२०–२५ वर्षसम्मको अवस्थालाई नियालेर हेर्दा गत वर्षहरूले म्युजिकल चेयरको खेल खेलाएर देशको आम्दानी मात्र होइन विदेशी ऋणको ठुलो बोझसमेत थपेर राजनीतिक गाईजात्रा गर्न मात्र खर्चेर निरीह जनतालाई मात्र ऋणको बोझ बोकाएको सत्य कुरो अब निरक्षर मजदुर समेतलाई ढाँट्न सकिँदैन ।
आजसम्मको अवस्थालाई हेर्दा यी अनगिन्ती पार्टीहरूको खिचातानीले देशलाई बाँदरको फौजमा रोटी जस्तै भयो । भागबन्डाको झगडामा फसेर देशको विकासभन्दा ज्यादा विनास भइरहेको छ । अब देश र जनता मात्र होइन, सबै पार्टीहरूको पनि कल्याण गर्ने हो भने सबै पार्टीहरू मिलेर राजतन्त्र बहाली गर्नुपर्छ । श्रीपेच जिम्मा (नासोको रूपमा) लिनेहरूले बेलायती मोडलमा राजसंस्था स्थापना गर्नुपर्छ । आजका अवसरवादी खेतालारूपी पार्टीहरूले सर्वसम्मतबाटै ३ वटा मात्र पार्टी बनाएर त्यहाँबाटै जनताले मन पराउने उच्च चरित्रवाला व्यक्तिहरूलाई मात्र छनोट गरेर मन्त्रीमा नियुक्ती गराउनुपर्छ ।
किनबेचबाट नेता कार्यकर्ता मन्त्री र उच्च पद कर्मचारी समेतको बहाली गर्ने गराउने क्यान्सर जस्तो रोगबाट यो विकासोन्मुख देश र समाजलाई गतिशील बनाउन पनि १५–२० वर्षे राष्ट्रिय योजना यस देशलाई अनिवार्य भइसकेको छ । जुन काम माओवादरूपी चीनले गरेरै देखाइदियो । गत २० वर्षमा चीनले गरेको प्रगतिप्रति संसार चकित भएर हेर्दै छ । राम्रा कुरा त मालिकले नोकरसँग सिक्नु पनि उचित हुन्छ । जुँगाको लडाइँ गर्दै समय खेर फाल्नेहरूको भविष्य दुर्योधनकै जस्तो हुँदैन र ? उसको लागि प्राण दिन कर्ण पनि विवस भएपछि दुर्योधनको तिघ्राको हड्डी भाँचिएको इतिहास साक्षी छ । खुकुरीबाट आर्जेको वस्तु तरबारले खोस्न नसकेपछि विरोधीले हार्छ । पद र पैसाका लागि आत्मा बेच्नेहरूबाट होसियार ।
अन्त्यमा यी माथिका गन्थन जुँगा पाल्नेहरूलाई अपाच्य हुनसक्ला । धर्म, नैतिकता र जन्मभूमिलाई ज्यूँदो राख्ने पौरखीहरू बाकी छौँ भने एउटै चौतारीको डबलीमा बसेर २० वर्षे योजनामा जार–साधु भए पनि एकै दस्तावेजमा सही गरेर संसारका हतियार व्यापारीबाट मुक्त भएर मातृभूमिलाई साझा फूलबारी बनाउँ ।
रामहरी बाजे विदुर–४ नुवाकोट
०००
किन लाग्दै छ ? राजा आउ, देश बचाउको नारा ?
देशको शासनसत्ता सञ्चालन शैलीसँग जनता खुसी छैनन् । सडकमा ओर्लेर ५ जनालाई सोध्ने हो भने ४ जनाले असन्तुष्टि व्यक्त गरेको देखिन्छ । यति मात्रै होइन अहिलेको व्यवस्थाभन्दा त राजतन्त्र नै ठिक भन्दै सडकमा उत्रनेको संख्यासमेत बढ्दै गएको छ । शासन व्यवस्था खराब होइन, शासन सत्ता सञ्चालक खराब हुन् भन्ने यथार्थ स्वीकार्न आमजनता अझै तयार छैनन् । किनकी ४० वर्ष मुनिका युवाहरूले अहिलेसम्म शासन सत्तामा पृथक व्यक्ति तथा पृथक शैली देखेका छैनन् ।
सधैँ एकै प्रकृति र प्रवृत्तिका व्यक्ति शासन सत्तामा पुगिरहने व्यवस्थालाई कसरी लोकतान्त्रिक भन्ने ? नयाँ पुस्ताले यो प्रश्न उठाउनुको मुख्य कारण हो, ‘राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभाव । हुन पनि २०५१ सालका गृहमन्त्री केपी शर्मा ओली अहिले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री छन् । २०५२ सालमै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा २०८३ साउनभित्र छैटौँपटक प्रधानमन्त्री बन्ने पाइपलाइनमा छन् । नेपाली इतिहासकै सबैभन्दा ‘महँगो’ राजनीतिक क्रान्तिबाट उदाएका पुष्पकमल दाहाल प्रचण्ड विगत ३७ वर्षदेखि माओवादी केन्द्रको नेतृत्वमा निरन्तर छन् । सुखभोगका लागि सत्तामा पुग्न जेसुकै गर्न पनि तयार गर्ने नेताका रूपमा प्रचण्डको छवी बनेको छ । विकल्प दिन्छु भनेर जनताको विश्वास जितेका रास्वपा सभापति रवि लामिछाने भ्रष्ट्राचारको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।
केन्द्रदेखि तृणमूल तहसम्मको सत्तामा खराब व्यक्ति पुग्ने शासन पद्धतिभन्दा राजतन्त्र कसरी गलत ? भन्ने प्रश्न उठिरहेका छन् । यी प्रश्नका सर्जक भनेका केबल सत्ता भोगको उद्देश्यले बाँचुन्जेल दललाई आफ्नो मुठ्ठीभित्र लिइरहने प्रवृत्ति बोकेका नेताहरू हुन् । अहिले राजतन्त्रजस्तो वंशगत शासन व्यवस्थाको पक्षमा जनलहर बढ्नुका कारक यिनै हुन् । दलहरू आफैँ लोकतान्त्रिक छैनन् भने तिनले लोकतान्त्रिक ढंगले शासन चलाउन सक्दैनन् । अहिले मुलुकमा यही भइरहेको छ ।
राजनीतिक दलको आधार भनेका विचार, संगठन र नेतृत्व हो । जसलाई संस्थागत बनाउन आन्तरिक लोकतन्त्र अपरिहार्य हुन्छ । दुर्भाग्यबस विचारले लक्ष्यलाई निर्देश गर्छ, संगठनले बल दिन्छ र नेतृत्वले गति दिन्छ भन्ने हेक्का दलहरूले राख्न सकेको देखिएन । देशको संविधान र कानुनले तोकेकै विधानअनुसार पार्टी चल्ने हुन् ।
नेपालमा पहिलोपटक पार्टीभित्र आन्तरिक लोकतन्त्रको व्यवस्था २०४७ सालको संविधानले गरेको हो । देशको संविधान र कानुनले तोकेकै विधानअनुसार पार्टी चल्नुपर्छ । तर विधानको संस्थागत अभ्यासमा नेताहरूले बेइमानी गर्दै आएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा भाग लिने मतदाताको सूची बहालवाला नेतृृत्वले स्वयंले तय गर्ने चलन हरेक पार्टीमा छ ।
पूर्णरत्न शिल्पकार, ज्वागल ललितपुर
प्रतिक्रिया