आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै एकाइ

काठमाडौँ । आर्थिक अपराधको ग्राफ ह्वात्तै बढेसँगै नेपाल प्रहरीमा आर्थिक तथा वित्तीय अपराधको अनुसन्धानका लागि छुट्टै एकाइ स्थापना गरिएको छ । संगठित प्रकृतिको आर्थिक तथा वित्तीय अपराधको अनुसन्धान गर्न छुट्टै विशेष एकाइ गठन गरिएको हो ।

जघन्य प्रकृतिका तथा अन्तरदेशीय आर्थिक अपराधबारे अनुसन्धान गर्न गठन गरिएको यो एकाइलाई भावी दिनमा ब्युरो बनाउने गरी हाललाई काम सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए । प्रहरी प्रधान कार्यालयले १७ वैशाखमा आर्थिक अपराधको अनुसन्धान गर्ने भन्दै आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइ गठन गरेको हो ।

प्रवक्ता थापाका अनुसार आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोका लागि सहमति माग्दै गृह मन्त्रालयलाई पत्राचार गरिए पनि तत्कालका लागि एकाइ गठन गर्न गृहले अनुमति दिएको हो । उनले भने, ‘हाललाई एकाइमा एसएसपीको नेतृत्वमा १९ जना कार्यरत छन् । हाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मातहत राखिएको छ । आगामी दिनमा मन्त्रालयबाट दरबन्दी निकासा हुनेबित्तिकै छुट्टै ब्युरोका रूपमा राखिनेछ ।’ अहिलेका लागि एसएसपी होबिन्द्र बोगटीले यो एकाइको कमान्ड पाएका छन् ।

ब्युरोका लागि आवश्यक करिब साढे ३०० नयाँ दरबन्दीका लागि प्रहरीले गृहमा अनुरोध गरेको छ । नेपाल प्रहरीमा हाल २७ हजारभन्दा बढी जनशक्ति अभाव छ । सहकारी ठगी, चेक बाउन्स, आर्थिक अपराध, अनलाइन ठगी, अवैध कल बाइपासदेखि सुन तस्करीलगायत अपराधमा अनुसन्धान गर्ने छुट्टै निकायको आवश्यकता महसुस भएरै पहल अघि बढाएको प्रहरीले जनाएको छ । संगठन तथा व्यवस्थापन सर्वे (ओएन्डएम) भइरहेको आवश्यक विधि र जनशक्ति तयार पारेर स्थायी रूपमै ब्युरो स्थापना गरिने गृह मन्त्रालयले जनाएको छ ।

तीव्र गतिमा बढ्दै आर्थिक अपराधका घटना

प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार प्रविधिको बढ्दो प्रयोगसँगै बढिरहेको बैंकिङ ठगी र अरू आर्थिक अपराधको अवस्था एकदमै डरलाग्दो अवस्थामा छ । जनशक्ति र प्रविधिको अभाव झेल्दै आएको प्रहरीको दायित्व दिनानुदिन बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै आर्थिक अपराधका ९ हजार ९१३ वटा मुद्दा दर्ता भएका छन् । चालु आवको साउनदेखि चैत मसान्तसम्म दर्ता भएका मुद्दामा बिगोमात्रै २१ अर्ब ४४ करोडभन्दा बढी छ ।

सबैभन्दा बढी चेक बाउन्सका ९ हजार ८०६, हुन्डीका ३७, सहकारी ठगीका ६५ वटा, नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा १, कागजात वा बहिखाता सच्याई हानि नोक्सानी गरेका २ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक अपराधका घटनामा पक्राउ पर्नेमा महिलाभन्दा पुरुषको संख्या ५ गुणाले बढी छ । ९ महिनाको अवधिमा २ हजार ९७ जना पुरुष र ४५८ जना महिला पक्राउ परेको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्ष २०८०÷८१ मा देशभरका प्रहरी कार्यालयहरूमा आपराधिक घटनाका ५९ हजार २०३ वटा मुद्दा (जाहेरी) दर्ता भए । यी मुद्दामा सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित थिए । यस्ता मुद्दाको संख्या १३ हजार २६३ थियो । काठमाडौँ उपत्यकामा मात्रै ७ हजार ६६२ वटा मुद्दा दर्ता भएका थिए ।

पर्याप्त स्रोतसाधन र दक्ष जनशक्ति चाहिन्छ : हेमन्त मल्ल, पूर्वडिआइजी

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी

सरकारले नयाँ एकाइ तथा ब्युरो खोल्न दिएर मात्रै हुँदैन । असल निर्देशिका चाहिन्छ । राजनीतिक नेतृत्व फेरिनेबित्तिकै प्रहरीमा सरुवा गर्ने तथा अनावश्यक हस्तक्षेप गर्ने परिपाटीले समस्या छ । आर्थिक अपराधबारे बुझेर अनुसन्धान गर्न सक्ने गरी पर्याप्त स्रोतसाधनसहित दक्ष जनशक्तिको व्यवस्थापन गर्न जरुरी छ । आर्थिक अपराधको गतिको तुलनामा अनुसन्धान अधिकृतहरूको दक्षता सोभन्दा एक कदम अगाडि हुनु जरुरी छ ।

प्रतिक्रिया