आतंक नियन्त्रणको उपाय प्रतिआतंक होइन

संसारमा मानव जातिको यस्तो दूरावस्ताबाट मानव जाति एवं विश्व व्यवस्थालाई नै बचाउने अनेक उपाय, संस्कार उपकरण, वैज्ञानिक स्रोत साधन मध्ये सबैभन्दा उत्तम उपाय कानुनको सर्वोच्चता एवं निष्पक्ष सक्षम स्वतन्त्र न्यायपालिकाको अवधारणालाई मानिन्छ ।

रुद्रप्रसाद पाठक

अन्धविश्वास, उत्पीडन, शोषण आतंकवाद, विभेदजस्ता समस्या सबै समाज जाति समुदाय राष्ट्रका साझा हुन् । यस सम्बन्धमा सबैको साझा दृष्टिकोण हुनु आवश्यक छ । तर, साझा दृष्टिकोण बन्न सकेको छैन भन्ने कुरा भरखरै भारत र पाकिस्तानबीच भएको युद्धले पुष्टि गरेको छ । कश्मिर मामिलालाई लिएर भइरहेको संघर्षलाई भारतले आतंकवाद भन्ने गरेको छ, तर पाकिस्तान आतंकवाद भन्न लागि तयार छैन । मुख्य समस्या यही हो । सबैभन्दा चिन्ताको विषय नै यही हो ।

यदि अतंकवाद नै हो भने आतंकवाद विरुद्धको कारबाही भारत–पाकिस्तान दुबैको सहकार्यमा किन भएन ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । आजको सभ्य दुनियाँ तथा वैज्ञानिक चेतनाको धरातलमा उभिएको संसारले यस सन्दर्भमा निम्न प्रश्नको उत्तर खोज्नु पर्दछ । हाम्रो साझा भविष्य भनेको के हो ? के हामी एकआपसमा दुस्मन भएर अणु परमाणुको सहायताले लड्यौँ भने हाम्रो भविश्य सुनिश्चित हुन्छ ? अज्ञानता, अन्धविश्वास, उत्पीडन, शोषण आतंकवाद एवं विभेद लगायतका समस्या हाम्रा साझा समस्या हुन कि होइनन ? अन्धविश्वास, अज्ञानता, उत्पीडन, शोषण आतंकवाद एवं विभेद विरुद्धको लडाइँ सम्पूर्ण मानवीय सभ्यताले किन नगर्ने त ?

संसारभरिमा बाल शिक्षामा वार्षिक करिब ८ अर्ब डलर मात्र खर्च हुन्छ, तर हातहतियारमा भने १ हजार अर्ब डलर खर्च हुन्छ । अमेरिकामा मात्रै सौन्दर्यका साधनमा १२ अर्ब डलर खर्च हुन्छ जबकी विश्वभरिमा आधारभूत स्वास्थ्य र पोषणमा १५ अर्ब डलर मात्र खर्च हुन्छ । युरोपमा मात्रै आइसक्रिम र अत्तरमा २५ अर्ब डलर, चुरोटमा ५० अर्ब डलर तथा अल्कोहलमा १६० अर्ब डलर खर्च हुन्छ । यो तत्थ्यांकले के देखाउँछ भने विश्व अर्थतन्त्रको कति सानो भाग मात्रै मनुष्यका अति आवश्यक अपरिहार्य कुरामा खर्च हुन्छ र कति ठूलो धनराशि विध्वंश विलासिता र महत्वाकांक्षाजस्ता कुरामा खर्च भइरहेको छ ।

