कसरी डुब्दै छ सिंहदरवार वैद्य खाना ?

सिंहदरबार वैद्यखानाका कर्मचारीले विगत तीन महिनादेखिको तलब पाएका छैनन् । वैद्यखानाका अनुसार कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकिएको हो । मन्त्रालयले पनि कारखानाले आफैँ कमाएर खानुपर्छ भनेको छ, कर्मचारीले भने काम गर्न मन नै लगाएका छैनन् । शिलाजीत र च्यवनप्रास बेचर हालै १० लाख रुपैयाँ पैसा जम्मा भएकाले केही दिनमा तलब खुवाउने तयारीमा रहेको जानकारी वैद्यखानाले दिएको छ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखानाले विगतमा विगतमा दैनिक सरदर एक लाख रुपैयाँको औषधि बिक्री गथ्र्यो, तर अहिले दैनिक सरदर दुई हजार रुपैयाँको औषधि बिक्री गर्छ । वैद्यखानामा ५० जना जति कर्मचारीहरू छन् ।

मासिक २५ देखि ३० लाख रुपैयाँसम्म कर्मचारीको तलबमा मात्रै खर्च हुने गर्छ । आर्थिक वर्ष ०७४÷७५ मा ५ करोड ३४ लाख रुपैयाँको औषधि बिक्री गरेको वैद्यखानाले गत आर्थिक वर्ष जम्मा गत आर्थिक वर्षमा २ करोड ६८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको थियो । चालु आर्थिक वर्ष त उत्पादन स्वाठ््ठै घटेको छ । जनशक्ति तथा कारखानाको संरचना दुरुस्त रहे पनि औषधि उत्पादन गर्न नसक्नु र कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्थामा वैद्यखाना पुग्नुको रहस्य भनेको बन्द गराउने प्रपञ्चबाहेक केही होइन ।

सरकारले देशभरीका आयुर्वेद औषधालयमा वार्षिक १० करोड रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गर्छ । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाको उत्पादन खरिद गरी वितरणको प्रबन्ध मिलाउने हो भने पनि यो हालत हुँदैन । तर अन्य कम्पनीका गुणस्तरहीन औषधि खरिद गर्दा पर्याप्त कमिसन आउने भएका कारण स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको रोजाइमा सिंहदरबार वैद्यखाना पर्दैन । किनकी सरकारी स्वामित्वको कम्पनी भएका कारण गुणस्तरमा संझौता गर्न वैद्यखानालाई सजिलो छैन ।

पछिल्लो समयमा नेपालमा आयुर्वेदिक औषधि तथा टोनिकको माग ह्वात्तै बढेको छ । आयुर्वेद औषधिका पारखीहरूले सकेसम्म वैद्यखानाकै उत्पादन खोज्छन्, तर बजारमा पाइँदैन । उदाहरणका लागि कोरोनाकाल यता नेपालमा सबैभन्दा बढी खपत हुने आयुर्वेदिक उत्पादन भनेको च्यावनप्रास हो । सिंहदरबार वैद्यखानाले उत्पादन गर्ने च्यावनप्रास विश्वकै उत्कृष्ट मानिन्छ । तर बजारमा खोज्दा पाइँदैन । नेपाली बजारमा भारतका डाबर, पतञ्जली र झण्डुका च्यवनप्रासको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । च्यवनप्रास मात्रै उत्पादन गरेर बेच्ने हो भने पनि वैद्यखाना नाफामा जाने अवस्था छ । तर विभिन्न बहानामा उत्पादन गर्न छाडिएको छ ।

कुनै बेला १ सय ५० प्रकारका औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना पछिल्लो समयमा ११ थरिका औषधि उत्पादनमा सीमित भएको थियो, तर अब त्यो पनि सकिँदै छ । सिंहदरबार वैद्यखाना त उदाहरण मात्रै हो । नेपाली जडीबुटीहरू कौडीको भाउमा भारत निकासी हुने र त्यही जडिबुटीबाट बनेका महँगा औषधिहरू नेपालमा आयात हुने दुश्चक्र झन् झन् बढ्दै गएको छ । स्वदेशमै कच्चा पदार्थ पाइने, स्वदेशी जनशक्ति प्रयोग गर्न सकिने उत्पादनका क्षेत्रहरू नेपालमा अत्यन्त सीमित छन् । त्यही सीमित मध्येको हो आयुर्वेदिक औषधि तथा टोनिक उत्पादन ।

आयुर्वेदिक उत्पादन नेपालको ब्रान्डसमेत हो । तर मुलुकका नीति निर्माण तहमा बस्नेहरू भारतका ठूला कम्पनीको एजेन्डजस्ता बनिदिए । नागरिक समाजका तर्फबाट पनि आयुर्वेदिक क्षेत्रमा दबाब पुग्न सकेको देखिएन । सरकारी कर्मचारीहरू आयुर्वेदिक औषधि खरिदमा गर्ने गरेको घोटलाका विषयमा मिडियाहरूले पनि ध्यान दिन सकेका छैनन् । समस्या कहाँनिर छ भने उदाहरणका लागि एउटा आयुर्वेदिक औषधि उत्पादन गर्न ५० थरी रसायन चाहिन्छ । त्यसमध्ये ४९ वटा रसायन ज्यादै सस्तोमा पाइन्छ, एउटा रसायन ज्यादै महँगो पर्छ । महँगो रसायन ज्यादै न्यून समावेश गरिदिने स्वास्थ्य मन्त्रालयका कर्मचारीबाट मोटो रकम कमिसन लिने धन्दा आयुर्वेदिक औषधि उत्पादनको क्षेत्रमा निकै फष्टाएको छ ।

प्रतिक्रिया