दलहरू सुध्रिए पश्चगामीहरूको नैतिक हार निश्चित

आजका युवाहरू गणतन्त्रका मालिकहरूका नालायकीबाट दिक्क हुनुलाई अन्यथा मान्न सकिँदैन । तर, नयाँ पुस्ताले राज्यसँग राजा होइन, रोजगार माग्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ । आजका युवाहरूले सुशासन र रोजगारीका निम्ति आवाज उठाउँछन् भने यसमा सबैको साथ रहने कुरामा दुईमत छैन ।

धनराज वास्तविक

विद्यमान संविधान (२०७२) ले दर्जनौँ मौलिक हक, अधिकार र कर्तव्यको व्यवस्था गरेको छ । जसको व्यावहारिक र वैज्ञानिक कार्यान्वयन आजको अनिवार्य आवश्यकता हो । यही आवश्यकतालाई गणतन्त्रवादीहरूले महसुस गरेर काम गर्ने हो भने गलत भाष्य निर्माण गर्ने, मौकाको लाभ लिने र समाजलाई अधोगतितर्फ धकेल्ने पश्चगामीहरूको नैतिक हार निश्चित छ । आज नेपाली राजनीतिलाई बदनाम, विभाजित र भ्रामक भाष्यको सिकार बनाउन प्रतिगामी, यथास्थितिवादी र अवसरवादी लागिरहेका देखिन्छन् ।

खासगरी राजावादीका केही मतियारहरूले आजको भन्दा हिजोको समाज, विकसित, समृद्ध, सुशासनयुक्त थियो भन्दै तथ्यले होइन, तर्कले जित्न खोजिरहेका सुनिन्छन् । त्यस्ता कर्कस आवाज सुनाउनेमा केही राजावादी सांसद पहिलो पंक्तिमा देखिन्छन्, जसको एउटै ध्येय भनेको समाजलाई भ्रमको भुँमरीमा पारेर आफ्नो राजनीतिक रोटी सेक्ने हो भन्ने कुरा घामजस्तै छ । राजावादीहरूको धाक धम्की सुन्दा लाग्छ, अहिले त यस्तो छ, साँच्चै यिनीहरूले चाहेको राजा नै आउने हो भने के हुन्छ ? यिनीहरूको घमण्डले कस्तो शासन गर्ला ? आज काँचै निलुँला जस्तो गर्ने राजावादीहरूका रूखो र अराजनीतिक तर्कहरूका बारेमा नेपाली समाज जानकार नै छ । यस्ता केही मुलभूत सन्दर्भलाई केलाउने हो भने नेपाली समाजमा खासगरी २ वटा गलत भाष्यले आजको समस्या थप जटिल बन्दै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

१. राजावादी भाष्य

नेपाली समाजमा एउटा यस्तो समूह छ, जसको काम भनेकै हल्ला गर्ने, हावादारी कुरा गर्ने, भ्रम फैलाउने, देशमा केही भएन भन्ने, निराशा खेती गर्ने, देशको बदनाम गर्ने, खाली नराम्रा कुरालाई प्रसय दिने, भए नभएका भ्रामक सन्देश फिँजाउने, समाजलाई अस्थिर बनाइराख्ने, सकारात्मक भन्दा नकारात्मक कुराहरूलाई बेचेर स्वार्थ पूरा गर्ने काम गरिरहेको छ । यसरी नकारात्मक भाष्य निर्माण गर्नेमा राजावादी र यथास्थितिवादीहरू प्हिलो पंक्तिमा छन् । साथै नयाँ पुस्ता (२०६३ सालपछि जन्मिएको) का केही युवाहरू सत्य, तथ्य र प्रमाणको आधारमा नभएर राजावादीहरूको लहलहीमा लाग्ने काम गरिरहेको देखिन्छ । स्वयं त्यस्ता युवाहरूको निम्ति त हानिकारक छ नै, मुलुक र समाजको निम्ति पनि उत्तिकै हानिकारक छ ।

