सुशासनको हरियो बत्ती

राष्ट्रपति रामचन्द्र पौडेललेले स्वास्थ्य उपचार खर्च आफैँले बेहोर्न चाहेको जनाएका छन् । उनको यो चाहनालाई जनताले स्वागत गरेका छन् । राष्ट्रपति पौडेलको यो चाहनामा मन्त्रिपरिषद् बाधक बनेन भने देशका लागि अत्यन्त शुभ लक्षण हो । हुन त राष्ट्रपति पौडेल स्वदेशमै उपचार गर्न चाहेको तर चिकित्सक तथा सरकारको जोडबलका कारण भारत जानुपरेको आशयको विज्ञप्ति राष्ट्रपतिको निजी सचिवालयले जारी गरेको थियो । अहिले जारी गरिएको उपचार खर्चसम्बन्धी विज्ञप्ति पहिलेको जस्तो काइते पो हो कि ? भन्ने प्रश्न भने यथावत छ । यदि राष्ट्रपति पौडेलको यो चाहना पूरा भयो भने देशका लागि अत्यन्त राम्रो नजीर बस्नेछ । ठूलाबडाहरू स्वास्थ्य उपचारमा नाममा देशको ढुकुटी दोहन गरी विदेश जाने परम्पराको अन्त्य हुनेछ । किनकी सत्तासीनहरू आफ्नो निजी सम्पत्ति खर्च गरी हत्तपत्त विदेश जाँदैनन् । उनीहरू उपचारका लागि विदेश नगएपछि देशभित्रका अस्पतालहरू व्यवस्थित हुन थाल्छन् ।

असई थमन विकको हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । उनलाई पक्राउ पूर्जी दिने तयारी गरिएको छ । नेपाली नागरिकतालाई नक्कली शरणार्थी बनाएर अमेरिका पु¥याउने गिरोहका सहयोगीहरू धमाधम पक्राउ परेका छन् । पहुँचवाला सहयोगीहरूलाई पनि पक्राउ पूर्जी जारी गरिएको छ । प्रकरणका अभियुक्त डा. इन्द्रजीत राई पक्राउ परेका छन् । उनी तत्कालीन गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पनि थिए ।

गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि यही अभियोगमा पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा तत्कालीन टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरालाई पनि पक्राउ पूर्जी जारी गरिएको समाचार आएको छ । यो प्रकरणका करिब एक दर्जन अभियुक्त यसअघि नै पक्राउ परिसकेका थिए । सांसद कोइरीको निलम्बन तथा नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको पक्राउले मुलुकमा कानुन क्रियाशील छ, सरकारको अस्तित्व बाँकी नै छ भन्ने सन्देश जनतामा प्रवाह भएको छ । यो संदेशलाई सुशासनको हरियो संकेतका रूपमा लिनुपर्छ । अपराधीहरूले राज्य संयन्त्र दुरुपयोग गर्ने स्थितिको जबसम्म अन्त्य हुन्न तबसम्म सुशासन कायम हुन सक्दैन ।

विशेष कारणवस मुलुकको आर्थिक अवस्था यतिबेला जर्जर छ । परिस्थिति संहालियो भने पनि पूर्ववत अवस्थामा आउन अझै चार । पाँच वर्ष लाग्ने अवस्था छ । यो अवस्थामा आर्थिक विकास तथा समृद्धिको माध्यमबाट जनताको चित्त बुझाउन जादुको छडीबाहेक अर्को उपाय छैन । जनतालाई चित्त बुझाउने भनेको सुशासनको माध्यमबाट हो । ‘देशमा भ्रष्टाचार घटेको छ, अपराध न्यूनीकरण भएको छ, दल तथा नेताहरू सच्चिएका छन्’ भन्ने सन्देश जनतामा दिनु जरुरी छ । होइन भने आर्थिक समृद्धि तथा विकासको कायपलट गर्ने नारा दिएर जनतालाई भुक्याउनेहरू सफल हुनेछन् । कहिले माओवादीको आवरणमा र कहिले राष्ट्रिय स्वतन्त्र पार्टीको आवरणमा जादुको छडी आफूसँग भएको भन्दै जनतालाई झुक्याउने काम भइरहेको छ । जनता यसरी कतिन्जेल झुक्किने ? राष्ट्रपतिको सचिवालयबाट आएको पछिल्लो विज्ञप्ति तथा शान्ति सुरक्षा कायम तथा ठगी नियन्त्रणका सन्दर्भमा आएका पछिल्ला समाचार उत्साहजनक छन् ।

यो उत्साहलाई अझ बढाउने हो भने अयोग्य लडाकुका नाममा जनही दुई लाख रुपैयाँ बाँड्न गरिएको निर्णय सरकारले यथाशीघ्र फिर्ता लिनुपर्छ । नगद बाँड्नुको सट्टा त्यही रकमले रोजगारमूलक ‘स्किम’ ल्याउनेतर्फ सरकारले सोच्नुपर्छ । शान्ति सुरक्षा कायम तथा ठगी नियन्त्रणका सन्दर्भमा राज्य संयन्त्रले चालेको यो पछिल्लो कदमलाई प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले पनि साथ दिनुपर्छ । आफ्ना पार्टीका नेता तथा सांसद परे भन्दैमा एमालेले राजनीतिक मसला बनाउनु हुँदैन । यसो ग¥यो भने एमाले स्वयंलाई घाटा हुन्छ । किनकी एमालेका नेताको ७० करोड प्रकरणका कारण रास्वपा भित्रको दुई करोड प्रकरणलाई जनताले चासो नदिएको नजीर भरखरै सम्पन्न उपनिर्वाचनमा देखिएको छ ।

प्रतिक्रिया