थाङ्कामा रमाउँदै झिग्मे

विषय प्रवेश
सिर्जनात्मक अभिव्यक्तिको सुन्दर पुञ्ज कला हो । हृदयको स्पन्दन र संवेगको आवेगात्मक प्रस्तुति नै कला हो । मानवीय संवेगको उच्चतम प्रवाहको रुपमा कला प्रवाहित भएको हुन्छ । मानिसलाई चेतना प्रवाह गर्दै चिन्तनको भवसागरमा कलाले नै पु¥याउँछ । हुनत् हजारौं वर्षको मानिसको गतिशील प्रवाहका बीचमा कलाको उत्पत्ति तथा विकास भएको थियो । मानिस फिरन्ते रुपमा बिचरण गर्ने क्रममै कलाको उपयोगद्वारा आफ्नो आवश्यकता र जीवनलाई सरलीकृत बनाउने ध्याउन्नमा लागेको थियो । हजारौं वर्षको अविरल यात्राका क्रममा मानिसले कलालाई जीवनपद्धतिसँगै जोड्दै आएको पाइन्छ ।

कलाको यही बिहगंम परिदृश्यमा नेपालको दुर्गम जिल्लामा जन्मिएर पनि विशिष्ट योगदान दिने व्यक्तित्वको नाम हो झिग्मे तामाङ अर्थात् मुगुम झिग्मे । आफ्नो मौलिक संस्कृतिलाई आत्मसात् गर्दै हजारौ वर्षदेखि परम्परित कला बनाउँदै आएका झिग्मेले बौद्ध दर्शन र परम्परामा आधारित सयौं चित्र बनाइसकेका छन् । नेपाली मौलिक कलाको रुपमा परिचित विशेष गरी हिमालय क्षेत्रमा प्रचलित थाङ्का परम्पराको ऐतिहासिक विरासतलाई अङ्गीकार गर्दै उनले कला बनाउँदै आएका छन् ।

सांस्कृतिक, धार्मिक, सामाजिक तथा जीवनपद्धतिमा आधारित रहेर झिग्मेले आफ्नो पूर्खाको कला परम्परालाई धान्दै र जर्गेना गर्दै आएका छन् । नेपालको कला परम्पराको ऐतिहासिकतालाई सदियौं वर्षदेखि कलाकारले जीवन्त रुपमा अगाडि बढाउँदै आएका छन् । यही परम्परालाई कलाकार झिग्मेले पनि धान्दै र जीवन्त बनाउँदै आइरहेका हुन् । उनका कलामा बौद्ध धर्म र यसका मान्यताको बढी मूर्तिकृत भएको पाइन्छ । बौद्ध परम्परा, जीवनपद्धति, देवदेवी र तिनको भावलाई प्रतीकात्मक ढंगले कलात्मक रुपमा कागज, कपडा, गुम्बा, घरका भित्ता तथा सार्वजनिक स्थलमा चित्राङ्कन गर्दै आउने परम्परालाई झिग्मेले आत्मसात् गर्दै कला बनाएको देखिन्छ । कलाकार झिग्मेले कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको कला परम्परा र त्यसको मौलिक महत्वलाई देश विदेशमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएका छन् ।

कलाकारको परिचय

झिग्मे तामाङ अर्थात् मुगुम झिग्मेको जन्म वि.सं. २०२९ साल बैशाख ५ गते साविकको मुगु गाउँ हालको मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु कर्णालीमा भएको हो । उनका बुवा कार्मा छोत्र्यान तामाङ र आमा ज्यापयाङ बुटीक तामाङ कृषिकर्म र सानोतिनो व्यापार व्यवसायमा सलंग्न थिए । हिमाली क्षेत्र, प्राकृतिक सुन्दरता र बौद्ध परम्पराको अनुपम मिश्रणमा विकसित सांस्कृतिक विरासतमा झिग्मेले हुर्कने अवसर पाए । भौगोलिक रुपमा केही कठिन रहे पनि प्रकृति र संस्कृतिको संगममा हुर्किएका झिग्मेको आमा, बुवा, दाई, बहिनी र भाई गरी ६ जनाको परिवार रहेको छ । हिमाली क्षेत्र भएकाले दुःखजिलो गर्दै हुर्किएका झिग्मेले सानोमा खेतीकिसानी, घाँसदाउरा, वस्तुभाउ चरन तथा घरायसी काम गरेरै बिताए । गाउँमा पढ्नुपर्छ भन्ने सामाजिक चेतनाको विकास भइसकेको थिएन । अहिलको जस्तो सामाजिक, राजनीतिक तथा सांस्कृतिक चेतना त्यतिवेला थिएन । दुर्गमका दुःख र दैनिकी गुजार्न गरिने संघर्षबीच उनको बाल्यकाल बित्यो ।

