काठमाडौँ । लाप्चे तामाकोसी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न ४ वाणिज्य बैंकले सम्झौता गरेका छन् । एनएमबी बैंकको अगुवाइमा नबिल बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेस्ट बैंकले विगु गाउँपालिका, दोलखामा रहेको लाप्चे तामाकोसीमा ऋण लगानी गर्न डायनामिक हाइड्रो इनर्जी प्रालिबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोसी आयोजनाको अनुमानित लागत ७ अर्ब रहनेछ । जसमा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् ।
त्यसैगरी, एनएमबी बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्झौता गरेको छ । २ मेगावाट क्षमताको चेपे खोला आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको रुपैयाँ छ, जसमा बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरे तथा कम्पनीका तर्फबाट अध्यक्ष मोहनविक्रम कार्कीले ऋण सम्झौतामा सम्झौता गरे । सोही कार्यक्रममा सिइओ घिमिरेले बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।
त्यस्तै, मोहनविक्रम कार्कीले एनएमबी बैंकसँग यस परियोजनासहित ८ वटा परियोजनाका लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । एनएमबीले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।
प्रतिक्रिया