नेपालमा जलरङ हिजो र आज–१

देवेन्द्र थुम्केली

१. पृष्ठभूमि

पानीलाई घोलको रुपमा मिसाएर चित्र बनाइने विधिलाई जलरङका रुपमा चिनिन्छ । यो पारदर्शी हुन्छ अर्थात् चित्रसतहको स्पर्शभाव (टेक्सचर) सहित चित्रित विषयवस्तु उतारिन्छ । माध्यमका दृष्टिले पानीरङमा पारदर्शिता, सरलता, रङप्रवाह÷गतिशीलता र ताजापन हुन्छ । यसैकारण यस रङमा बनेका कलाकृतिप्रति कलापारखी आकर्षण देखिन्छ । पानीरङमा काम गर्दा सेतो रङ मिसाइँदैन र त्यसको स्थानमा कागज वा चित्रसतहको सेतो भागलाई छाडिन्छ । चित्रसतह वा कागजको सेतो भागलाई नै सेतो रङको रुपमा लिइन्छ । जलरङमा कालो रङको प्रयोगलाई समेत त्यत्ति उपयुक्त मानिँदैन । यी रङको प्रयोगले जलरङको मुख्य विशेषता वा मर्म मर्दछ ।

जलरङका चित्र बनाउन कलाकारमा धैर्यता, दक्षता तथा यसका विशेषताप्रति ज्ञान हुनुपर्दछ । यो अन्य माध्यमका दृष्टिले अलि गाह्रो माध्यम पनि हो । तर लामो अभ्यास र दक्षताले कलाकारले यस रङको मर्मलाई आत्मसात् गर्न सक्दछन् । जलरङमा चार वटा तत्व हुन्छन् । यी तत्वमा रङद्रव्य (पिगमेन्ट) जैविक, कृत्रिम वा खनिज आदि । यस्तै, गम (ग्लु) जसलाई अरेबिक गम पनि भनिन्छ । यसले रङद्रव्यलाई चित्रसतहमा अड्याउन महत्वपूर्ण भूमिका खेल्दछ । यसैगरी अर्को तत्वमा योजक वा एडिटिभ्स हुन्छ, जसले रङलाई टिकाउन मद्दत गर्दछ । त्यस्तै जलरङलाई वाष्पीकरण हुन दिने घोलक (सोलभेन्ट) अर्को तत्व हो । यसले रङलाई पातलो बनाउन र सुकिसकेपछि वाष्पीकरण हुन सघाउँछ ।

विशेषगरी दृश्यचित्र रचनामा यो माध्यम निकै उपयुक्त हुन्छ । कागज र रङको सहज उपलब्धताका कारण यसप्रति कलाकारको आकर्षण बढी नै छ । जलरङमा उज्यालोबाट गाढातिर काम गर्दै गइन्छ । एक्रेलिक, आयल र अन्य माध्यममा अँध्यारोबाट उज्यालोतर्फ काम गर्दै पूर्णता दिइन्छ । यस्तै, जलरङबाट चित्र बनाउँदा वास एण्ड ग्लेज, वेट इन वेट र ड्राइब्रस विधि अपनाइन्छ । यस्तै जलरङमा चित्र बनाउनका लागि आवश्यकतानुसार प्रकारका कागज बढी प्रयोग गरिन्छ । क) हट प्रेस्ड ख) कोल्ड प्रेस्ड र ग) रफ प्रेस्ड, क) हट प्रेस्ड कागजको सतह चिप्लो खालको हुन्छ । चिप्लो हुने भएकाले चित्र बनाउँदा सुरुमा राखिएको रङ अर्को रङ लगाउँदा बाहिर निस्कने समस्या हुन्छ । यसमा आफूले रोजेअनुसारको रङ निकाल्न सकिँदैन । ख) कोल्ड प्रेस्ड कागज मध्यम खालको खस्रो सतह हुन्छ । जलरङमा काम गर्ने धेरै कलाकारले यो कागजलाई मनपराउँछन् । ग) रफ प्रेस्ड कागजको सतह कडा खस्रो हुन्छ । साथै रङ सजिलै ग्रहण नगर्ने किसिमको हुन्छ । जलरङ बनाउने कागजको १८५ ग्रामदेखि ६४० ग्रामसम्मका हुन्छन् ।

२. जलरङको विकासक्रम

चित्रकलाको विकासक्रम पाषाणयुग (करिब ३२००० ईसापूर्व) देखि नै सुरु भएको हो । स्पेनको अल्टामिरा, फ्रान्सको लस्क्वे, साउवे, कस्क्वे, फोँदे गोमे, पेक मर्ले आदि गुफामा पाषाणयुगीन चित्र रहेका छन् । नवपाषाणयुग हुँदै कलाको विकास मध्यपूर्व मेसोपोटामिया, इजिप्ट, सिन्धुघाँटी, चिनियाँ, ग्रीक, रोमन लगायतका सभ्यतामा व्यापक रुपमा विकास भयो । यस्तै, भारतमा मौर्य, शुंग, कुषाण, गुप्त आदि कालमा समेत कलाको विकास भयो भने नेपालमा किरातकाल, लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल, प्रजातन्त्रकाल आदि समयमा सापेक्षित ढंगले कलाको विकास भएको पाइन्छ ।

मेसोपोटामियन सभ्यतामा बनेका जिगुरात (मन्दिर) का भित्तामा चित्र बनाइन्थ्यो । इजिप्टमा पानीसँग घुल्ने रङबाट पिरामिडका भित्तामा चित्र बनाउने प्रचलन थियो । भारतको अजन्ता गुफाका बौद्ध धर्मसँग सम्बन्धित चित्रसमेत पानीसँग घुल्ने रङसँग सम्बन्धित छन् । नेपालमा लिच्छवी तथा मल्लकालमा हस्तलिखित ग्रन्थ, मठ–मन्दिर तथा दरबारका भित्तामा बनाइएका चित्रसमेत पानी घुल्ने रङबाट बनेका थिए । हुनत् कला राजकीय, परम्परागत÷धार्मिक, लोककला गरी विगतदेखि नै समाजमा प्रचलित रहँदै आएको पाइन्छ ।

जलरङको ऐतिहासिक पक्षलाई नियाल्ने हो भने युरोपको पुनर्जागरण कालसम्म पुग्नुपर्ने हुन्छ । साथै जर्मनीका कलाकार अल्ब्रेख्ट ड्युररलाई प्रारम्भिक कालका महत्वपूर्ण कलाकारका रुपमा चिनिन्छ । उनले जलरङबाट विभिन्न जनावर, बनस्पति, पशुपंक्षी तथा भूदृश्यका चित्र बनाएका थिए । उनले जलरङको शैलीगत स्कुलकै विकास गरेका थिए । उनीपछि त्यसको अगुवाई जर्मनीमा हान्स बोलले गरे ।

वास्तवमा १७औँ शताब्दीमा बारोक समयमा कलाकारले चित्र सिक्नेक्रममा स्केच कपी गर्न वा साना साना डिजाइन बनाउन जलरङको प्रयोग गरिन्थ्यो । भ्यान डाइक, क्लोड लोरँ, जियोभानी बेनेडेट्टो कास्टियोने लगायतका डच कलाकारले समेत जलरङमा काम गरेका थिए । खासमा दृष्टान्तचित्र बनाउनका लागि त्यसवेला जलरङ निकै उपयोगी माध्यम थियो । यस्तै, १८औँ शताब्दीमा इंग्ल्याण्डमा सम्पन्न वर्गका महिलाले सोखका रुपमा जलरङमा चित्र सिक्ने परम्परा रहेको थियो । यसका साथै सर्भे गर्ने, नक्साको काम गर्ने लगायतका कामसमेत यो रङको प्रयोग गरिन्थ्यो । साथै पुरातात्विक, प्राकृतिक, भौगर्भिक÷भौगोलिक खोज अनुसन्धानका काममा समेत कलाकारलाई लैजाने चलन थियो । कलाकारले पनि जलरङमा ती विषयमा केन्द्रित रहेर चित्र बनाउँथे । युरोपमा १८औं शताब्दीको उत्तराद्र्ध र १९औं शताब्दीको प्रारम्भताका जलरङलाई प्रमुख माध्यमका रुपमा प्रयोगमा ल्याउनुपर्छ भन्ने बहस नै चल्यो ।

नेपालमा पश्चिमी आधुनिक कलाको औपचारिक प्रवेश विसं. १९८० पछिको दशकमा भए पनि यसको पृष्ठभूमि भने सन् १८२० को दशकलाई मान्नु्पर्दछ । वास्तवमा नेपाली कलाले आजको यस स्थितिसम्म आइपुग्दा के–कस्ता आरोहअवरोह पार गर्नुप¥यो र यसको इतिहास कसरी अगाडि बढ्यो ? त्यसको निरूपण हुन जरुरी छ । नेपाली राज्य व्यवस्थामा देखापरेका राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्तारचढावले के–कस्ता प्रभाव छोड्यो ? यी र यस्तै प्रश्नहरूबीच नेपाली कलामा जलरङको विकास भएको देखिन्छ