आमाबुवाले खेतीपाती तथा ऊनी कपडा बुन्ने र सानोतिनो व्यापार व्यासाय गर्थे । त्यसबेलाको व्यापारको मुख्य क्षेत्र भनेकै तिब्बतको सीमावर्ती गाउँहरूमा हुने गर्दथ्यो । याक र घोडालाई ढुवानीको साधनको रुपमा प्रयोगमा ल्याइन्थ्यो । त्यहीबाट झिग्मेको परिवारको जीवनयापन चलेको थियो । बुवाआमाको काममा सघाउने गुम्बा तथा बौद्ध धर्मस्थलमा पुग्ने, खेल्ने र रमाउने गर्दै उनको बालापन गुज¥यो ।
उनको ९ वर्षको उमेरसम्म जन्म गाउँमै बितेको थियो । गाउँमा सरकारी स्तरबाट एउटा प्राथमिक विद्यालय खुलेको भएता पनि जनचेतनाको कमीका कारणले अधिकांश गाउँका केटाकेटी त्यस समय विद्यालयमा नगई घाँसदाउरा र गोठालोमा जाने गर्दथे । झिग्मेको पनि गाउँमा बसुञ्जेल विद्यालयभन्दा पनि बढी घाँसदाउरा तथा गोठालोमै समय बितेको थियो । उनले १० वर्षको उमेरमा जुम्लामा आएर पढ्ने अवसर पाएको सुनाए । त्यहाँ एक वर्ष पढेपछि उनका मामाले भारतको कालिम्पोङ पढ्न जाने सल्लाह बुवा आमालाई दिए ।

त्यसवेलासम्म उनमा पढ्नुपर्छ भन्ने भावना जागृत भइसकेको थियो । मामाकै प्रेरणाबाट र आफ्नो इच्छाशक्तिका कारण गर्दा आमाबुवाले उनलाई भारत दार्जिलिङको कालिम्पोङस्थित सि.एड.टी. स्कुलमा भर्ना हुने अवसर पाए । त्यहाँ पढ्न थालेपछि मात्रै उनको नियमित रुपमा पढाइ सुरु भयो । त्यहाँ उनले तीन वर्षसम्म पढे ।


विद्यालयमा उनले चित्रकलाका प्रारम्भिक ज्ञान समेत सिक्ने मौका पाऐ । विद्यालयमै उनलाई गुरुहरूले कक्षाकोठामा चित्रहरू लेख्न लगाउँथे । विद्यालयमा हुने कलात्मक माहोलले उनको चित्रप्रतिको आशक्ति बढ्दै गयो । विद्यालयमा शिक्षकले सिकाउने कलाले उनका सिर्जनशील कसरी बन्ने भन्ने ज्ञानसमेत प्राप्त गरेको उनी सुनाउँछन् । कलाका आधारभूत विषय विद्यालयमा सिकेकाले पनि उनलाई चित्र रचनामा समेत निकै सहज भयो । उनलाई कलाक्षेत्रमा लाग्ने प्रेरणा बुवाआमा र गुरु (मामा) उर्गेन लामालाई जान्छ ।

मामा स्व.उर्गेन लामा उनको कलाको पहिलो गुरु थिए । उनको संगत र सामिप्यताले झिग्मे कलाकार बनेका हुन् । हुनत् उनलाई पढ्नुपर्छ भनेर जुम्ला तथा कालिम्पोङ लैजाने व्यक्तित्व पनि उर्गेन नै ।

