदान पु¥याएका रहेछन् ? पश्चिमी सीमा क्षेत्रका पत्रकार तथा लेखकहरू के कसरी चुकेका रहेछन् ? भन्ने प्रतिनिधि उदाहरण मात्रै हो यो ।
यति मात्रै होइन भारतको नीति निर्माण तहमा विहारका नेताहरू हावी हुँदा नेपालमा प्रजातन्त्रवादीहरूले साथ सहयोग पाएको देखिन्छ भने उत्तराखण्डका नेताहरू नीति निर्माणतहमा हावी हुँदा निरंकुश शासकहरूले साथ सहयोग पाएको देखिन्छ । यो अवस्था किन सिर्जना भयो ? किनकी नेपालको दक्षिणी सीमा क्षेत्रमा जिम्मेवार लेखक तथा पत्रकारहरूको खडेरी परेन । तर, पश्चिमको सीमा क्षेत्रमा सर्वथा जिम्मेवार लेखक र पत्रकारहरूको अभाव देखियो ।
प्रतिक्रिया