जुन बेला तक्षशिला र नालन्दा विश्वविद्यालयलाई खरानी बनाइयो त्यही दिनदेखि भारत वर्षको पतन सुरु भयो भन्न सकिन्छ । फलस्वरूप संस्कृत, वैदिक नैतिक संस्कार सवै पतन हुन थालेपछि आज सम्पूर्ण मानव समाजलाई धनरूपी पासोले विवश बनाइसकेको देखिन्छ । अनपढ, अज्ञानी, गँवारहरू मात्र होइन प्राडा जस्तो गरिमामय पगरी गुथेका, साथै राष्ट्रको गरिमामय घुम्ने आसनसमेत ओगट्न सफल भएकाहरूसमेत त्यही पासोमा परेर विवशताको तितो तालमा डुबेका छन् ।
मलाई शंका लाग्छ २०२४–०२५ सालमा नयाँ शिक्षाको नाउमा भित्रिएको घाँटीको टाइ सबैको गलपासो भएको जस्तो लाग्छ । गुरु श्री शंकरदेव पन्तले त्यो बेला एक्लै विरोधको विगुल बजाए पनि कसैले सुनेनन् । हामी जस्ता गाउँका थरिवाका दासहरूले त बुझ्ने र प्रतिकार गर्ने कुरै भएन । मानवता, नैतिकता र राष्ट्रियता जोगाउने तर्कभन्दा दक्षिणा लिने र जीवन निर्वाहमा इँटा थप्ने तर्फ मात्र आकर्षण हुँदै गएका गुरुहरूले थाहै पाएनन् । यहाँनेरै व्यासरूपी गुरुको ज्यादै अभाव भएछ कि भन्ने शंका छ ।
यही भिरालो सुर्काहरूमा चिप्लिएर होला, बल्लबल्ल जोगिएर बचेको नेपाली शब्दकोषमा लुकेको ॐलाईसमेत खोजेर लखेट्नै पर्ने र त्यो कु–कार्यमा पनि नेपाली प्राडाहरू नै अग्र पंक्तिमा उभिनुपर्ने वाध्यता के थियो त ? यहाँ विशाल प्रश्न चिन्ह लाग्छ । कतै त्यही अन्तर्राष्ट्रिय पासोमा अल्झेर त्यही ब्रम्हाण्ड स्वरूप ॐ को सिकारमा किन सामेल हुनु परेको त ? सिंगै भारतवर्षमा पखेटा फिजिएको ॐकारले शंकर पार्वतीको राज्य पाशुपत क्षेत्रमा समेत बास नपाउनुको कारण ॐकार परिवाहरूले खोज्दा विचरो त्यही गाउँले बलदेवको खुट्टा तान्नेहरूलाई चिन्नु जरुरी छैन र ?
अफगानिस्तानदेखि लाओस कम्बोडियासम्मै ढाकेको वैदिक साम्राज्यको प्रमाण छ केही वर्षअघि अफगानिस्तानमा रहेको एउटा सिंगो चट्टानी पहाडलाई नै कुँदेर बनाएको प्राचीन (शंकर) महादेवको मूर्तिलाई तालीवानीहरूले ब्लास्टिङ गरेर फुटाएर ढुंगा बेचेको खबर भाइरलै भयो । सिंगै पहाडलाई कुदेर महादेवको मूर्ति बनाउने कोही महापुरुष थियो होला ?
अब लागौँ पूर्वतिर, संसारमै ठूलो महादेवको मूर्ति कम्बोडियामा रहेको र रामायण कालदेखि महाभारत कालसम्मका विशाल मूर्ति र मन्दिरहरूले आज बर्मा, थाइल्यान्ड, मलेसिया, सिंगापुर, भियतनामसम्म घुम्ने पर्यटकहरूको आकर्षण बनेको ॐकार पारिवारिक इतिहासलाई मेटाएर कसको चाकरी गर्नेमा नेपालीहरूले जागीर खाँदै छन् ?? खोजिको विषय छैन र ?
अन्त्यमा आज नेपाली युवाले संसारभरीका देशहरूमा गएर देखेका छन् गोरखा सैनिकहरूले ग्रेटब्रिटेनमा संघर्ष गरेर नेपालको हरेक परम्पराको प्रदर्शन गर्दै गोर्खाली नाम उच्च गरेको र संसारभरि भारतवर्षको सम्भयता पहिचानका मठमन्दिर, स्तुपा, गुरुद्वार आदि नयाँ नयाँ बनाएर वैदिक साम्यवादको प्रचार भइरहँदा नेपालमाचाँहि यति ठुलो हमला हुँदा पनि सबैको मस्त निन्द्राले कुम्भकर्णलाई समेत उछिनेको जस्तो देखिएन ? नालन्दा र तक्षशिलाको अवशेषलाई क्लोनिङ गरेर राजावेनको खरानीबाट महामानव पृथु राजा जन्माएजस्तै वैदिक साम्यवादी राज्य नेपालमै स्थापना गर्ने ज्यो.प.डा.प्रा.हरू एक हुनु जरुरी देखिन्छ । ॐ, श्री, ऋ, यी ३ अक्षरै नभएको वैदिक शास्त्र मुर्कुटाजस्तै हुनेछ ।
रामहरी बाजे, विदुर–४, नुवाकोट
प्रतिक्रिया