कलायात्रा
मुगु, जुम्ला, भारतको दार्जिलिङस्थित कालिपोङ हुँदै काठमाडौंसम्मको उनको यात्राले कलाजीवनमा निकै महत्व राखेको पाइन्छ । उनको किशोरवस्थाको अधिकांश समय काठमाडौंमै बित्यो । सानैदेखि चित्रकलामा राम्रो ध्यान भएको अर्थात् चित्र कोर्न बढी रुचि भएको देखेर उनलाई मामाले यस क्षेत्रमा हिँड्न अभिप्रेरित गरे । अर्कोतर्फ परिवारको आर्थिक अवस्था पनि कमजोर देखेर मामाले पहिला पढ्नका लागि जुम्ला र पछि कालिपोङसम्म पु¥याए । त्यसपछि मामाले नै उनलाई आफैसँग काठमाडौंमा राखेर कला सिकाउने र विद्यालय पढाए । मामाले झिग्मेलाई बिहानी विद्यालयमा भर्ना गरिदिएका थिए । बिहान बालविनोद मावि नाःटोल ललितपुर पढ्न जाने र दिउँसो परम्परागत थाङ्का चित्र सिक्ने र बनाउने काममा उनी लागे ।

० कलायात्राको क्रममा लामो समयसम्म संघर्षका बीच यसै क्षेत्रमा समर्पित भएर लागेको हुनाले उनका कलामा विषय र प्रस्तुतिको संगति मिलेको पाइन्छ । त्यसको फलस्वरुप जीवनका भोगाइका क्रममा दक्षता विकास समेत सबलताका साथ कलाकृतिमा आएको पाइन्छ

पढाइसँगै थाङ्कासम्बन्धी काम मामाबाट सिक्दै अगाडि बढ्ने क्रममा उनले यसको शाास्त्रीय पक्ष, धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्वलाई समेत बुझ्दै गए । २०४६ सालमा एसएलसी परीक्षा दिएपछि उनी पूर्ण रुपमा थाङ्का चित्रकलासम्बन्धी ज्ञान सिक्ने र अभ्यासलाई निरन्तरता दिँदै अगाडि बढे । हुनत् परम्परागत थाङ्का कलासम्बन्धी तालिम वा अध्ययन गुरु उर्गेन लामाबाट २०४४ सालदेखि २०४७ सम्म नियमित रुपमा सिकेको उनले बताए । त्यसपश्चात् पनि उनले केही समय आंशिक रुपमा भए पनि गुरुसँग कला सिकेको सुनाए ।

प्रारम्भिक चरणका कला

उनले सुरुमा थाङ्का कलाको आधारभूत ज्ञान सिक्ने र चित्रका लागि आवश्यक बुद्ध दर्शनको अध्ययन गर्ने काम गर्नुभयो । यसैगरी बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका रेखाचित्र बनाउने, रङ लगाउने तथा तिनका आधारभूत विषयको अधिक अभ्यास गर्नुभयो । यसरी रेखा कोर्न सिक्ने, रङका आधारभूत पक्षको ज्ञान लिने र चित्रका विषय बुझ्ने क्रममै पहिलो चरणको कला यात्रा अगाडि बढेको देखिन्छ ।

यो चरण २०४४ देखि २०४६ सालसम्म रहेको थियो । उनले यसवेला चित्रकलाको ज्ञान लिने र नयाँ नयाँ चित्र सिर्जना गर्ने प्रयत्नलाई निरन्तरता दिँदै अघि बढेका थिए । यतिवेला सिक्ने तथा अभ्यास गर्ने चरण भएकाले कलाको स्तरीयतामा भने स्वभाविक रुपमै कमी रहेको देखिन्छ । यो चरणलाई उनको सङ्घर्षशील समयको रुपमा लिनुपर्दछ । त्यस्तै गरी कलाकृति खरिदकर्ताको खोजीको समय पनि थियो ।

उनको प्रारम्भिक कालमा बनाएका चित्र विशेषगरी साधारण अर्थ लाग्ने सरल किसिमका छोटो समय लगाएर बनाएका चित्र छन् । जसमा रेखाको प्रधानता बढी रहेको छ । विशेष गरी शाक्यमुनि बुद्ध, अमिताभ बुद्ध, गुरु पद्मसमभव, लोकेश्वर, बज्रसत्वहरूको एकल चित्रका साथै बौद्ध धर्म र दर्शनमा आधारित थाङ्काका साथै विभिन्न सजावटका चिन्हहरू, शुभमंगल, मांगलिक कार्यहरूमा प्रयोग हुने चराचुंरुगी, पशु, अष्टमङ्गल आदिका आकृति अङ्कित चित्रहरू, विभिन्न वस्तुहरू जस्तै बाकस, काठ आदिमा बनाएका थिए । ती कलामा प्रायःजसो प्राकृतिक रङको प्रयोग गरिएको थियो ।

