गीतमा परदेशीको पीडा

काठमाडौं । अभाव, आवश्यकता र बाध्यताले देश छोडेर विदेशिन बाध्य नेपाली युवाको कथामा आधारित ‘रहरले कोही परदेशी हुन्न’ गीत सार्वजनिक भएको छ । गणेश खड्काले शब्द रचना गरेको गीतमा गायक स्वरूपराज आचार्य र गायिका रचना रिमालको स्वर रहेको छ । राजनराज शिवाकोटीले संगीत भरेको यस गीतमा संगीत संयोजन नरेन्द्र वियोगीको रहेको छ । अफ्रिकाको सेसेल्स र नेपालमा छायांकन गरिएको गीतको भिडियो निर्देशन सुरेश पाण्डे र सह–निर्देशन पंकज श्रेष्ठले गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा आरपी पन्त, गरिमा शर्मा, निर्मल शर्मा र ममता लामाको अभिनय छ । साथै प्रस्तुत भिडियोमा पंकज श्रेष्ठ, मनोज बिक, आरसी राई, खेम गोदार थापा, देवसिंह ठकुरी, विकाश थापा मगर, शिवराम अर्याल, चन्द्र चेम्जोङ साथै बालकलाकार तिलक बिकको भूमिका रहेको छ । गुरिल्ला रक क्रियसनको प्रस्तुति रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि मौलिक नेपाली भाषा, कला, साहित्य, संगीत, संस्कृति आदिको उन्नयनका लागि आगामी दिनमा सक्दो काम गर्ने बताएको छ ।

गीतमा एउटा युवा दुःख गरेर पढ्छ, दक्ष हुन्छ तर देशमा आफ्नो योग्यता अनुसारको काम नपाउने विषयलाई उठाउन खोजिएको छ । हातभरी शैक्षिक प्रमाणपत्र बोकेर रोजगारीको लागि विभिन्न निकाय जाँदा पनि जागिर नपाएपछि बाध्य भएर घर–जग्गा धितो राखेर चर्को ब्याजदरमा पैसा काढेर विदेशिन बाध्य हुन्छ । आर्थिक र भौतिक रुपमा सवल अनि प्राकृतिक रुपमा सुन्दर देशमा पुगेर काम त सुरु गर्छ तर आफ्नो मन, मुटु स्वदेश तथा घर–परिवारसँगै पुगिरहँदा ‘होमसिक’ ले लगभग डिप्रेसनको शिकार बनेको विषयलाई गीतको भिडियोमा चित्रण गर्न खोजिएको छ । गीतमा वृद्ध बा–आमा, जवान श्रीमती तथा नाबालक छोरालाई चटक्कै छोडेर विदेशिनु रहर नभएर कहर भएको स्वीकारोक्तिसँगै चित्त बुझाउने कोशिस त गर्छ तर उता प्राण प्यारीको ‘कि त मलाई उतै लैजाऊ नत्र तिमी आऊ, एउटा मुटु दुईटा हुँदा झन् दुख्छ घाउ ।’– फोन संवादले विरक्तिन्छ ।

गीतले आप्रवासी नेपालीको साझा कथालाई उधिन्न खोजेको छ । विशेषगरी शैक्षिक बेरोजगारीको समस्याले उत्पन्न गरेको परिवेशलाई गीतको भिडियोमा उजागर गरिएको छ । स्वदेशमै कामको अवसरको निर्माण गर्न यसले सन्देशसमेत दिएको छ । साईराम पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको भिडियो टापुहरुको देश पूर्वीअफ्रिकाको सेसेल्समा छायांकन गरिएको हो । सो देशमा काम गर्ने केही नेपाली युवाको साझा प्रयासमा भिडियो निर्माण गरिएको हो ।

प्रतिक्रिया