इटाली भ्रमणमा जाने पर्यटकले सम्झनास्वरुप त्यहाँका जलरङद्वारा बनाइएका दृश्यचित्र किन्ने प्रचलन थियो । वास्तवमा इंग्ल्याण्डमा संस्कृति, पर्यटन, विज्ञान लगायतका विविध विषयलाई जलरङमार्फत उतारिन्थ्यो जसका कारण यो माध्यम फस्टाउने अवसर पायो । कलाकार थोमस ग्यान्सवर्ग, जोन रर्बट कोजेन्स लगायतका कलाकारले समेत यस माध्यममा काम गरेका थिए । साथै पौल स्याण्डी, थोमस ग्रिटिन, विलियम टर्नरले इंग्ल्याण्डमा जलरङका काम गरेका थिए । यहाँ (इंग्ल्याण्ड) मा कलाकृति संकलन गर्ने प्रचलन बढ्दै जान थालेपछि रोयल वाटरकलर सोसाइटी बनेको थियो । यो सोसाइटीले वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै कलाको प्रदर्शनी तथा बिक्री वितरण ग¥यो । युरोपमा यस्ता सोसाइटी थुप्रै बने । यस्तै २०औं शताब्दीको प्रारम्भताका अमूर्त कलाकारका सूत्रधार वाजिली कान्डिन्स्की (सन् १८७७–१९४४), एमिल नोल्ड, पौल क्ली, इगोन सिले, राउल डुफी लगायतका कलाकारले समेत जलरङमा थुप्रै काम गरे ।

नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद, अभिव्यञ्जनावाद, घनवाद, अतियथार्थवाद, अमूर्तवाद, सामाजिक यथार्थवाद लगायतका विश्वमा विकसित भएका कलाका विभिन्न चिन्तन र शैलीमा काम गर्ने कलाकारले समेत जलरङ माध्यममा थुप्रै कला रचना गरेका थिए ।

PHOTO: THT

३. नेपालमा जलरङ

नेपालमा जलरङ प्रयोग सुगौली सन्धीपछि भएको हो । यसअघि पनि पानीमा घुल्ने रङ अपारदर्शी रङमा नै कलाकारले चित्र रचना गर्दै आएका थिए । जब नेपाल र बेलायतबीच सुगौली सन्धी भयो तब जलरङमा काम गर्न थालिएको हो । यसपछि नेपालमा ब्रिटिसकालीन भारतीय प्रभावबाट नै कला परम्परा अघि बढेको देखिन्छ । ब्रिटिस शासकले खोलेका भारतका विभिन्न कलेजमा नेपालबाट कला अध्ययन गर्न जानेक्रम पनि बढ्दै गयो । त्यसको प्रभाव पनि नेपाली कलामा प¥यो भने अन्य देशमा अध्ययन गरेर फर्केका कलाकारले समेत नयाँ शैलीमा काम गरे । जसको फलस्वरुप जलरङमात्रै नभएर नेपाली कलामा समेत नयाँ गोरेटो कोरिँदै गयो ।

नेपालमा पश्चिमी आधुनिक कलाको औपचारिक प्रवेश विसं. १९८० पछिको दशकमा भए पनि यसको पृष्ठभूमि भने सन् १८२० को दशकतिर पुग्नुपर्दछ । वास्तवमा नेपाली कलाले आजको यस स्थितिसम्म आइपुग्दा के–कस्ता आरोहअवरोह पार गर्नुप¥यो र यसको इतिहास कसरी अगाडि बढ्यो ? त्यसको निरूपण हुन जरुरी छ । नेपाली राज्य व्यवस्थामा देखापरेका राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्तारचढावले के–कस्ता प्रभाव छोड्यो ? यी र यस्तै प्रश्नहरूबीच नेपाली कलामा जलरङको विकास भएको देखिन्छ । नेपालमा जलरङको विकासक्रमको विभाजन यसप्रकार रहेको छः

प्राथमिक काल (वि.सं. १८७७ अघि)


विश्वमा कलाको लामो परम्परा छ । नेपालमा पनि प्राचीनकालदेखि नै मठ–मन्दिर, दरबार, पाटीपौवा, बिहार, गुम्बा आदिका भित्तामा चित्र बनाउने परम्परा रहिआएको छ । लिच्छवी, मल्लकाल र शाहकालमा भित्तेचित्र, ग्रन्थचित्र तथा पौभा÷थाङ्का आदि चित्र बनाएको पाइन्छ । यी चित्र पानी घुल्ने अपारदर्शी रङले बनाइएको थियो । यस्तै नेपालका विभिन्न जातजाति तथा समुदायमा प्रचलित लोककला पनि पानीमा घुल्ने चुनढुङ्गा, कमेरो, गेरु माटो, विभिन्न फूल तथा बनस्पति, खनिज तथा रंगीन ढुंगाबाट रङ बनाइ पानीमा घोलेरै चित्र बनाइन्थ्यो । ती कलाले नेपाली मौलिक सुगन्धलाई अंगीकार गरेका थिए र छन् । यी कला बनाउँदा विकसित जलरङको प्रयोग गरेको देखिँदैन् । प्राकृतिक रुपमा पाइने रङको अधिक प्रयोग हुन्थ्यो । यी रङ बाक्लो अपारदर्शी खालका जुन पानीसँग घुलनशील हुन्थे ।

माध्यमिक काल (वि.सं. १८७७ देखि १८८६ सम्म)


नेपाली कलामा पुरानो परम्परा, मान्यता र शिल्पविधिलाई छाडेर नितान्त पश्चिमा शैलीमा कला रचना गर्ने कार्यको प्रारम्भ भएको समय थियो । अर्थात् नयाँ ज्ञान र सीपको आत्मसात् गरी यसकालमा कलाकारले नयाँ कार्य थालेका थिए । यसको अगुवा कलाकार राजमानसिंह चित्रकारले गरेको देखिन्छ । उनले हड्सनको अध्ययन अनुसन्धानका निम्ति चित्र बनाएका थिए । ती चित्र यथार्थपरक थिए । उनले सुरुमा (सन् १८२० को दशकमा) बिहार, चैत्य, मठ–मन्दिर तथा दरबारका स्केच बनाए । यस समयलाई नेपाली कलाको पूर्वकाल मान्नुपर्छ । यस चरणमा जलरङको प्रयोगको सुरुवात् भएको देखिन्छ । यो चरणलाई नेपालमा जलरङको प्रयोगका दृष्टिले माध्यमिक कालका रुपमा लिनुपर्ने हुन्छ ।

माध्यमिक कालको पहिलो चरण (१८८६ देखि १८०५ सम्म)


कलाकार राजमानसिंह चित्रकार र उनको टोलीले ब्रायन हड्सनका हिमालयन अध्ययनका क्रममा थुप्रै कलाकृति बनाए । जानकारका अनुसार लगभग २००० स्केच र चित्रहरू अहिले पनि रोयल एसाइटिक सोसाइटी लन्डनमा सुरक्षित छन् । हडसनले त्यसवेला ११,००० भन्दा बढी जीवजनावर र पंक्षीका चित्र बनाउन लगाएका थिए भन्ने कुरा इतिहासविद्हरू बताउँछन् । प्रायः रंगीन चित्र जलरङबाट बनाएको पाइन्छ । नेपालमा जलरङको प्रयोग गर्ने पहिलो कलाकार राजमान सिंह चित्रकार हुन् । उनको नेतृत्वमा १० जना कलाकारले हड्सनका निम्ति काम गरेको कुरा विद्वान एवं इतिहासविद् डा. रमेश ढुंगेल बताउँछन् । राजमानसिंह, राजवीर, तुल्सीमुनी धनानन्द बाडा, भाजुमान चित्रकार लगायतका कलाकार सो समूहमा थिए ।

सन् १८२० देखि १८४५ सम्म हड्सनका निम्ति यी दशजना कलाकारले गरेका चित्रसम्बन्धी कार्यहरू नै मुख्य रूपमा रहेका छन् । यसवेला जनावरको यथार्थ चित्रण पशुपंक्षी तथा मान्छेको दिनदैनिकी सम्बन्धी चित्रण, मुहारचित्रण आदि कार्य भएका थिए । ती सबै नेपाली जनजीवनसँग सम्बन्धित थिए । यसबीचका मुख्य कलाकार राजमानसिंह चित्रकार नै थिए । त्यसैवेला हड्सनले दुईजना बेलायती कलाकार प्रशिक्षणका निम्ति कलकत्ताबाट काठमाडौं झिकाएका थिए । तिनीहरूले २ महिना नेपाली कलाकारलाई पश्चिमी कला शिल्पविधि समेत सिकाएका थिए । यसरी सर्सती हेर्दा विसं. १८८७ देखि १९०५ सालसम्मको समयमा नेपाली कलामा परिवर्तन भएको मान्न सकिन्छ । यस काललाई नेपाली कला इतिहासमा महत्वपूर्ण चरणका रूपमा अध्ययन गरिनुपर्दछ ।