मुलुकको भविष्यका रूपमा जन्मिएको नयाँ पुस्ताले मुलुक र समाजको निम्ति के गर्ने ? के नगर्ने ? कस्तो कुराको विश्वास गर्ने भन्ने खालका सवालहरूलाई नबुझिकन अराजक, भिजेलान्ते, ठग, अपराधी र सफेद झुटको खेती गरिरहेको व्यक्तिले ‘आओ आओ’ भनेर गरेको आह्वानमा आँखा चिम्लेर सडकमा हाम फाल्ने कामलाई जायज मान्न सकिँदैन । राज्यसँग रोजगार चाहियो भन्ने, जागिर चाहियो भन्नु र राज्यका संरचना (जडीबुटी प्रशोधन केन्द्र) जलाएर राजा चाहियो भन्ने कुरा निक्कै फरक छ । आजका युवाहरू गणतन्त्रका मालिकहरूका नालायकीबाट दिक्क हुनलाई अन्यथा मान्न सकिँदैन । तर, नयाँ पुस्ताले राज्यसँग राजा होइन, रोजगार माग्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ । आजका युवाहरूले सुशासन र रोजगारीका निम्ति आवाज उठाउँछन् भने यसमा सबैको साथ रहने कुरामा दुई मत छैन । कुनै अराजक व्यक्तिको पछि लागेर तीनकुने (१५ चैत २०८१) घटना घटाउने काममा नयाँ पुस्ता आँखा चिम्लेर हाम फाल्छ भने ‘भिर जाने गाईलाई रामराम भन्न सकिन्छ, तर काँध थाप्न सकिन्न’ भन्ने युक्तिलाई स्मरण गर्नुको विकल्प हुँदैन ।

अर्को कुरा समाजलाई भड्खालोतर्फ लैजाने र वर्तमान व्यवस्थालाई कुरूप देखाएर इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्ने मुर्खता गरिरहेका यस्ता समूह र मान्छेहरूले विद्यमान यथार्थ तथ्यलाई बेवास्ता गरिरहेका छन् । तथ्य र प्रमाणसहितको सत्य मान्य हुन्छ । यथार्थ सुचांकलाई नजरअन्दाज गर्नु भनेको सत्यलाई पराजित गर्न खोज्नु हो । राम्रा कुरालाई लुकाउने र नराम्रा कुरालाई देखाउने राजावादीहरूको मुख्य जागिर नै हो । माथि भनिएझैँ विद्यमान संविधानले व्यवस्था गरेका मौलिक हकहरूको साच्चिकै कार्यान्वयन गर्ने हो भने नेपालले समाजवादको एउटा गतिलो आधार तय गर्न सक्छ । बिडम्बनाका साथ भन्नुपर्छ, यसका निम्ति अर्को भनौँ या दोस्रो भाष्य हानिकारक छ ।

२. प्रचण्ड–ओलीको सर्वेसर्वा भाष्य

नेपाली राजनीतिको अर्को बिडम्बना भनेको केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालहरू हुन् । यी शीर्ष नेताहरूले आफ्नो विगतको विरासत, वर्तमान सच्चाईं र भविष्यको ठोस आँकलन गर्न सकेनन् । आजका दिनसम्म आइपुग्दा उनीहरूले सत्ता, शक्ति र सम्पत्तिका नाममा देखिएको लोभ देख्दा सम्मानका निम्ति खर्चिएका शब्दहरू फिर्ता लिऔँ र नमिठो शब्द प्रयोग गरौँ भन्ने मनमा आक्रोश जन्मिन्छ । माक्र्स, ऐँगेल्स, रोजा, लेनिन, माओ र नेपालका बिपी, पुष्पलाल, मदन भण्डारीजस्ता निष्ठावान नेताहरूको तस्बिर बोकेर हिँडिरहेका नेताहरू यति लोभी, पापी, पक्षपाती कसरी बने ?
एउटा सन्दर्भको स्मरण गरौँ, नेकपा (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालले सहजै नेतृत्व हस्तान्तरण गर्नुहुन्छ भन्ने लागेको थियो । किनकी उहाँहरू अरू नेताहरूभन्दा केही कम लोभी नेताको सूचीमा पर्नुहुन्थ्यो । तर, बिडम्बना यस्तो दिन आयो कि, उहाँहरूले नेतृत्व छोड्नुपर्छ भनेर लेख्नुपर्ने भयो र लेखियो । यसप्रसंगलाई थाति राखेर भन्दा आजको समस्यालाई घटाउने होइन कि बढाउने काममा ओली, प्रचण्ड र देउवाहरूले प्रतिष्पर्धा गरिरहेका देखिन्छन् । ओली र प्रचण्डले आगामी २–३ दशकसम्म अध्यक्ष पदको निम्ति आकांक्षा नगर्न भनिसकेका छन् । जो विगत ३–४ दशकदेखि सत्तामा छन् ।

