“जनयुद्ध” र माओवादी आन्दोलनको दिशा

NP-Rijal०५२ साल फागुन २ गते नेपालमा सशस्त्र जनयुद्धको सुरुआत गरेको नेकपा माओवादी पार्टीले प्रारम्भिक कालमा बन्दुकको धारबाट सत्ता प्राप्त गर्ने कार्यदिशा अपनाएको थियो । त्यसपछिको दश वर्षको दौरानमा माओवादी पार्टी हतियारको आडमा आम जनतामाझबाट तत्कालीन सरकारको विरुद्ध उत्रियो । धेरै जनता सशस्त्र युद्धमा सहभागी त भए तर त्यसमा पनि स्वत:स्फूर्त रूपमा युद्धमा सहभागी हुने थोरै थिए । समाजमा क्यान्सरको रूपमा रहेको सामन्त र शोषक वर्गलाई सफाया गर्ने र विद्यमान आर्थिक, सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गरी सर्वहारा वर्गलाई समाजको मूलधारमा ल्याउने माओवादीको मुख्य उद्देश्य थियो । त्यस अभियानमा सहभागी हुन नसक्ने र अवरोध सिर्जना गर्ने जनता समाजबाट विस्तापित भए भने धेरै युद्धको दौरानमा सहिद भए । विगतमा अन्य राजनीतिक शक्तिकेन्द्रहरूले पनि हतियारलाई आन्दोलनको एक शक्तिका रूपमा लिएका थिए ।
००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सैन्यशक्तिको प्रयोग गरेको थियो । पञ्चायत कालमा पनि पञ्चायती प्रणालीको विरुद्धमा हतियार प्रयोग भएको थियो । तर, माओवादीले राजनीतिक प्रणालीको परिवर्तनका लागि मात्र नभएर पूरै सामाजिक, आर्थिक र सांस्कृतिक पाटोमा नै परिवर्तन गर्नका लागि हतियार उठाएका थिए । समाजलाई कुनै एक वर्गको आर्थिक, राजनीतिक, सामाजिक प्रभुत्वको प्रपञ्चबाट हटाएर सर्वहारा वर्गलाई आर्थिक र सामाजिक विकासको धारमा ल्याउने उद्देश्य आम जनतामा सार्वजनिक गरिन्थे । त्यस धारबाट नेपाली समाजभित्रबाट परिवर्तनको लागि बन्दुकलाई अगाडि सारेको तत्कालीन नेकपा (माओवादी) ले समाजभित्र कायम रहेको आर्थिक, सामाजिक तथा सांस्कृतिक पाटोलाई बन्दुकको गोलीभन्दा पनि कडा शक्तिका रूपमा प्रयोग गर्न पायो । माओवादीले सामाजिक पाटोलाई सबैभन्दा बढी महत्त्वका साथ लिएको थियो । त्यसले दश वर्षको युद्धको दौरानमा माओवादीले जनतामा लोकप्रियता कम तर आफ्नो पहुँच तीव्र रूपमा बढाउँदै गयो । खासगरी पिछडिएका जनजातिहरू र समाजमा निम्न वर्ग कहलिएका जातिहरूलाई राजनीतिक नारा दिएर माओवादीले संघीयराज्यको परिकल्पना अगाडि सार्‍यो । त्यस नारामा जातीय पहिचानलाई अगाडि बढाउने काममा बन्दुकको शक्तिले ठूलो भूमिका खेलेको छ ।
दोस्रो जनआन्दोनको पूर्व सन्ध्यामा आइपुग्दा अन्य राजनीतिक शक्तिकेन्द्रहरू पनि राजतन्त्रको विरुद्धमा उभिन थाले । त्यसले हतियारको आडमा सरकारी सेनासँग युद्ध लडेको पार्टी तत्कालीन माओवादीले ऊर्जा पायो । अर्कोतिर, राजा ज्ञानेन्द्रको अदूरदर्शी कदमले गर्दा पनि माओवादी जनयुद्धले सफलता पायो । राजतन्त्रको जरो उखेलेपछि माओवादीले आफ्नो अन्तिम सफलता पूरा भएको ठानी अन्य गैरहतियारधारी राजनीतिक दलहरूसँग सहकार्य गर्न थाल्यो । सैन्यशक्तिको बलमा सत्ता कब्जा गर्ने र लामो समयसम्म सत्तामा एकलौटी रूपमा रहेर कम्युनिस्ट शासन प्रणालीको अभ्यास गर्ने माओवादी सोचबीचमा नै परिवर्तन भएको देखिन्छ । सम्पूर्ण राजनीतिक शक्तिसामेल भएको गोलमेच सम्मेलनबाट मुलुकमा राजनीतिक निकासको बाटो पहिचान गर्ने धारलाई त्यागी केही शक्तिशाली राजनीतिक दलसँग सैद्धान्तिक सहमति गरी अगाडि बढ्ने नीति लियो । त्यसमा पार्टीले हतियार त्यागी वार्ताबाट लक्ष्यमा पुग्न नयाँ दिशा खोज्ने कूटनीतिक बाटो समाउन पुगेको कुरा स्पष्ट हुन्छ । अन्य राजनीतिक दलसँग गरेको सहमतिबमोजिम माओवादी सोझै संविधानसभाको चुनावमा सहभागी भयो । संविधानसभामा ठूलो दलका रूपमा स्थान पाएपछि सत्ताको बागडोर वैधानिक रूपबाट आफ्नो हातमा लियो ।