दोस्रो चरण

यस चरणमा आइपुग्दा उनले आफूमा परिपक्वतातर्फ अगाडि बढाउँदै लगेको देखिन्छ । कलामा रङ, रेखा र विषयमा आफ्नोपन खोज्ने गरी कलाकार झिग्मेले आफूलाई उभ्याएको देखिन्छ । पहिलो चरणमा सिकेको कलाको ज्ञान र अनुभवलाई व्यवहारिक रुपमा उतार्ने गरी कलाकारले काम गरेको पाइन्छ । सिक्नेवेला हासिल गरेको अनुभवलाई बडो मिहिनेतका साथ उनले अभ्यासलाई निरन्तरता दिँदै थाङ्का कलामा प्रयुक्त आलङ्कारिक पक्षमा काम गरेको पाइन्छ ।

कला सिर्जना गर्ने विषय र कलाको शैली, रङ संयोजनसम्बन्धी विविध पक्षको अध्ययन अनुसन्धान र कार्यगत अनुभवबाट स्तरीय र अर्थपूर्ण कला सिर्जना गर्न सकिन्छ भन्ने अनुभवबाट कलाकार झिग्मे अगाडि बढेको देखिन्छ । यस चरणमा सिर्जना गरिएका चित्रको मूल्य र ती कलाकृतिलाई कलाप्रेमीले विशेष रुचिका साथ खरिद गरेको हुँदा आफूलाई आफ्नो कलाबाट केही हदसम्म सन्तुष्टि मिलेको उनले सुनाए ।

तेस्रो चरण

यस मोड अर्थात् हालको अवस्थासम्म आइपुग्दा कलाकार झिग्मेले आफ्नो कला घेरालाई फराकिलो बनाएको पाइन्छ । विषय, प्रस्तुति, शैली र चिन्तनमा समेत ध्यान दिँदै कलामा आफ्नो भौगोलिक वस्तुस्थितिलाई उनले उधिनेको देखिन्छ । उनका थाङ्कामा देखिने दृश्यको अवलोकन गर्दा मुगुको हिमाली परिवेश, वातावरण तथा भूगोलको प्रस्तुति निकै बिम्बात्मक रुपमा आएको छ । विषयमा स्पष्टता, रङ र रेखाको उचित ढंगले प्रयोग र संयोजन, धार्मिक पक्षको तादम्यतामा बढी ध्यान, बौद्ध धर्मका विविध विषयका चित्र रचना गरेको पाइन्छ ।

कलाकृति र विषय

कलाकार झिग्मेका कलामा विशेषतः आलङ्कारिक, रुपभेदिक तथा वर्णनात्मक पक्षलाई अनुभूत गर्न सकिन्छ । आलङ्कारिकमा उनले बादल, रुख, लहरा, फल तथा फूल, नदी, झर्ना, पोखरी, हिमाल पहाड, ढुङ्गा, चौर, कमल, अग्नि, आदिको प्रयोग गरेको पाइन्छ । त्यस्तै, अलौकिक जनावर, पंक्षी, राक्षस तथा अन्य रहस्यात्मक विषयसमेत अलङ्कारका रुपमा चित्रमा संयोजित गरेको पाइन्छ ।

रुपभेदिक अर्थात् कलाको मुख्य विषयमा उहाँले बुद्ध, बोधिसत्व, रिन्पोछे अर्थात् बौद्ध धर्मका विभिन्न देवदेवी तथा सिद्धपुरुष (गुरु) आदिलाई बनाएका पाइन्छ । तान्त्रिक, अलौकिक, रहस्यात्मक, आध्यात्मिक विषयलाई समेत बिम्बात्मक तथा प्रतीकात्मक ढङ्गले चित्रमा उनेको पाइन्छ ।

वर्णनात्मक विषयमा उनले बुद्ध जीवनी तथा महत्वपूर्ण परिघटना, जातक कथा लगायतलाई समेटेका देखिन्छ । यस्ता कलामा उनले आफ्नो जन्मस्थानको भौगोलिक परिवेश, सामाजिक जनजीवन तथा सांस्कृतिक विषयलाई समेत निकै कलात्मक रुपमा उधिनेको पाइन्छ । उनका कलामा विशेषगरी भूगोलको परिवेशले समेत ठूलो प्रभाव पारेको देखिन्छ ।