उनीहरूमा यो विश्व ब्रमाण्ड आफूले धानेको भ्रम छ । आफूबाहेक अरूलाई सक्षम देख्दैनन् । आफूलेबाहेक अरूले सक्दैनन् भन्ने उनीहरूको बुझाइ छ । सबैथोक आफूले गरेका हौँ भनेर व्याख्या गर्छन् । तर, आफूले नगरेको र गर्न नसकेको काम केही भन्दैनन् । उनीहरू आफूले गर्न सक्ने कुरा भन्दैनन् । जे गर्न सक्दैनन्, त्यहि कुरा भन्छन् । यस्ता कारण नेताप्रति जनताको विश्वास घट्दै गएको सहज अनुमान गर्न सकिन्छ ।

माथि पनि थोरै चर्चा गरियो कि आजको पुस्ता यी नै मुख्य नेताहरूको राजकाजी पदलोभ र अक्षम क्रियाकलापबाट रूष्ट देखिन्छ । विगत ४०÷५० वर्षदेखि उही व्यक्ति केन्द्र भागमा छ । जसको अनुहार टिभीमा देखिँदा जनताहरू रिमोट (च्यानल बदल्न) खोज्न थाल्छन् । नेताहरूका आवाज सुन्दा रेडियो बन्द गर्छन् । यस्तो अवस्थामा पनि नेताहरूले नबुझ्नु दुर्भाग्य हो । नेपाली इतिहासमा राजालेसमेत यति धेरै सत्ता चलाएनन् । जति ओली, प्रचण्ड, देउवा र माधवहरूले चलाए । पार्टीका राजाका रूपमा हिजोदेखि आजसम्म र आजदेखि भोलिसम्म हामी नै सर्वेसर्वा हौ भन्दै हुँकार गर्दै छन् ।

यसरी हेर्दा मूलतः मुलुकमा केही भएन भन्ने राजावादी भाष्य र हामी नै सर्वेसर्वा हौँ भन्ने गणतन्त्रका स्वार्थी नेताहरूको भाष्यका कारण आजको समस्या आएको हो । माथि नाम उल्लेख गरिएका नेताहरूले यो देशका निम्ति र वर्तमान व्यवस्थाका निम्ति ठुलो योगदान दिएको कुरालाई नकार्न मिल्दैन । अर्कातर्फ योगदानलाई नै अपमान हुनेगरी पदलोभ देखाउनुलाई जायज मान्न सकिँदैन । अर्को कुरा माधव, प्रचण्ड, ओली र देउवाहरूको नाममा खडा गरिएका सचिवालयहरू खारेजयोग्य छन् । आवश्यक भए केही समयसम्मका निम्ति राख्ने र सचिवालकमा बदल्नुपर्छ । एउटै समूहलाई जीवनभर सचिवालयमा राख्ने र तिनीहरूले नेताहरूको नाममा लुट मच्चाउने, दरबार र महल बनाउने, नवधनाढ्य बन्ने गरेको कुरा समाचारमा सुन्न पाइन्छन् । साच्चै हामी मुलुकलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलक निर्माण गर्ने नै हो भने सुशासनको सुई यता पनि घुमाउनुपर्छ भन्ने लाग्छ ।

पारिवारिक लोभमा फसेको नेतृत्व

प्लेटो (एरिस्टोक्लिज) को आदर्श राज्य र शासन प्रक्रियाका बारेमा आधुनिक मानव समाजले विमति राख्ने तमाम ठाउँ छन् । तथापि साम्यवादको व्याख्या गर्ने क्रममा प्लेटोले परिवारवादको चर्चा गरेका छन् । जसमा उनको तात्कालीन धारणा उल्लेख छ । उनी स्थायी श्रीमती राख्ने कुराको विरोधी देखिन्छन् । पारिवारिक मोहले शासकलाई कातँर र स्वार्थी बनाउँछ भन्ने उनको धारणा छ । सन्तान जन्मिनासाथ विवाह भंग गर्ने र शासकलाई पारिवारिक मोहबाट टाढा बनाउने हो भने राज्यका सबै सन्तानलाई समान ममता देखाउने छन् भन्ने उनको विश्वास छ ।

यही खालको विश्वास हामीले राख्नुपर्छ भन्न खोजिएको पक्कै होइन । तर, आज हामीले भोगिरहेका गणतन्त्रका नेताहरूको पारिवारिक, गुटगट स्वार्थको सीमाहदपारलाई हेर्दा प्लेटोले शासक र सन्तानको प्रसंगलाई व्यवस्थित प्रकाश नपारे पनि केही हदसम्म राम्रो भन्न खोजेका हुन् भन्ने आधारलाई नजरअन्दाज गर्न भने सकिन्न । वर्तमान नेतृत्वको परिवारवाद सीमाहीन छ । जसले गर्दा आज व्यवस्थामाथि नै प्रश्न उठिरहेको कुरा नर्कान मिल्छ ? मिल्दैन । आजको मूल समस्या भनेको गणतन्त्रवादी नेताहरूको पदलोभ, राजावादीहरूको अनावश्यक हल्ला, भ्रष्टचार, बेथिति, स्वतन्त्रताको नाममा स्वच्छन्दता, सतही कुराको प्रभाव, लोकप्रियतावाद हो ।

यसको अन्त्यको सुरूआत भनौँ वा यसलाई बदल्नका निम्ति, आशावादको सिर्जना गर्नका निम्ति पहिलो पुस्ताका नेताहरूले बाटो खाली गर्नुपर्छ । संसार धानेको भन्ने भ्रमलाई छोड्नुपर्छ । अयोग्यताको बिल्ला भिरेर राजनीतिबाट दुःखद् बहिगर्मन हुँदा जीवनभर कमाएको राजनीतिक पुँजीको अपमान हुन्छ भन्ने कुरा भुल्नु हुन्न । आफू सक्दासक्दै उत्तराधिकारी तोक्नुपर्छ । दोस्रो पुस्ताले पनि हामी तयार छौँ भन्नुपर्छ र तेस्रो पुस्ताले भुत्ते बन्दै गरेको चेतनालाई बदल्नुपर्छ । यत्ति गरेपछि मुलुक बल्ल ठाउँमा उभिन्छ । वर्तमान उकुसमुकुसको समाधानको सुरूआत नै पुराना नेताहरूको विस्थापन हो ।

उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुहिका (पेपे) को गत मंगलबार ८९ वर्षको उमेरमा क्यान्सरका कारण निधन भयो । सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति बनेका उनी सरल जीवनशैलीका कारण चर्चित थिए । उनी बितेर गए पनि उनले सिकाएको जीवनदर्शन, राजनीति र विनम्रताको पाठ विश्वमाझ आदर्श राजनीतिज्ञका रूपले चर्चा गरिँदै छ । क्रान्तिकारी नेता पेपेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु । संसारकै गरिब राष्ट्रपति पेपेको निधनपछि संसारमा एउटा सन्देश प्रसारण भयो । ‘नेता महलमा होइन, जनताको मनमा बस्नुपर्छ ।’ पेपे साधारण भएर पनि असाधारण काम गरे । विश्व दुनियाँलाई निष्ठाको राजनीतिक सन्देश दिएर गए । पेपेको निधनलाई स्मरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलन आज अनेक कित्ता र साइनबोर्डमा विभाजित छ । तर, पनि दशकौँदेखि पार्टी सत्ता र राज्य सत्तामा रहेका मोहन विक्रम, मोहन वैद्य, विजुक्छे, चित्रबहादुर केसी, झलनाथ, माधव, प्रचण्डले पेपेको जीवनबाट पनि केही सिक्नुपर्छ कि ? भन्ने सवाल सडकमा छोड्न लायक छ ।

प्रतिक्रिया