बिदा कटौतीको स्वागतयोग्य तयारी

वर्षभरीका ३ सय ६५ दिनमध्ये १ सय ७० दिन सरकारी बिदा दिएर मुलुक कसरी उँभो लाग्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा घटाउने तयारी थालिएको बताएका छन् । धेरै बिदाका कारण सरकारी सेवा प्रवाहित भएकोले कटौतीको तयारी गरिएको उनले जनाएका छन् । मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले बिदा कटौतीबारे मन्त्रिपरिषद्मा छलफल थालिएको बताएका हुन् । हुन पनि तीन वटै तहका सरकारले दिने सार्वजनिक बिदा जोड्ने हो भने वर्षभरी सरकारी कार्यालय खुल्ने दिनभन्दा बन्द हुने दिन बढी हुन्छ । चालु वर्ष ०७९ का लागि संघीय सरकारले निर्धारण गरेको बिदाको सूची हेर्ने हो भने चाडपर्व बिदा मात्रै ४७ दिन छ । ५२ दिन साप्ताहिक बिदा भइहाल्यो । त्यसबाहेक कर्मचारीहरूले प्रत्येक वर्ष ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा, ६ दिन भैपरी बिदा र ६ दिन पर्व बिदासमेत पाउ“छन् । समुदायविशेष र स्थानविशेषमा थप १९ वटा बिदा छन् । त्यस बाहेक सुत्केरी बिदा, क्रिया बिदा पनि छ । यसरी सबै बिदाको हिसाब गर्दा एक वर्षमा सालाखाला १ सय ७० दिन हुँदो रहेछ । वर्षभरीका ३ सय ६५ दिनमध्ये १ सय ७० दिन सरकारी बिदा दिएर मुलुक कसरी उँभो लाग्छ ? प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खपतका लागि मात्रै भनेका हुन् भने छुट्टै कुरा होइन भने उनले आफ्नो भनाइलाई कार्यान्वयनमा ल्याउनै पर्छ ।

पञ्चायतकालमा सुरु गरिएको अन्धाधुन्ध सरकारी बिदाको प्रचलन ०४६ सालको परिवर्तनपछि कटौती गरिएको थियो, तर ०६३ सालको परिवर्तनपछि पहिचान तथा अधिकारका नाममा त्यो विकृतिलाई पुनर्जीवित गरियो । बेइमानी यही“निर भएको हो । पञ्चायतकालमा राजाको जन्मोत्सवमा तीन दिन, रानी र राजाकी आमाको जन्मोत्सवमा एक/एक दिन, राजाका बाबु र राजाका बाजेको जन्मजयन्तीमा एक/एक दिन बिदा दिने चलन थियो । पृथ्वी जयन्तीमा त यसै पनि बिदा भइहाल्यो । यसैगरी राजारानीले छोरा छोरी पाउँदा, राजपरिवारमा विभिन्न समारोह हुँदा पनि सरकारी बिदा दिइने चलन थियो । यो विकृति ०४६ सालको परिवर्तनपछि हटेको थियो । तर ०६३ सालको परिवर्तनपछि हरेक जाति तथा समुदायका पर्वहरूमा सरकारी बिदा थपियो । देशको कति प्रतिशत जनसंख्याले मनाउने पर्व हो ? भन्ने हेक्कासमेत नराखी धमाधम सार्वजनिक बिदा दिनु कुनै पनि कोणबाट उचित थिएन । पाँच प्रतिशतभन्दा कम जनसंख्याको पर्व हो भने संबन्धित जाति तथा समुदायलाई मात्रै बिदा दिँदा भइहाल्थ्यो । अर्को कुरा गौरा पर्वमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिइए जस्तै उँधौली तथा उभौली पर्वमा प्रदेश–१ मा मात्रै बिदा दिने गरी नीति बनाउन पनि सकिन्थ्यो ।

प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, सहिद दिवस, संविधान दिवस, पृथ्वी जयन्तीजस्ता राजनीतिक पर्वहरू बिदा दिएर मनाउनुभन्दा उत्सव गरेर मनाउनु उपयुक्त हुन्छ । किनकी यी राजनीतिक पर्व जनताका घरका पर्व होइनन् । क्यालेन्डर अनुसार दिइने बिदाले मुलुकको अर्थतन्त्रमा खासै ठूलो असर पुर्याउँदैन । पूर्वनिर्धारित बिदाको समयमा के गर्ने ? भन्ने योजना कर्मचारीहरूले बनाइसकेका हुन्छन् । सरकारी सेवाग्राहीले पनि त्यहि अनुसारको योजना बनाएका हुन्छन् । तर अचानक दिइने बिदाले भने मुलुकको अर्थतन्त्रमा ठूलो असर पुर्याउँछ ।

यही जानेर नै भारतका तत्कालीन राष्ट्रपति अब्दुल कलाम आजादले आफ्नो मृत्युमा सार्वजनिक बिदा नदिन सरकारलाई आग्रह गरेका थिए । केही महिनाअघि आफ्नी महारानीको मृत्यु हुँदा पनि बेलायतले सार्वजनिक बिदा दिएन । तर नेपालमा भने विमान दुर्घटना हुँदासमेत सरकारी बिदा दिने विकृति आरम्भ गरिएको छ । बिदाको संख्या धेरै हुँदा देशको राष्ट्रिय उत्पादनमा धेरै नै प्रतिकूल प्रभाव परेको हुन्छ । बिदाको दिन ज्यालामा काम गर्ने मजदुरले आफ्नो तलब गुमाउ“छ भने तलबमा काम गर्ने कर्मचारी रहेको व्यवसायमा बिदाको दिन उत्पादन शून्य भए पनि कर्मचारीको तलब–विद्युत् लगायतको महसुल नियमित तिर्नैपर्छ, जसका कारण उत्पादनको लागत बढ्न जान्छ । यसको मार खेप्ने भनेको सर्वसाधारण जनताले नै हो ।

प्रतिक्रिया