महान चाड बडादसैँ सुरु

सम्पादकीय

नेपालीहरूको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । बडादसैँ पर्व हरेक वर्ष आश्विन शुक्लप्रतिपदाका दिनदेखि प्रारम्भ भएर आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने गरिन्छ । बडादसैँ नेपालको राष्ट्रिय पर्व हो । विश्वमा जहाँ जहाँ नेपालीहरू छन्, त्यहाँ त्यहाँ बडादसैँ पर्व ज्यादै महत्वका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभमुहूर्तमा घडा स्थापना गरी घडाको नजिक जमरा बीजारोपण गरी बडादसैँको शुभारम्भ गरिन्छ ।

जसलाई घटस्थापना भनिन्छ । घटस्थापना पछिका ९ दिनसम्म विभिन्न नामले शक्तिकी देवी दुर्गाको पूजा आराधना गरिन्छ । १०औँ दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ । १०औँ दिनलाई विजयादशमीको नाममा मनाउने चलन छ । तिथिका आधारमा एक वर्षमा आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी ४ वटा दसैँ पर्दछन् । जसमध्ये अन्य देशका हिन्दूहरूले चैत्र शुक्ल दसैँलाई विशेष महत्व दिएका हुन्छन्, तर नेपालीहरूले आश्विन शुक्ल दसैँलाई बडादसैँ पर्वका रूपमा प्रमुखता दिएर किन र कहिलेदेखि मनाउन थाले ? भन्ने एकीन अभिलेख पाइँदैन । लिच्छवीकालीन अभिलेखमा उल्लेख भएअनुसार बडादसैँ पर्व नेपालमा परापूर्वकालदेखि मनाउन थालिएको देखिन्छ । बडा दसैँ मनाइने परम्पराका सन्दर्भमा नेपालका हिन्दू र बौद्ध दुवैका आआफ्ना धार्मिक मन्यता छन् । त्यसैले यो चाड हिन्दू परम्पराबाट जन्मेको हो या बौद्ध परम्पराबाट ? भन्ने एकीन छैन ।

बडा दसैँ सबैभन्दा लामो समयसम्म मनाइने राष्ट्रिय पर्व हो । सरकारले पनि आफ्ना कर्मचारीहरूलाई दसैँ मान्ने खर्चसहित लामो बिदा दिने गरेको छ । दसैँमा पूजाआजा तथा भक्ति आराधनाका अलवा खानपिन तथा मनोरञ्जन पनि दिल खोलेर गरिने चलन छ । यही बेला नयाँ लुगाफाटो किन्ने चलन पनि छ । अरू बेला नपुगे वा नसके पनि दसैँका बेला मन फुकाएर खर्च गर्ने चलन छ । त्यसैले नेपालमा दसैँ पर्वको सर्वाधिक धार्मिक महत्व मात्रै होइन, आर्थिक महत्व पनि ज्यादै धेरै छ । वर्षभरी जति उपभोग्य बस्तुको खपत तथा आवतजावत हुन्छ त्यसको करिब ३० प्रतिशत दसैँको बेला मात्रै हुन्छ । लामो सरकारी बिदा तथा हावापानी र मौसमसमेत अत्यन्त अनुकूल हुने भएका कारण पछिल्ला वर्षहरूमा दसैँका बेला आन्तरिक पर्यटनसमेत फस्टाउँदै गएको छ ।

धार्मिक पाटोका अलवा माछामासु तथा मदिरा पनि बडादसैँका विशेषता बनेका छन् । दसैँका अवसरमा आफ्नो संस्कारअनुसार प्रसादका रूपमा माछामासु तथा मदिराले स्वागत गर्ने प्रचलन कतिपय समुदायमा छ । तर, कतिपय अवस्थामा यस्ता भोजनहरू नियन्त्रण भित्र रहेर नगरिँदा अप्रिय घटना भएका समाचार पनि आउने गरेका छन् । यसैगरी बडादसैँ पर्व अली बढी खर्चिलो र भड्किलो हो कि ? भन्ने प्रश्नलाई लिएर विभन्न टीकाटिप्पणी हुने गरेका छन् । दसैँ पर्व मनाउने समुदायबाट हुने यस्ता टीकाटिप्पणीलाई स्वभाविक मान्नुपर्छ । तर जसले दसैं पर्व मनाउँदैनन्, उनीहरूबाट यस्ता टीका टिप्पणी हुँदा समुदायको सद्भाव बिथोलिन सक्छ ।

यसैगरी सक्नेको देखासिखीमा नसक्नेले पनि तडकभडक गर्दै ऋणमा चुर्लम्म डुबेका कतिपय अवस्थालाई पनि नजरअन्दाज गर्न मिल्दैन । घाँटी हेरी हाड निल्नुपर्छ । कसैले खेर जाने गरी उपभोग गर्ने कसैले पेटभरी खानसमेत नपाउने अवस्था बन्नु हुँदैन । राज्यले आफ्ना कर्मचारीलाई दसैँ खर्च उपलव्ध गराउनु अन्यथा होइन, तर गरिबीको रेखामुनि रहेका वर्गले पनि दसैँ मनाउन सक्नुपर्छ, वा पाउनुपर्छ भन्नेतर्फ सरकारमा रहनेहरूको ध्यान जाँदा राम्रो हुन्छ ।

प्रतिक्रिया