पाठकपत्र : नक्कली डकुमेन्ट र झुट्टो बैंक ब्यालेन्सको आड

रुषा थापा, भक्तपुर

वैदेशिक अध्ययनका निम्ति देश छोड्ने युवाहरूको संख्या बर्सेनि बढ्दो क्रममा छ । नेपालीहरू पढ्नका लागि विकसित मुलुक पलायन भएका छन् । अमेरिका, अस्टे«लिया, क्यानडा, जापान, फ्रान्सलगायत विभिन्न विकसित देशमा लाखौँ रकम खर्चिएर गइरहेका छन् । पढ्न जाँदा आम्दानीको स्रोत र बैंक ब्यालेन्स देखाउनुपर्छ ।

तर, नक्कली डकुमेन्ट तयार पारेर विदेशी क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । जग्गा जमिन र आम्दानी केही नभए पनि पैसाको आडमा नक्कली डकुमेन्ट तयार पारिन्छ । बैंकका कर्मचारीलाई घुस खुवाइन्छ । झुट्टा बैंक ब्यालेन्स देखाउन लगाइन्छ । बचतकर्ताको रकम उसको खातामा देखाइन्छ । यसबापत बैंकका कर्मचारीले २ लाख रुपैयाँ बुझ्छन् ।
साथै, भिसा नलागेसम्म खातामा राखिदिएको त्यो रकमको ब्याज पनि असुलिन्छ । यसरी नक्कली डकुमेन्ट र बैंक ब्यालेन्स देखाएर भिसाका लागि पठाइन्छ । अनि बैंक ब्यालेन्स र आम्दानी देखेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देशले अध्ययनका निम्ति भिसा दिन्छन् । उनीहरूलाई के थाहा कि ती सबै डकुमेन्ट र बैंक ब्यालेन्स नक्कली हुन् । यता, विदेश उड्नेबित्तिकै उसको खाता रित्तो हुन्छ ।

किनकी उनीहरूबीच पहिल्यै यसबारे सम्झौता भएको छ । जसअनुसार त्यो व्यक्ति विदेश उड्नुअगाडि नै चेकमा हस्ताक्षर गर्न लगाइएको हुन्छ र सम्बन्धित देश पुग्नासाथ बैंकले उसको खातामा जम्मा गरिएको रकम निकाल्छ । र, सम्बन्धित खातावालाको जम्मा गरिदिन्छ । नक्कली डकुमेन्ट र झुट्टा बैंक ब्यालेन्स देखाएर अमेरिका, अस्टे«लिया त पुगिन्छ । तर, त्यहाँ पुगेर काम नपाएपछि अधिकांश नेपाली मानसिक समस्या तथा डिप्रेसनमा परेका छन् ।

फेरि फर्किन उसको परिवारसँग पैसासमेत छैन । विद्यार्थी भिसामा गएपछि काम पाइँदैन । काम खोज्न महिनौँ भाँैतारिनुपर्छ । त्यसमाथि विद्यार्थी भिसामा गएकाले काम गरेको त्यहाँको सरकारले थाहा पाएमा कारबाही गर्नसक्छ । यसले त्यहाँ लुकिछिपी काम गर्नुपर्छ । एकातिर कलेजको फ्रि तिर्नुपर्ने हुन्छ, अर्कोतिर पैसा हुँदैन । अनि यही तनावले कतिपयले आत्महत्यासमेत गर्छन् भने लाश ल्याउनसमेत हैसियत परिवारको हुँदैन । नक्कली डकुमेन्ट बनाएर अमेरिका, अस्टे«लिया, क्यानडालगायत विकसित मुलुक पठाइदिने कन्सल्टेन्सी थुप्रै छन् ।
५ लाखदेखि १० लाख रुपैयाँसम्म बुझेर उनीहरूले नक्कली डकुमेन्ट तयार पारी नेपाली विद्यार्थीहरूलाई त्यहाँ पठाउने गरेका छन् । कतिपयचाहिँ भिजिट भिसामा अमेरिका, अस्टेलिया जान्छन् अनि त्यतै लुकेर बस्छन् । जसका कारण अन्तर्रास्ट्रियस्तरमा नेपालको बदनाम भएको छ । बैंकमा भएको पैसा सर्वसाधारणको हो । तर, बैंकका कर्मचारी, सञ्चालक, अध्यक्षहरूले आफ्नो स्वार्थका निम्ति जनताको पैसा जथाभावी लगानी गरेका छन् । बचतकर्ताहरू आफ्नो पैसा बैंकमा राखेपछि भौचरको भरमा घर फर्किन्छन् । बैंकमा आफ्नो रकम सुरक्षित छ भनेर उनीहरू ढुक्क भएर घरमा बस्छन् ।

रुषा थापा, भक्तपुर

प्रतिक्रिया