प्रसिद्ध संविधानविद् र विश्लेषक कहलिएका प्राडा युवराज संग्रौलाले २०७४ पुस १८ गते अन्नपूर्ण दैनिक पत्रिकामा प्रकाशित अन्तर्वार्तामा सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भन्नुभएको थियो । उहाँले विगतमा नेपाल बाह्य दबाब र प्रभावमा परेर जतिसुकै जुनसुकै बखत विघटन र विखण्डन उन्मुख हुन लागेको विषय बारबार उजागर गरेका विचारहरू बारे यो लेखक भलिभाँती जानकार छ ।
तर संग्रौलाको हालै इमेज च्यानलमा दिएको परस्पर विवादित र भ्रमपूर्ण अभिव्यक्ति सुन्दा यो लेखक अचम्मित भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको विषयलाई नानी जन्माउन नसकेकी गर्भवती पत्नीलाई मारेको विषयसित उहाँले जोड्नुभएको रहेछ । तर युवराज संग्रौलाले नेपाल आमा नै मर्न लागेको किन के कारणले देख्नुभएन यो भने रहस्यमय देखिन्छ ।
संविधान त फेरि लेख्न सकिन्छ, संशोधन गर्न सकिन्छ तर देश गुमेपछि फेरि कलमका मात्र भरमा पुनः प्राप्त गर्न सकिन्न । संग्रौलका भनाइअनुसार आफू जत्तिको मान्छेलाई संविधान विघटन कुनै हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । यसमा कुनै आपत्ति गर्न मिल्दैन । उहाँभन्दा उपल्ला तहका न्यायमूर्ति तथा, पूर्वप्रधानन्याधीशले पदीय मर्यादा विपरीत सर्वोच्च अदालतलाई प्रभावित पार्न सुहाउँछ र मिल्छ भने पेसेवर वकिललाई नमिल्ने कुरै छैन । अझ कतिपय न्यायमूर्तिहरू नै आफू अनुकूलका कथित विवादास्पद मुद्दामा नै जिन्दावाद र मुर्दावाद गर्न खुल्ला सडकमा पदार्पण गरेको भद्दा दृश्य देख्नु परेकै छ ।
जननायक बिपी कोइरालालाई भारतीय शासकले हामीले भनेअनुसार माने प्रधानमन्त्री र राष्ट्रपति बनाइदिने लोभ देखाएका थिए तर कोइराला त्यस्ता तुच्छ लोभमा नपरेर नेपाल सिक्कीमीकरण हुनबाट जोगिएको तपाईंलाई थाहै छ । नेपाल एकीकरण कालदेखि हालसम्म बारबार भएका अनेक खालका षडयन्त्र र प्रलोभनमा नपरेको हुँदा देशको स्वाधीनता, स्वतन्त्रता र सार्वभौसत्ता सुरक्षित हुन सकेको हो ।
संग्रौला आफ्नो निर्भीक लेखकीय भूमिका कारण जुनसुकै बेला मारिन सक्ने स्वउद्घोष गर्नुहुन्छ भने यस देशको स्वाधीनता, स्वतन्त्रता र अखण्ड अस्तित्व रक्षाका लागि बिपी र मनमोहनभन्दा पनि खुल्ला र दृढ अडान राख्ने तत्कालीन प्रधानमन्त्री ओलीलाई कति खतरा होला ? नेका युवा नेताहरू चन्द्र भण्डारी र एनपी साउदसितको एक संक्षिप्त संवादमा तत्कालीन प्रधानमन्त्री ओलीले विशेष गरेर बाह्य शक्तिको अत्यन्त खतरनाक खेलको सुविचारित सम्भावनाको उल्लेख गर्नुभएको थियो ।