यस मामिलामा विश्लेषण गर्दै पाकिस्तानकी बाल अधिकार अभियन्ता तथा १७ वर्षको उमेरमै नोबेल पुरस्कार विजेता युसेफ मलालाले भनेकी छन्, ‘विश्वव्यापी रूपमा हातहतियारमा भइरहेको खर्चको १ प्रतिशत मात्रै शिक्षा वा खानेपानी व्यवस्थामा थपेको भए विश्वका सबै बालबालिका निःशुल्क विद्यालय जान पाउँथे र पर्याप्त मात्रामा खानेपानी नपाउने आधा जनसंख्याले शुद्ध खानेपानी पाउथे ।’ यसकारण संसारको मुख्य समस्या गरिबी होइन मनुष्यको अविवेक, कपट, हिंसा, दमन, उच्च महत्वकांक्षा, मुर्खता, अनियन्त्रित विलासिता तथा लोभ आदि हुन् । यही अविवेककै कारणले द्वितीय विश्वयुद्धमा जापानको हिरोसिमा र नागाशाकी सहरमा बम खसालियो । बम खसाल्दा उक्त युद्धमा खटिएका अमेरिकी सेनाका जनरल डा. ओपनहाइमरले ‘म साँचै मरेँ’ भनेका थिए ।

अणुबम सूत्रका आविष्कारक वैज्ञानिक अल्बर्ट आइस्टाइनले विश्वयुद्धमा भएको जनधन देखी आक्रान्त हुँदै आफ्नो कर्मप्रति घृणा गर्दै भने, ‘मेरो यो आविष्कारको प्रयोग विनाशकारी होला भन्ने थाह पाएको भए म यो खोजमा समय नै लगाउने नै थिइनँ ।’ यही कुराबाट आजित भएर नै उनले महात्मा गान्धीको अहिंसा शास्त्रमा विश्वास गर्दै भने, ‘अणु शक्तिभन्दा आत्मिक शक्ति नै बढी बलशाली हुन्छ । संसारको खराबीलाई रोक्न अणुशक्तिभन्दा आत्मिक शक्तिको सहारा लिनुपर्छ ।’ सन् १९४५ मा जापान देशको नागासाकी र हिरोसिमा सहरमा जुन बम बिस्पोट भयो त्यो गलत थियो । यदि कुनै देश व्यक्ति समाज देशलाई जित्नु छ भने बम र गोलीले होइन नरम बोलीले जित्नु पर्छ ।

प्रथम विश्वयुद्ध तथा द्वितीय विश्व युद्धको परिणाम स्वरूप आएको मानवअधिकारको विश्वव्यापी घोषणा पत्रले मानवमा अन्तरनिहित चेतनालाई स्वीकार गरि एकअर्कामा भातृत्वको व्यवहार गर्नुपर्ने कुरा उद्घोष गरेबाट पनि न्यायको पूर्णत्व प्राकृतिक कानुनबाट मात्र संभव छ भन्ने कुराको पुष्टि भएको छ ।

द्वितिय विश्वयुद्धका मुख्य पात्र जननिर्वाचितसमेत रहेका हिटलरले २ करोड मानिसको संहार गरी अन्ततः युद्धको भयावह अवस्थाको परिणामबाट विचलित भई अन्तमा आफ्नै कञ्चटमा आफैँ गोली हानी प्राण त्याग गरेका थिए भने विवेकशील नेल्सन मण्डेलाले शक्ति आफ्नो हातमा आउँदा पनि प्रतिशोधको सट्टा सत्य, मेलमिलाप सत्य र न्यायमाथि जोड दिएका थिए । अतः यस्ता विवेकहीन खराब नियतका मानिसहरूबाट हुन सक्ने यस्तो भयावह अवस्थाबाट यो संसारलाई न्याय दिन अल्बर्ट आइन्स्टाइनजस्ता प्रशिद्ध वैज्ञानिकले समेतले ‘यो संसार खतरनाक अवस्थामा परिणत हुँदै छ, तर त्यो केही महत्वाकांक्षी मानिसहरूको कारणले होइन ती महत्वाकांक्षी विवेकहीन मानिसहरूलाई सही मार्गमा डो¥याउन नसक्ने सज्जनहरूका कारणले हुँदै छ’ भनी सचेत गराएका थिए ।