उनका चित्रका विशेषतामा भावप्रवाह, रेखा र रङको सुललित प्रयोग, विषयप्रतिको स्पष्टता, जीवनप्रतिको आशावादिता, विभिन्न मुद्रा र आसनको प्रयोग, आयुध र प्रकृतिको आदिको प्रयोग निकै आकर्षक र कलात्मक रहेको पाइन्छ । कलाकार झिग्मेका कलामा हरियो, निलो, रातो, खैरो रङको प्रधानता बढी रहेको पाइन्छ भने अन्य प्राथमिक, माध्यमिक तथा तृतीय वा मिश्रित रङको प्रयोग आवश्यकतानुसार भएको पाइन्छ । परम्परागत थाङ्का कलाको शास्त्रीय पक्षलाई ध्यान दिएर बनाएका उनका कृतिमा मुगुको भौगोलिक तथा वातावरणीय परिवेशलाई उतारेको अनुभूत गर्न सकिन्छ । बादल, पानी, लहरा, रुख तथा फललाई समेत उनले निकै गतिशील रुपमा कलात्मक तबरले प्रस्तुत गरेको देखिन्छ ।

कलाप्रति कलाकारको धारणा

उनले परम्परागत कलामा संसारिक सृष्टिदेखि मोक्षसम्मको ज्ञानको विषय हुने बताए । यसको दार्शनिक तथा सौन्दर्य लगायतका गहन विषयवस्तुका बारेमा बुझ्न पाउनु नै महत्वपूर्ण भएको हुँदा यस कलाप्रति एकदम सम्मानपूर्ण धारणा रहेको छ । सभ्य, शिष्ट र चिन्तन मननशील विषयवस्तु भएकाले यस कलाको यात्रा गर्नेक्रममा ज्ञानका प्रतीक मञ्जुश्रीको कला सिर्जना गर्दै आफूमा ज्ञानको दक्षताको विकास भएको उनी सम्झिनुहुन्छ ।

उनी भन्छन्, ‘अवलोकेश्वरको कला सिर्जना गर्दा करुणाको भाव विकास भएको अनुभव हुन्छ । त्यसैगरी बज्रापाणीको कला सिर्जना गर्दा अन्तरआत्मादेखि परहितको शक्ति उत्पन्न भएको महशुस गर्नुपर्ने भएकाले त्यसै प्रकारको भाव चिन्तन मननको विकास हुन्छ र गर्नुपर्ने हुन्छ ।’ यस कलाले केबल कलाकृति सिर्जना मात्रै नभई कलाकार सम्पूर्ण रुपमा उसको जीवनशैलीमा सकारात्मक प्रभाव परेको हुनुपर्छ । साथै कलाका उपभोक्ताले पनि त्यसको मूलमर्म बुझेर उपभोग गरेमा उसको जीवनमा पनि सकारात्मक प्रभाव पर्ने तर्क उनको रहेको छ । कलाकार झिग्मेले सही चिन्तनका साथ विषयवस्तुको भावलाई बुझी कला बनाएमा त्यसले सिर्जना र प्रस्तुतिकरणका साथै दक्षता विकासमा ठूलो मद्दत मिल्ने बताए । कला सिर्जना गर्ने कलाकृतिको अर्थ र त्यसको मूलभाव बुझेर काम गरेमा त्यसको सही रुपमा भाव र प्रस्तुतिकरण हुनसक्दछ ।

उनले सिर्जना गरेका अधिक कलाकृति विशेष गरी हिमालयन बुद्धिष्ट कला हिमाली बौद्ध परम्परामा आधारित रहेर बनाएको देखिन्छ । जसमा विभिन्न शैलीको प्रभाव परेको देखिन्छ । खासमा तिब्बेतन शैलीको प्रभाव पनि परेको पाइन्छन । त्यसमध्ये विशेष रुपमा चाङडी हो । कार्मापा मिक्यो दोर्जेले प्रतिपादन गरेको कर्मा घाडी शैलीको थाङ्का कला बढी मात्रमा सिर्जना गर्न मन पराउने उनले जानकारी दिए ।

कलाक्षेत्रमा गर्नुपर्ने कार्य

नेपालमा परम्परागत थाङ्का कलाको विकासमा राज्य, विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठान, कलासम्बन्धी संघसंस्था, व्यापारिक प्रतिष्ठान, गैरसरकारी संस्था लगायतले यसको महत्व र आवश्यकतालाई आममानिससम्म लैजान भूमिका खेल्नुपर्दछ । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश हुनुका साथै यो देश प्राचीनताले भरिपूर्ण देश भएकोले यसको भूमिका युगौंयुगदेखि चलिआएको संस्कृति एवं धार्मिक आस्थाका विषयहरू प्रशस्त मात्रमा पाइन्छन् ।