तर तपाइँहरू त भण्डारी र साउदजस्तै स्वतःस्फूर्त रूपमा देशको चिन्ता गरेर भेट्न र सर सहयोग गर्न जानुभन्दा मान मात्रै खोजेर बसेको त देखियो नि । यत्तिका प्रबुद्ध व्यक्तित्वलाई कर्तव्य र दायित्व निर्वाह गर्न कसैले सिकाउनुपर्ने भन्दा आफैँले महसुस गर्ने होला नि ? देशलाई संकट परेका बेला त्यसको साथी र सारथी बन्न सकिन्न त्यस्तो कानुन्ची पण्डितको माने र महत्व के कति होला र ? देश विघटन उन्मुख हुनलागेको बेला कोठामा घोत्लिएर पेसागत विषयका लेख मात्रै लेखेर बसेँ भन्दा भावी पुस्ताले के भन्ला ? तपाईंका भनाइअनुसार इतिहास बदल्न सकिँदैन होइन, कालो र भ्रमित इतिहास सच्याउनुपर्छ र सकिन्छ ।
इतिहास त रचना गर्न सकिन्छ, पुनर्लेखन पनि गर्न सकिन्छ । एक सत्यले हजार झुटलाई सत्यानाश पारिदिन्छ । महामना मोदनाथ प्रश्रित एक्लैले नेपाल नेपाली हुनुमा सर्वाधिक गर्व गर्नुपर्ने नेपाल एकीकरण र यसका मूल अभियन्ताको गरिमा बचाउनुभएको हो । यस विषयमा सुरुमा एक्लै भए पनि उहाँका पछि देश र देशवासी लागे । मनोगत भँडास व्यक्त गर्न र केही दिनको खपतका लागि लेख्ने बोल्ने कि देश र दुनियाँको हितका लागि खप्ने र टिक्ने कर्म गर्ने भन्ने सवाल महत्वपूर्ण हुन्छ ।
तपाईंले प्रधानमन्त्रीले आफ्नो पार्टी र जनप्रतिनिधिलाई होल्डिङ गर्ने क्षमता राख्नुपर्छ भन्ने उपदेश गरेको सुनियो । हो, होल्डिङ क्षमता भएकैले यति अवधिसम्म समस्या बल्झिन नसकेको हो तर तपाईंकै कुरा छरछिमेकीको उचालमा परेका तपाईंका सबै सन्तानले मान्लान् ? मानेका छन् र ? त्यसमा पनि यो त राजनीति हो । भावी राजा बन्ने दौडमा लागेका युवराजले र युवराजधिराजले आफ्नै बाबु र दाजु मारेको देख्नुभएको छैन ? त्यो पनि नेपालजस्तो सामरिक दृष्टिले अत्यन्त संवेदनशील मुलुकमा ।
जननायक बिपी कोइरालालाई भारतीय शासकले हामीले भनेअनुसार माने प्रधानमन्त्री र राष्ट्रपति बनाइदिने लोभ देखाएका थिए तर कोइराला त्यस्ता तुच्छ लोभमा नपरेर नेपाल सिक्कीमीकरण हुनबाट जोगिएको तपाईंलाई थाहै छ । नेपाल एकीकरण कालदेखि हालसम्म बारबार भएका अनेक खालका षडयन्त्र र प्रलोभनमा नपरेको हुँदा देशको स्वाधीनता, स्वतन्त्रता र सार्वभौसत्ता सुरक्षित हुन सकेको हो । विगतदेखि अनेक खालका नितान्त निजी स्वार्थका लागि देशलाई दाउमा राखी विखण्डन गर्न उद्यत नेताहरू अहिले पनि देखिन्छन् । यस्ता दुष्प्रवृत्ति विरुद्ध किन एक अक्षर लोख्नु बोल्नु हुन्न किन ?
