कसरी रोक्ने विषादी आँपको आयात ?

नेपालको तराई क्षेत्रमा जेठको अन्तिम सातादेखि र पहाडी क्षेत्रमा असारको अन्तिम सातादेखि आँप पाक्न सुरु हुन्छ । तर बजारमा भने गत वैशाखदेखि नै आँपको सिजन सुरु भइसकेको छ । आँप पाक्ने सिजनभन्दा बजारमा पाकेको आँप पाइने सिजन एक महिनाअघि नै सुरु हुनुको कारण स्पष्ट छ । काँचो आँप टिपिन्छ र विभिन्न रसायन ( औषधि) हालेर पकाइन्छ । आँप पकाउनका लागि प्रयोग गरिने कतिपय औषधिहरू मानव स्वास्थ्यका लागि निकै हानिकारक छन् । त्यसैले यस्ता औषधि आयातमा नेपालले प्रतिबन्ध लगाएको छ । तर भारतमा यस्ता औषधि प्रतिबन्धित छैनन् । वैशाख जेठमा नेपाली बजारमा बिक्री हुने पाकेका आँपहरू भारतबाट आयात भएका हुन् । भारतबाट आएका आँपहरूमा विषादी परीक्षण गर्ने प्रबन्ध नेपालमा छैन । धनीहरूले त नियमति रूपमा आँप किनेर खाने नै भए, गरिबहरूले पनि बिरामी परेका बेला आँप खाने गर्छन् ।

सय ग्राम आँपमा ९२ क्यालोरी प्राप्त हुने भएकोले र अरू पोषक तत्व पनि भरपुर पाइने भएका कारण बिरामी परेर भरखरै तंग्रदै गरेकाहरूले पनि आँपको सेवन गर्छन् । आँप बोटमा नै पाकेर पनि खान सकिन्छ । तर, बोटमै पाक्नु भन्दा १५ दिनअघि आँपलाई टिपेर भण्डार गर्दा पनि एक साताभित्र आफैँ पाक्छ । आँपलाई प्राकृतिकरूपले पाक्न दिएर खान सकियो भने अमृत पनि हो । त्यसैले आँपलाई फलफूलको राजा पनि भन्ने गरिन्छ ।

अमृत ठानेर सेवन गरिने आँपले थप बिरामी बनाएका धेरै उदाहरणहरू छन् । जेठको अन्तिम साताभन्दा अघि बजारमा पाइने आँपहरू सुरक्षित छैनन् । भारतबाट आएका सबैजसो आँपमा विषादी हालेर ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको हुन्छ । जुन मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालको हुने चिकित्सकहरू बताउँछन् । नेपालमा व्यावसायिक आँप खेती सुरु भएको धेरै दशक बितिसकेको छ । तर अहिले पनि नेपालको बजारमा स्वदेशी आँपको हिस्सा २० प्रतिशतभन्दा बढी नाघ्न सकेको छैन । आँप आयातका लागि बर्सेनि अर्बौं रुपैयाँ बिदेसिने गरेको छ । आँपका नाममा रोग आयात भइरहेको छ । विषादी प्रयोग गरिएका आँप रोक्न सीमामा सामान्य क्वारेन्टाइन चेकजाँचसमेत गरिएको छैन । विदेशबाट आयातित कृषि उपजको विषादी परीक्षण गर्ने सरकारको तयारी वीरबलको खिचडी भन्ने उखानजस्तै बनेको छ ।

नेपालको बजारमा वर्षभरी कति आँप खपत हुन्छ ? भन्ने एकीन तथ्यांक छैन । राजधानी काठमाडौंको कालिमाटी–कुलेश्वर फलफूल थोक बजारबाट दैनिक एक सय टन आँप बिक्री हुन्छ । यस हिसाबले राजधानी काठमाडौंमा मात्रै वार्षिक चार अर्ब रुपैयाँ बराबरको आँप खपत हुने अनुमान लगाउन सकिन्छ । प्रर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालमा आँप खेतीको विकास र बिस्तार हुन नसक्नु ज्यादै ठूलो दुर्भाग्य हो । आँप निर्यातबाट आर्थिक समृद्धि हासिल गर्ने भाषण हाम्रो देशका नीति निर्माणतहमा रहनेहरू गर्छन्, तर व्यवहारमा भने करिब ८० प्रतिशत आँप विदेशबाट आयात हुन्छ । अन्य देशहरूले एक वर्षमा दुईपटक फल्ने उन्नत जातका आ“प विकास गरिसकेका छन् । वर्षको सबै महिना आँप फल्ने प्रविधिको विकास गरिसकेका छन् ।

छिमेकी देश भारतले समेत हरेक वर्ष अत्यन्त राम्रो फल दिने उन्नत जातका आँप विकास गरिसकेको छ । तर नेपालमा भने दुई वर्षमा एकपटक फल दिने आँप लगाउन किसान वाध्य छन् । एक वर्ष उत्पादन लिइएको बोटबाट अर्को वर्ष उत्पादन लिन नसकिने समस्या अहिले पनि ज्युँका त्युँ छ ।

प्रतिक्रिया