ती विषयवस्तुका बारेमा सारा विश्वले चासो राखेको हुन्छ । जुन चिजहरू परम्परागत थाङ्का र पौभाको माध्यमबाट प्रस्तुत गर्न सकिने भएको हुँदा यसको माग विश्वभर भएको देखिन्छ । अर्कोतर्फ बौद्ध दर्शनको विकाससँगै यस कलाको पनि विकास हुने भएकाले यसका निम्ति कलाकार, संघ–संस्था, प्रतिष्ठान, राज्यका औपचारिक संयन्त्र तथा विश्वविद्यालयले महत्व दिएर काम गर्नुपर्नेमा उनको जोड छ । कलाकार झिग्मेले अन्य कलाजस्तै यस कलाका बारेमा ज्ञान लिने औपचारिक संघ–संस्थाको कमी र सरकारी स्तरबाट पनि यस्तो गहन र महत्वपूर्ण विषयप्रति कुनै प्राथमिकताका साथ नीति तथा कार्यक्रम नभएका कारण यो कला स्तरीय र मर्यादित रुपमा विकास नभएको महशुस गरेको बताउँछन् ।

उनले अझ विस्तृत रुपमा यस क्षेत्रलाई अगाडि लैजान विभिन्न संघ–संस्थासँग मिली कलासम्बन्धी गोष्ठीको आयोजना गर्ने र विभिन्न पिछडिएका क्षेत्रका युवायुवतीलाई कलामार्फत स्वरोजगार बन्ने तालिम दिने, कला संरक्षणको लागि जनचेतनामुलक कार्यक्रम गर्ने आदि गर्न सकिनेमा जोड दिए ।

आधारित थाङ्काका साथै विभिन्न सजावटका चिन्हहरू, शुभमंगल, मांगलिक कार्यहरूमा प्रयोग हुने चराचुंरुगी, पशु, अष्टमङ्गल आदिका आकृति अङ्कित चित्रहरू, विभिन्न वस्तुहरू जस्तै बाकस, काठ आदिमा बनाएका थिए । ती कलामा प्रायःजसो प्राकृतिक रङको प्रयोग गरिएको थियो

त्यस्तै, सरकारी क्षेत्रबाट कला र यसको विशिष्टतालाई मूलधारको कार्यक्रममा ल्याइ यसका बारेमा ठोस नीति बनाउनुपर्नेमा उनको जोड छ । जस्तै विद्यालयमा औपचारिक शिक्षा, प्राथमिक तहदेखि विश्वविद्यालयसम्म अनिवार्य विषयमा नेपालमा प्रचलित कला र कलाकारका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको आग्रह राज्यसँग रहेको छ । विद्युतीय प्रसारणका विभिन्न माध्यमबाट पनि यो कलाका बारेमा कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘यो कलाको प्रयोग, विषयवस्तुको महत्व, अध्ययन गर्ने केन्द्र, विकास र उपभोक्तासम्म थाङ्का कलाका बारेमा राम्रो आदि सम्पूर्ण रुपमा सबै क्षेत्रमा पुर्याउन सकेमा यसको विकास अवश्य हुनेमा दुईमत छैन ।’

उपसंहार

नेपाली परम्परागत कलाको हिमाली सौन्दर्य चेतनालाई जागृत गर्दै अगाडि बढाउने काममा कलाकार झिग्मेको विशेष भूमिका रहन गएको छ । कलायात्राको क्रममा लामो समयसम्म संघर्षका बीच यसै क्षेत्रमा समर्पित भएर लागेको हुनाले उनका कलामा विषय र प्रस्तुतिको संगति मिलेको पाइन्छ । त्यसको फलस्वरुप जीवनका भोगाइका क्रममा दक्षता विकास समेत सबलताका साथ कलाकृतिमा आएको पाइन्छ । कलामा देखिने सौम्य प्रस्तुतिले कलाकार झिग्मेको पहिचान नेपाली कला क्षेत्रमा थाङ्का कलाकारको रुपमा रहन गएको छ ।

प्रतिक्रिया