माध्यमिक कालको दोस्रो चरण (१९०५ देखि १९८० सम्म)


नेपाली कलाको अहिलेसम्मको इतिहासमा यस समयलाई महत्वका साथ हेरिएको छ । यस समयमा थुप्रै मुहारचित्रहरू बनेका छन् । खासगरी राणाका दरबारमा कलाकारको माग हुन्थ्यो त्यहीअनुसार उनीहरूले कलाकृति बनाउँथे । भाजुमान चित्रकार जंगबहादुर राणाको वेलायत यात्रामा सन् १८५० (१९०७ साल) मा सामेल थिए । उनले बम्बई हुँदै बेलायत, पेरिस लगायतका ठाउँ घुम्ने अवसर पाए । त्यसक्रममा भाजुमानले वेलायत र पेरिसका कला संग्रहालय अवलोकन गर्ने अवसर पाए । मुलतः उनले त्यहाँबाट केही नयाँ शैली र सीप सिक्ने मौका पाए । नेपाल फर्केपछि उनले विशेषगरी राणाका मुहारचित्र तथा व्यक्तिचित्र बनाए । उनले जलरङमा केही चित्र बनाएका थिए । भाजुमानपछि पनि नेपाली कला क्षेत्रमा थुप्रै कलाकार देखा परे । यसबीचमा कृष्णमान चित्रकारले पृथक काम लिएर आएका थिए भने अरू धेरैजसो कलाकार दरबारमा चित्रकारको नोकरीमा थिए । उनीहरूको काम भनेकै दरबारलाई चित्रमय बनाउनु थियो । यत्तिवेलाका कलाकारमा धीर्ज नारायण, हनुमन्त सिंह चित्रकार, जीतनरसिंह चित्रकार, हर्कनारायण चित्रकार, भीमनाराण चित्रकार, पूर्णमान चित्रकार, बखतमान चित्रकार, चैत्ये चित्रकार, दीर्घमान चित्रकार लगायतका थिए ।

यसैवेला नेपालमा फोटोग्राफीसमेत सुरु भयो । बखतमान त्यसवेला राम्रा र उत्कृष्ट फोटोग्राफर थिए । यसवेलाका कतिपय दरबारिया कलाकारका रूपमा दरबार सिगार्न व्यस्त रहे । यसैक्रममा चन्द्रशम्शेरले दीर्घमान चित्रकारलाई वेलायत भ्रमणमा सँगै लगेका थिए । यसरी यसबीचमा नेपाली कलाकारले युरोपका कला शिल्पविधि र शैलीमा अवलोकन गर्ने अवसर पनि पाएका थिए । भाजुमानदेखि बखतमान, पूर्णमानसम्मका कलाकारको नेपाली कलाक्षेत्रमा विशेष योगदान रहेको छ ।

आधुनिक काल (विसं. १९८० देखि २०४६ सालसम्म)


नेपालमा औपचारिक रुपमा आधुनिक काल सुरु भएको चरणको रुपमा यस समयलाई लिनुपर्दछ । कलाकार चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले पहिलोपटक कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गर्ने अवसर पाए । उनीहरूले सिकेको पश्चिमा वस्तुवादी, यथार्थपरक कला धाराले नेपाली कला परम्परामा नयाँ युगको सुरुवात् भयो । परम्परावादी कला धारा यही कालदेखि पछाडि पर्न थाल्यो ।

आधुनिक कालको पहिलो चरण (१९८० देखि २००७ सालसम्म)

मास्के र चित्रकारले नेपालमा यथार्थवादी कला बनाउन सुरुवात् मात्रै गरेनन्, थुप्रै कला विद्यार्थी पनि जन्माए । यी कलाकारको नेपाल प्रवेश नै नेपाली आधुनिक कलाको विकास र बिस्तारको सूत्रपात थियो । २००७ सालसम्म नेपालमा जहानियाँ राणाशासनको बोलवाला थियो । कलाकार उनीहरूकै आदेश र निर्देशनमा चल्नुपथ्र्यो । तसर्थ उनीहरूले मुहारचित्र, केही दृश्यचित्र तथा नेपाली जनजीवन झल्कने कलाकृति पनि बनाए । तेलरङसँगै यसवेला कलाकार जलरङमा समेत थुप्रै चित्र बनाएका थिए ।