यो माओवादी जनयुद्धको विकासक्रमलाई विश्लेषण गर्दा के देखिन्छ भने ‘जनयुद्ध’ अर्थात् हतियारको क्रान्तिको भरमा सत्ताको पहुँचमा माओवादी सोझै आइपुगेको थिएन । दश वर्षको दौरानमा मुलुकमा १५ हजार नेपाली जनताको ज्यान गयो भने हजारौँ बेपत्ता भएका छन् । त्यो परिणामको मानवीय क्षति तुलनात्मक रूपमा थोरै हो । तर, विश्व इतिहास पल्टाएर हेर्ने हो भने राजनीतिक परिवर्तनको दौरानमा लाखौँ जनताहरूको ज्यान गएको देखिन्छ । तर, नेपालको माओवादी जनयुद्धको धार एक कूटनीतिक पाटो मात्र हो तर समाजमा भएका आर्थिक, राजनीतिक र सांस्कृतिक पाटाका बेथितिहरू सफलताका मुख्य कारक तत्त्वहरू हुन् । त्यसलाई राम्रोसँग मनन् गरेका माओवादीका माथिल्लो तहमा रहेका नेताहरूले राजतन्त्रको अन्त्य गर्नका लागि अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्न पुगे । दोस्रो जनआन्दोलन पछिको राजनीतिक दिशामा माओवादी जनमतबाट अगाडि बढ्न पुग्यो । पार्टीले हतियार र जनसेनालाई क्यान्टोनमेन्टमा राखी सत्तातर्फको यात्रालाई प्रमुख प्राथमिकता दियो । सेना समायोजनको क्रममा राष्ट्रसंघसँगको सहकार्यमा अनमिनले ठूलो भूमिका निर्वाह गर्‍यो । अन्त्यमा माओवादीले हतियार सरकारलाई बुझाएर सेना समायोजन गरी विशुद्ध राजनीतिक पार्टी बनेको छ ।
लोकतान्त्रिक परिपाटीबाट सत्ताको यात्रामा पुगेपछि पार्टीभित्र ‘जनयुद्ध’ र ‘सशस्त्र क्रान्ति’ को धारलाई निरन्तता दिने काम मोहन वैद्य किरणले गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्तिपूर्ण धारलाई पार्टीको आगामी राजनीतिक धार लिएपछि असन्तुष्ट पक्ष पार्टी फुटको दिशामा गए । पार्टीले हतियारको क्रान्तिलाई छाडेको ६ वर्षको अन्तरालमा पार्टी दुई टुक्रा मात्र भएन जनयुद्धको धार पनि बिस्तारै हराउँदै गएको छ । पुस महिनामा नेकपा माओवादीको काठमाडौंमा भएको महाधिवेशन र माघमा एकीकृत नेकपा माओवादीको हेटौंडामा भएको माहाधिवेशनलाई तुलनात्मक रूपमा हेर्दा अब सत्ता परिवर्तन वा प्राप्तिका लागि हतियार उठाउने वा जनयुद्धको धारबाट अगाडि बढ्ने कुरा सैद्धान्तिक पक्षमा मात्र सीमित बनेको छ ।
नेकपा–माओवादीले सत्ता प्राप्तिका लागि सशस्त्र क्रान्तिलाई विकल्पको रूपमा लिएको छ । पार्टीका अध्यक्ष मोहन वैद्य किरण अझै पनि आवश्यक परे बन्दुकको क्रान्ति गर्न पार्टी तयार भएको बताउँदै आएका छन् । पार्टीका अन्य नेताहरू सत्ता प्राप्तिका लागि जनतामाझ जाने तयारीमा छन् । तर, सत्ताको बागडोर सम्हालिरहेको एनेकपा माओवादीले भने हेटौंडामा सम्पन्न भएको महाधिवेशनसँगै जनयुद्धलाई पार्टीले सदाका लागि त्याग गरेको छ । हेटांैडा महाधिवेशनमा अन्तर्राष्ट्रिय समुदायले एनेकपा माओवादीबाट सशस्त्र क्रान्तिको पाटोलाई अँगाल्ने या नअँगाल्ने बारेमा ध्यान देखाएको थियो । तर, सशस्त्र क्रान्तिको धारलाई त्याग गरेपछि एमाओवादी जनताको जनमतबाट सत्तामा जाने अवस्थामा पुगेको सञ्चार विश्व समुदायमा पुगेको छ ।
दश वर्ष हतियारको क्रान्ति के थियो त ? माओवादीको रणनीतिभन्दा फरक पर्दैन । श्रीलंकामा तमिल टाइगर लिट्टेले तीन दशकभन्दा बढी हतियारसहित छुट्टै राज्यका लागि लड्यो । तर, अन्त्यमा सरकारले लिट्टे समूहलाई शक्तिविहीन बनायो । यी दुईबीचको बन्दुक उठाउने उद्देश्यमा फरक भए तापनि माओवादीले उठाएको बन्दुकको धारभन्दा बलियो पक्ष तत्कालीन समयमा नेपाली अर्थतन्त्र तथा समाजमा विद्यमान रहेका अनेक विभेदहरू थिए । जातीय नारा, पिछडा वर्ग, दलित, मधेसी, समान्तसमूह इत्यादि पक्षहरूलाई दर्बिलो रूपमा माओवादी पार्टीभित्र समावेश गर्नका लागि बन्दुक एक रणनीतिक पक्ष मात्र थियो । दोस्रो जनआन्दोलनपछि राजतन्त्रलाई सत्ताको पहुँचबाट हटाएपछि तत्कालीन माओवादी पार्टीलाई राजनीतिक मूलधारमा अन्य दलहरूले ल्याएको भनिए पनि दश वर्षसम्म हजारांै नेपाली जनताले बगाएको रगतको सपना भने पूरा हुन पाएन । भावनात्मक पाटोलाई छोड्दा माओवादी जनयुद्धबाट हतियारको बलमा सत्ता कब्जा गर्ने रणनीनिले ओतप्रोत भने थिएन ।

प्रतिक्रिया