संग्रौलाजी तपाईं भुइँको टिप्न गोजीको खसाउने जस्तो खालको कुरा गर्दै हुनुहन्छ । विगत र वर्तमानका योग्य, सक्षम र प्रभावशाली नेतालाई खुइल्याएर भोलि योग्य नेता जन्मिने आशा गर्दै हुनुहन्छ । मदन भण्डारीलाई बाँचुन्जेल एकरत्ति सकार नदेख्ने अहिले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्षका सकार उल्लेख नगर्ने हतोत्साहित गर्ने अनि फेरि भोलिकै मात्र आश मात्र गर्ने हो त्यस्तो भोलि कहिले आउला महाशय, वर्तमानको भ्रूणहत्या गरेर भविष्य जन्मिदैन वकिल साहेब ।
तपाईं जस्ता प्रबुद्ध व्यक्तिले पेसेबर वकिल नभई बहस गर्दा त ओली र उहाँका विरोधी दुवै पक्षका कमजोरी औँल्याउनुपर्ने होइन र । तपाईंले मान्छे मारेको र मरेको मात्रै देख्नुभएछ तर बलात्कार गर्ने दुष्प्रयत्न गर्दा मारेको तपाईं जत्तिको अन्तर्राष्ट्रिय कानूनका ज्ञाताले किन देख्नुभएन, के कारणले देख्नुभएन ? कारण नभई कार्य हुँदैन । तपाईंले घर भत्केको देख्नुभयो तर भत्काउने धुन्धुकारीलाई देखी देखी नदेखेको बहाना गर्दै हुनुहन्छ । उसलाई बहस गरेर बचाउन खोज्दै हुनुहुन्छ ।
तपाइँले प्रधानमन्त्रीले प्रतिनिधिसभामा अविश्वासको मतको सामना गरेर असफल हुँदा संसद् विघटन गर्न सुहाउँथ्यो भन्नुभएछ तर यसो गरेको भए तपाईं नै फेरि प्रधानमन्त्रीले राजीनामा गरेर अर्को सरकार बन्ने बाटो खोल्नुपथ्र्याे भन्नुहुन्थ्यो । किनकि न्यायका नौ सिङ हुन्छन् भन्ने संविधान र कानुनी कखरा जान्नेलाई पनि थाहा छ । बहुमत प्राप्त दल विभाजित नभएका अवस्थामा कसको र कुन दलको बहुमत हुन्थ्यो ? राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेको अर्थ, अन्तर्यचाहिँ किन देख्नु भएन । यस विषयमा प्रश्न गर्दा तपाइँ यो त काल्पनिक कुरा हो भन्नुहुन्छ । कतिपय मुद्दामा मनसायसम्म देख्ने विद्वान वकिलले वर्तमान राजनीतिक र संवैधानिक जटिलताको अन्तर्य देख्नसक्नुपर्छ र मात्र ऊ सामान्य मानिसभन्दा माथि हुन्छ ।
राष्ट्रपतिलाई महाभियोग लगाएर उपराष्ट्रपतिलाई कार्यबाहक राष्ट्रपति बनाएर नेपाली सेनामाथि आफ्नो छापामार शैलीको कमान्ड थोपर्ने विषय खुल्ला किताबसरह छ । बेसार भनेर चिनेपछि बारबार कोट्याइरहनुपर्छ र लयरसाब यत्ति सामान्य र सरल कुरा किन बुझ्न सक्नु भएन । थोरैले धेरैलाई प्रभावित गर्ने सामथ्र्यका तपाईं मिडियामा बारबार छाइरहने विश्लेषकहरू किन भ्रमहरू मात्र प्रवाह गरिरहनु हुन्छ ? व्यक्तिको भन्दा देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर किन बोल्न सक्नु हुन्न ।
विगतका सरकारका तुलनामा ओली सरकारले देश र जनताका हितका धेरै महत्वपूर्ण कामहरू गरेको थियो । अढाइ वर्षको अवधिमा सरकारले भूकम्प पीडित, बारा पर्साका सुनामी पीडित तथा प्रधानमन्त्री आवास योजनाअन्तर्गत जम्मा सात लाख घर निर्माण गरेर हस्तान्तरण गरेको आजसम्म नेपालमा कतै सुन्नु भएको थियो ? ज्यान जोखिममा पारेर तुइनबाट आवागन गर्न दूरदराजका विवश बाल, वृद्ध र वनिताको दुःख नेपाल, दाहाल र खनाल प्रधानमन्त्री हुँदा किन देखेनन् ? किनकि भात मात्र हेर्नेले भविष्य देख्दैनन् । भविष्य हेर्नेहरू भातको मात्र चिन्ता गरेर बस्दैनन् ।