चन्द्रमानसिंहले काठमाडौं उपत्यकाको सांस्कृतिक तथा दृश्यचित्रसँगै राजनीतिक विषयमा समेत थुप्रै चित्र बनाएका थिए । यस्तै तेजबहादुरका तामाङ जनजीवनसम्बन्धी चित्र नेपाली कला इतिहासमा महत्वपूर्ण रहेका छन् । कुनै जात विशेषको परिचय खुल्ने गरी बनाइएका त्यस्ता चित्रहरू नेपालमा त्यसभन्दा अगाडि त्यत्ति बनेको पाइँदैन । त्यस्तै, उनले धर्म, संस्कृति तथा जनजीवनसँग सम्बन्धित थुप्रै चित्र रचना गरे । १८८० देखि २००७ सालसम्म यी दुई कलाकारले नेपाली कलामा महत्वपूर्ण कामहरू गरे । यिनीहरुले जलरङमा थुप्रै दृश्यचित्र तथा मुहारचित्र बनाएको थिए । हुनत् वि.सं. १९९१ मा नेपाल आर्ट स्कुल खुलेको थियो । त्यो स्कुल १९९५ सालमा जुद्धकला पाठशाला हुँदै २०२४ सालमा ललितकला महाविद्यालय र २०३० सालमा ललितकला क्याम्पसमा परिणत भयो । यस पाठशाला पनि जलरङमार्फत विद्यार्थीलाई अध्ययन अध्यापन गराइन्थ्यो ।

० हुनत् वि.सं. १९९१ मा नेपाल आर्ट स्कुल खुलेको थियो । त्यो स्कुल १९९५ सालमा जुद्धकला पाठशाला हुँदै २०२४ सालमा ललितकला महाविद्यालय र २०३० सालमा ललितकला क्याम्पसमा परिणत भयो । यस पाठशाला पनि जलरङमार्फत विद्यार्थीलाई अध्ययन अध्यापन गराइन्थ्यो

दोस्रो चरण (२००७ सालदेखि २०१२ सालसम्म)


राजनैतिक उथलपुथल र सामाजिक जागरणका कारण २००७ सालमा नेपालमा प्रजातन्त्र आयो । कलाक्षेत्रमा पनि केही जागरण आयो । राजनैतिक परिवर्तनसँग राणामा मात्रै सीमित कलाले जनतासामु पुग्ने अवसर पायो । फाट्टफुट्ट कलाप्रति साधारण मानिसको ध्यान जान थाल्यो । राजनैतिक व्यवस्था परिवर्तनपछि कला सिक्ने जमात पनि बढ्दै गयो । यस कालमा कलामा कुनै पनि उल्लेख गर्नुपर्ने परिवर्तन त हुन सकेन तर जेजति कलाकृति बने तिनमा भेटिने स्थानीयत्वले नेपाली समाजको यथार्थलाई बाहिर ल्याउने काम भयो । त्यस्तै, सामाजिक जीवनमा कलाको महत्वलाई बुझ्न थालिएको समय थियो । कलामा नयाँ नयाँ प्रयोगहरू हुन्थे । ती प्रयोग कति बुझेर हुन्थे, त कति रहरले । यसरी स्वतन्त्र रूपमा कलाकारहरू सिर्जनामा रम्न थाले । यसवेला जुद्धकला पाठशालाबाट अध्ययन गरेका कलाकार पनि बाहिर निस्किए । यस समयका कलाकारमा बालकृष्ण सम, धनबहादर चित्रकार, मनोहरमान पुँ, रत्नबहादुर, धनबहादुर, जीवरत्न शाक्य, चन्द्रबहादुर मानन्धर, सन्तबहादुर चित्रकार, केशव दुवाडी, अमर चित्रकार, कालिदास श्रेष्ठ, गोविन्दनारायण ज्यापू लगायत रहेका छन् । यसकालमा कलामा उल्लेखनीय कार्यभन्दा पनि कला सिक्ने काम बढी भएको देखिन्छ । जुद्धकला पाठशाला, दरबार हाइस्कुलमा मास्के र चित्रकारसँग कला सिक्ने निकै ठूलै जमात रहेको थियो । यी कलाकारले पनि जलरङ माध्यममा थुप्रै चित्र बनाए । क्रमशः

प्रतिक्रिया