बहसमा वैदिक चिन्तन

चितवन । वैदिक ज्ञानपरम्परा र जीवन पद्धतिका महत्वपूर्ण ज्ञान, सीप र पद्धतिसँग नयाँ पुस्तालाई जोड्ने लक्ष्यका साथ गोष्ठी सुरु भएको छ । शिक्षा, संस्कृति, विज्ञान–प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोग एवं महेश–संन्यास–आश्रम (रामानन्द अनुसन्धान केन्द्र आरसिसी) को आयोजनामा ‘वैदिक चिन्तनको समसामयिक उपयोगिता’ विषयक पाँच दिने अनुसन्धानात्मक गोष्ठी गरिएको हो । मौलिक ज्ञान, सीप र पद्धतिको संवर्धन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा महेश–संस्कृत–गुरुकुल–विद्यापीठम्का प्राचार्य उपप्रा. कमल सुवेदीले गोष्ठीको सान्दर्भिकताका बारेमा चर्चा गरेका थिए ।

उद्घाटन सत्रका प्रमुख अतिथि देवघाट गाउँपालिका ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले समग्र देवघाट तथा राष्ट्रका निम्ति अति उपयोगी रहेको रामानन्द अनुसन्धान केन्द्र (आरसिसी) का लागि स्थानीय तहबाट पूर्ण सहयोग रहने बताए । कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेल एवं देवघाट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले राष्ट्रको गौरव रहेको यो आरसिसीमा सबैले सहयोग गर्नुपर्ने र आफूले पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चक्रवर्ती सामाजिक उद्यमी महिला समूह देवघाट ५ की व्यवस्थापक संगीता ओझाले सान्दर्भिक कामको प्रशंसा गर्दै रामनन्द अनुसन्धान केन्द्र आरसिसीको उन्नतिको कामनासहित शुभकामना मन्तव्य प्रस्तुत गरिन् । गुरुकुलका संरक्षक श्री १००८ स्वामी मधुसूदनानन्द गिरिले विद्यार्थीलाई सम्बोधन गर्दै राष्ट्र उत्थानमा लाग्नुपर्ने बताउँदै आशिर्वचन प्रदान गरे भने महेश–संन्यास–आश्रमका पीठाधीश र रामानन्द अनुसन्धान केन्द्रका अध्यक्षसमेत रहेका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले मौलिक नेपाली संस्कृति, सभ्यता र पहिचानको संरक्षण र संवर्धन गर्न हामीले कुनै कसुर नछोड्ने बताए ।

कार्यक्रमको पहिलो सत्रमा संघीय कृषि मन्त्रालयका सहसचिव वासुदेव काफ्लेले ‘नेपालमा वैदिक परम्परागत कृषि पद्धति र वर्तमान युगमा यसको उपयोगिता’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा विषादी खरिदका लागि देशको अरबौँ रुपैयाँ विदेशिँदै गर्दा यसको विकल्पको रूपमा प्रांगारिक मल तथा गोठे मल उत्पादनका लागि कुनै पनि कार्ययोजनाहरू नभएकोमा खेद प्रकट गरे ।

उनले वैदिक कृषि पद्धति माटो सुहाउँदो र विविध जीव, कीटपतंग मैत्री रहेको अनुसन्धानात्मक तथ्य प्रस्तुत गरे । काफ्लेले अन्य जीवजन्तुको जस्तै गरी राष्ट्रिय जनावर मानिएको गाईका विभिन्न प्रजातिका गाईको संरक्षण हुन नसकेको र संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई समेत प्रस्तुत गरे ।

दोस्रो कार्यपत्र प्रस्तोता डा. कुलराज चालिसेले ‘श्रीकृष्णागण्डकीः सभ्यता र सम्पदा’ शीर्षकको कार्यपत्रमा गण्डकी सामान्य नदी मात्र नभएको र यसको चिरन्तन संरक्षण र संवर्धन गर्न प्रदेशको गौरव सम्पदा बनाउँदै राष्ट्रिय र विश्वसम्पदासूचीमा समेत अटाउनुपर्ने बताए । गण्डकीको शालिग्रामको महत्वबारे बोल्दै डा. चालिसेले हिमवत्खण्डलाई प्रचार गर्नुपर्ने जोड दिए ।

टिप्पणीकारका रूपमा सहप्रा. डा. गुरुप्रसाद सुवेदी र उपप्रा. श्याम खनालले दुवै कार्यपत्रमाथि सहभागीको जिज्ञासासहितको समीक्षा गरे । समग्र कार्यक्रमको प्रतिवेदकका रूपमा उपप्रा. कपिलदेव भट्टराईले तीनै सत्रका सम्पूर्ण गतिविधिको शब्दचित्रात्मक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा देवघाटका सबै गुरुकुलका प्रतिनिधि र देशका विभिन्न क्षेत्रमा रहेका संस्कृत विद्यापीठका प्राध्यापक तथा वैदिक सभ्यताप्रेमी अनुसन्धाताको उपस्थिति रहेको छ । साथै युवापुस्तालाई वैदिक एवं परम्परामा पनि वैज्ञानिकता दर्शाउँदै अनुसन्धानतर्फ उन्मुख गराउन सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया