क्याडेट जुडोका लागि खेलाडी छनोट बुधबार

काठमाडौ, ४ मंसिर । बंगलादेशको ढाकामा हुने ‘जुडो फर पिस’ दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपका लागि नेपाल जुडो संघले खेलाडी छनोट गर्न बुधबार छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २० देखि २३ मंसिरसम्म हुने उक्त च्याम्पियनसिपको दोस्रो संस्करणमा दुई भिन्नाभिन्नै उमेरसमूहमा कुल २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । १० वर्षदेखि १३ वर्षमुनि पुरुष र महिलामा समान ६–६ स्वर्णका लागि खेल हुनेछ । त्यस्तै १३ वर्षमाथिदेखि १६ वर्षमुनि पुरुष र महिलामा त्यत्ति नै स्वर्णका लागि भिडन्त हुनेछ ।

च्याम्पियनसिपका दौरान ढाकामै सेमिनार पनि हुनेछ । त्यसमा पनि नेपालको सहभागिता रहने बताइएको छ । जुडो संघले सबै २४ स्पर्धामा खेलाडी सहभागी गराउने लक्ष्य राखेको छ । छनोट प्रतियोगिताका दिन सहभागी हुने खेलाडीको संख्याको आधारमा यकिन संख्या निर्धारण हुने जुडो संघले जनाएको छ ।
च्याम्पियनसिपको पहिलो संस्करण नेपालमै सन् २०११ को जुलाईमा काठमाडौंमा भएको थियो । त्यसबेला नेपाल ७ स्वर्णसहित दोस्रो भएको थियो । छनोट प्रतिस्पर्धा खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रको हलमा हुनेछ ।

प्रतिक्रिया