अहिले १ सय ४२ वटा तुहिन मध्ये १ सय २५ वटा तुइिन विस्थापित भएका गाउँमा जानुभयो भने तत्कालीन ओली सरकरको वास्तविक लोकप्रियता थाहा पाउनुहुनेछ । केही सीमित सहरिया फेक र पेड न्युजका भरमा सरकारको लोकप्रियता जाच्ने धृष्टता नगर्नु होला । जहाँ जहाँ जुनजुन क्षेत्र, गाउँ, सहर र ठाउँहरूमा सरकारले काम गरेको छ त्यहाँ गएर मात्र वास्तविकता थाहा हुन्छ । तर ती ती क्षेत्रका जनताका वास्तविक आवाजहरू तपाईं हामीहरू बोल्दैनौँ । कम्तीमा आवाजविहीनको आवाज बोलिदिनुहोस् । विगत लामो समयदेखि मुर्छित बनेका जनताका सपनाहरू बैरिन लागेका बखत त्यसमा पानी खन्याउने दुस्साहस नगर्नुहोस्, आफ्ना लागि नभए पनि भावी सन्ततिका लागि सही सत्य बोल्नुहोस् ।
तपाईंको बोलीमा आग्रह पनि देखियो । एक सल्लाहकारले तत्कालीन प्रधानमन्त्री ओलीलाई सेलिब्रिटी भनेकामा घोर आपत्ति गर्नु भएछ, तर सेलिब्रिटी शब्दको एउटै अर्थ र आशय हुन्छ र ? एउटै शब्दको समय, सन्दर्भ र प्राविधिक रूपमा अनेक अर्थ हुन्छन् । तर यसलाई सिनेमा जगत्मा प्रयोग गरिएको भनेर हेलाहोचो गर्न मिल्छ ? श्रोता, पाठक र सभामा सहभागीको स्तर हेरेर तदनुसार बोधगम्य भाषा र शैलीको प्रयोग गर्नुपर्छ । तपाईंले सुवास नेम्बाङ र अग्नि खरेललाई पनि संसद् विघटन बारे थाहा नभएको ज्योतिषवाणी बोल्नुभएछ ।
तर आसन्न दुर्घटना देखेर आपत्कालीन द्वार खोलेर घरपरिवारको बचाव गर्न छाडेर हात बाँधेर घरसल्लाह गरेर बस्नु बुद्धिमानी हुन्छ ? तपाईंले संविधानमाथि प्रहार गरेको देख्नुभयो तर विगतदेखि देशमाथि गर्न खोजेको नजिर देख्नु भएन ? बल्लबल्ल बनेको स्थायी सरकार र स्थिर राजनीतिलाई अस्तव्यस्त पारेपछि अर्को सरकार दुई वा दुईभन्दा बढी दल मिलेर मात्र बन्नसक्छ ।
त्यस्तो अवस्थामा विगतमा भए जस्तै सांसद खरिदबिक्री सम्मको अत्यन्त अराजनीतिक भद्रगोल उन्पन्न हुने अवस्था टड्कारो देखिन्थ्यो । तर उपर्युक्त घटना र परिघटना पछाडि नेपालको आन्तरिक कारण प्रबल देखिए पनि बाह्यशक्तिको राप, ताप महत्वपूर्ण कारण रहेको स्पष्ट हुन्छ । नेपालको दरबार, घरबार र प्रमुख पार्टीभित्रका आन्तरिक अन्तर्विरोधमा खोलेर त्यहाँ भ्वाङ प्वाल पारेर ध्वंश गर्ने र देशमा नै गम्भीर संकट ल्याउने दुर्नियत पहिलेदेखि अहिलेसम्म जारी छ । यस अवस्थामा यस्ता संवेदनशील गतिविधिहरूका बारेमा बौद्धिक समुदायविशेष रूपमा सचेत र सावधान हुनु अपरिहार्य देखिन्छ ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार थिएन र छैन भने संविधानको भाग ७ धारा ७४ को शासकीय स्वरूपअन्तर्गत संसदीय शासन प्रणाली हुनेछ भन्ने पदावली किन राखियो ? यसले विशेष परिस्थितिमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ भन्ने आममान्यता स्पष्ट हुँदैन र । संविधानको धारा ८५ को १ मा अगावै विघटन भएबाहेक पाँच वर्ष प्रतिनिधिसभाको अवधि हुनेछ भनिएको छ ।
अगावै शब्द उल्लेख गर्दा कुनै प्रतिबन्धात्मक धारा, दफा, उपदफा र स्पष्टीकरण किन दिइएन बताउन सक्नुहुन्छ ? यसले प्रतिनिधिसभा विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहित हुने देखिन्छ । त्यसैगरी संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ ले पनि प्रतिनिधिसभा विघटन हुन्छ भनेर परिकल्पना गरेको देखिन्छ । उक्त ऐनको दफा ३ को उपदफा २ मा संसद् विघटन भएमा त्यसपछि पाउने पारिश्रमिक नपाउने तर थप एक महिनाको पारिश्रमिक बराबरको रकम दिइने स्पष्ट उल्लेख गरिएको देखिन्छ ।
प्रतिक्रिया