मूलभूत रूपमा निर्माण व्यवसायीहरू निकै पीडित छन् । एउटा पुल अथवा सडकको सवालभन्दा पनि समग्र विकासका पूर्वाधारहरूलाई हेर्नुपर्ने हुन्छ । यसरी समग्रमा हेर्दा चन्दा आतंक, दादा भत्ता, गुन्डा भत्ता र अन्य खालका आर्थिक आतंकले विकास कार्यलाई अवरोध पुर्याइरहेको छ । ठेकेदारहरूलाई जतासुकैबाट आर्थिक भार बोकाउने कार्यले एकातिर विकास निर्माण हुन दिँदैन भने अर्कातिर समयमै काम सम्पन्न हुन दिँदैन । उदयपुरको घटना एउटा उदाहरण मात्र हो सबैतिर यस्तै भइरहेको छ ।
जुनसुकै उद्देश्यले होस्– दादा भत्ता, गुन्डा भत्ता थाम्नै नसक्ने चन्दा आतंक गैरकानुनी हुन् । यस्ता कार्य गर्ने गराउनेलाई कानुन बमोजिम कारबाही हुनुपर्छ । तर, यहाँ कानुन मान्न लगाउने र मान्ने कोही छैन । यही कारणले हाम्रो देशको विकासले गति लिन नसकेको हो । जबसम्म राज्यले यस्ता अराजक र गैरकानुनी गतिविधि रोक्तैन तबसम्म ठेकेदारहरू निर्माण स्थलमा बस्न सक्तैनन् । जसले गर्दा विकासका काम पनि हुँदैनन् । विकास हुन नदिने यो खालको आतंक रोकिनुपर्छ ।
प्रतिक्रिया