यस कारणले संसारमा मानव जातिको यस्तो दुरावस्ताबाट मानव जाति एवं विश्व व्यवस्थालाई नै बचाउने अनेक उपाय, संस्कार उपकरण, वैज्ञानिक स्रोत साधन मध्ये सबैभन्दा उत्तम उपाय कानुनको सर्वोच्चता एवं निष्पक्ष सक्षम स्वतन्त्र न्यायपालिकाको अवधारणालाई मानिन्छ । यसको उपयुक्त उपचारको सम्बन्धमा बेलायतका प्रशिद्ध कानुनविद एएल गुडध्रतले भनेका थिए, ‘न्यायपालिकाले न्यायिक सकृयताको माध्यमले संविधानवाद, न्यायिक सुशासन, कानुनी सार्वभौमसत्ता वा कानुनी सर्वोच्चताको सिद्धान्त प्रयोगबाट यस्ता आवेशगत बहुलट्टीपनलाई निष्क्रिय पार्नेछ ।’

अत्यन्त असभ्य एवं क्रूर जातिका लागिसमेत निन्दनीय मानिने युद्ध केही राष्ट्रहरूले अपनाएका छन् । सामान्य विवादमा पनि मानिसहरू हतियार उठाउँछन् । विनाकारण पनि उनीहरू लड्छन् । जब लडाइँ सुरु हुन्छ उनीहरूमा कानुन मानवता एवं ईश्वरप्रति एकरती पनि सम्मान रहँदैन । यसैले संसार विवेकले चल्नुपर्दछ न कि कपट एवं बन्दुकले । यो संसारबाट सैनिक सामग्री एवं सैनिक बल कटौती गर्दै लैजानु पर्दछ । यो केबल संसारको बिनास एवं हाम्रो स्वार्थी कपटी असक्षम मानसिकताको उपज मात्र हो । यसकारण संसारमा भएका हरेक समस्याको समाधान विवेकले नै गर्न सकिन्छ । संसारलाई नै एक मानवीकरण गर्न खोज्नु आजको आवश्यकता हो ।

आजको यस २१औँ शताब्दिको सभ्य दुनियाले आफ्नै आत्मालाई सोधेर भनोस् परमाणु बम एवंं मिसायलको प्रयोगले जित भएमा पनि त्यो जित कसको हुन्छ ? के यो हामी सबैको मानवताको हार भएको अवस्था होइन ? के यो वैज्ञानिक सामग्रीको अनुचित प्रयोग भएको अवस्था होइन ? यो हाम्रो मुर्खता एवं अहंकारको प्रष्ट निशानी होइन ?

इतिहासलाई फर्केर हेर्ने हो भने प्रष्टै देख्न सकिन्छ मनुष्यको समस्याको हल पासविक बलको प्रयोगले हुँदैन । विवादहरूको समाधानका लागि मानवीय विवेकको सट्टा पासविक बुद्धि लडाएमा यो धर्ती नर्कमा परिणत हुनेछ । प्रथम विश्वयुद्ध तथा द्वितीय विश्व युद्धको परिणामले यो प्रष्टै देखाएको छ । युद्धमा गरिएको अर्बाैं डलरको बिष्फोट, बन्दुक जो धुवाँ बनेर उड्यो, जसबाट एक नयाँ संसार बसाउन पर्याप्त बजेट हुन्थ्यो ।

जुन पैसाले संसारको गरिबी, रोग, अशिक्षा, अभाव मेटाउन पर्याप्त हुन्थ्यो । डर अराजकता अनिकाल असुरक्षा, महामारीको सट्टा शान्ति, समृद्धि, ज्ञान तथा विकासको साम्राज्य हुन्थ्यो । तर, त्यो पैसाले मानवीय भौतिक क्षति मात्र गरेन विश्वको विकासको गतिसमेत पछाडि धकेलीदियो । विश्वलाई पुँजीवादी एवं साम्यवादी गरि गुटमा परिणत गरिदियो । यसको परिणामप्रति विश्लेषण गर्दै फ्र्याक्लिन रुजवेल्टले भनेका छन्, ‘जित र हार दुबै निष्फल हुन् । हिंसाको विजयको परिणाम शोकको उत्सव हो ।’

प्रतिक्रिया