नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै एक सातादेखि देशका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघसंस्थाले भ्रष्टाचार विरुद्धको यो अभियानलाई तीव्रता दिइरहेका छन् । यो अभियानमा दिन गनेर जनसहभागिता बढिरहेको छ । नागरिकस्तरबाट भएको यही दबाबका कारण पनि प्रहरीले थप अभियुक्तहरूलाई पक्राउ गरेको हो । आफ्नो हालसम्मको गतिविधिमाथि औंला ठड्याउनुपर्ने ठाउँ प्रहरीले खासै दिएको देखिँदैन । तर प्रहरीको गतिविधिमाथि औँला ठड्याउने ठाउँ उत्पन्न भयो भने नागरिक स्तरको भ्रष्टाचार विरोधी आन्दोलन नियन्त्रण बाहिर जाने संभावनालाई नजरअन्दाज गर्न सकिन्न । यतिबेला अभियान्ताहरू ‘भ्रष्टाचारी धपाउँ, लोकतन्त्र जोगाउँ’ भन्ने मुख्य नाराका साथ सडकमा उत्रिएका छन् ।
यदि भ्रष्टाचार नियन्त्रणमा राज्यद्वारा ठोस कदम चाल्न नसक्ने हो भने प्रतिगामी शक्तिको कब्जामा सडक पुग्नसक्छ । त्यो बेला अपहरण हुने भनेको लोकतन्त्र हो । विश्वका अन्य देशको उदाहरण हेर्ने हो भने पनि भ्रष्टाचारकै कारण लोकतन्त्र गुमेको देखिन्छ । जननिर्वाचित नेताहरूले भ्रष्टाचार गरेकै कारण प्रतिगामी शक्तिको पुनरुत्थान भएको देखिन्छ । नेपालकै सन्दर्भमा पनि पूर्वराजाको पक्षमा यतिबेला जनसमर्थन बढेको देखिएको छ । पुनर्वहालीका लागि पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता यतिबेला ह्वात्तै बढेको देखिएको छ ।
यतिबेला जल्दोबल्दो रूपमा उठेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्ने हो भने पनि भ्रष्टाचारको जरोसम्म नेपाल प्रहरी पुग्न सक्ला भन्ने कुरामा जनता ढुक्क छैनन् । यो प्रकरणको चुरो प्रहरीलाई थाहा नभएको होइन, तर मुख्य अभियुक्तलाई पक्राउ गर्ने सामाथ्र्य प्रहरीको छैन कि, भन्ने आशंका सिर्जना भएको छ । यो घटनाको मुख्य चुरो भनेकै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठन गरिएको कार्यदल हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र गृहमन्त्रालयका तत्कालीन सचिव प्रेम राईको सक्रियतामा यो कार्यदल गठन भएको हो । यो कार्यदललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो । यो कार्यदलले नै नेपाली नागकिलाई भुटानी शरणार्थी भन्दै आफ्नो प्रतिवेदनमा नाम समावेश गरेको अनुसन्धानबाट खुलिसकेको छ । कार्यदल गठन नै बदनियतपूर्ण छ भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । त्यसमाथि पनि कार्यदलमा मानव तस्करीको पृष्ठभूमि भएकाहरूलाई सदस्य बनाइएको छ । त्यसैले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री थापा बादल, तत्कालीन गृहसचिव प्रेम राई लगायतको बयान नलिँदासम्म यो प्रकरणको छानविनले पूर्णता पाउने संभावना छैन ।
कार्यदलका संयोजक पन्थीसँग वयान लिएर प्रहरीले राम्रो गरेको छ । बादल पछिका गृहमन्त्री बालकृष्ण खाणलाई नियन्त्रणमा लिएर प्रहरीले राम्रो गरेको छ । खाणको पालाका गृहसचिव टेकनारायण पाण्डेले धेरै रहस्य खोलिसकेका छन् । तर यो कार्यदल किन र केका लागि गठन गरिएको हो ? यो कार्यदलमा शरणार्थी समस्याको विषयमा थाहै नभएका संदिग्ध चरित्रका व्यक्तिहरूलाई किन राखिएको हो ? भन्ने प्रश्नको उत्तर विनाछानविन असंभव हुन्छ । अहिलेसम्म पक्राउ गरिएका र अभियुक्त बनाइएकाहरूको वयानबाट यो प्रश्नको उत्तर आउ“दैन । यो प्रश्नको उत्तर आउने भनेकै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री थापा बादल, तत्कालीन गृहसचिव प्रेम राईबाट हो । यदि यी तीन जना पात्र इमानदार हुन् र अनुसन्धानमा सहयोग होस् भन्ने उनीहरू चाहान्छन् भने तुरुन्त पत्रकार सम्मेलनमार्फत यो कार्यदल किन र केका लागि गठन गरिएको हो ? यो कार्यदलमा शरणार्थी समस्याको विषयमा थाहै नभएका संदिग्ध चरित्रका व्यक्तिहरूलाई किन राखिएको हो ? भन्ने प्रश्नको उत्तर दिनुपर्छ ।
प्रतिक्रिया