पाँच दलीय गठबन्धनले ठूलो मूल्य चुकाउनुपर्ने संकेत

आसन्न स्थानीय निर्वाचनमा सत्ताधारी पाँचदलीय गठबन्धनबीच तालमेल गर्ने सहमति गत साउनमै भएको हो । यो सहमतिको सूत्रधार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुन् । पार्टी विभाजन अघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माधव नेपालले स्थानीय निर्वाचनमा तालमेल गर्ने सर्त राखेका थिए । यसैगरी पाँचदलीय चुनावी तालमेलका मुख्य प्रवक्ता रामचन्द्र पौडेल हुन् । बास्तवमा भन्ने हो भने सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चुनावी गठबन्धन गर्ने या नगर्ने पक्षबीच चुनाव भएको थियो । तालमेल गर्ने पक्षले चुनाव जितेको थियो । सभापति देउवा र वरिष्ठ नेता पौडेल तालमेल गर्ने पक्षमा उभिएका थिए भने डा.शेखर कोइराला र विमलेन्द्र निधि तालमेल नगर्ने पक्षमा उभिएर भोट मागेका थिए । तर अहिले व्यवहारमा हेर्दा सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा पाँच दलीय तालमेल भएन, कांग्रेस एक्लै अघि बढ्यो, माओवादी केन्द्र र संघीय समाजवादी पार्टी आआफ्नो बाटो रोज्न बाध्य भए । माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा पनि पा“चदलीय गठबन्धनबीच तालमेल भएन । यतिसम्मकी कांग्रेसका वरिष्ठ नेता पौडेलको घर रहेको काठमाडौं महानगरपालिका–१६ र एकीकृत समाजवादीका अध्यक्ष नेपालको घर रहेको वडा–३२ मा पनि चुनावी तालमेल भएन । तर कांग्रेसको इतरपक्षका नेता डा. शेखर कोइरालाको गृह जिल्ला मोरङ र गान्धीवादी नेता विमलेन्द्र निधिको गृहजिल्ला धुनुषामा भने वटा तहसम्म नै पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

तालमेलका सूत्रधारका रूपमा रहेका शीर्ष नेताहरूको गृह जिल्लामा एक्लाएक्लै उम्मेदवारी प्रस्तुत गरिनुको कारण उनीहरूको असक्षमता हो या ? भित्रभित्रै अर्कै खिचडी पाकिरहेको छ ? भन्ने प्रश्न राजनीतिक वृत्तमा खडा भएको छ । आफ्नो गृह जिल्लामा एक्लै अघि बढ्ने तर अरू जिल्लामा अन्य पार्टीलाई अवसर दिने भन्दै नेपाली कांग्रेसभित्र थप असन्तुष्टि देखिएको छ । कांग्रेस भित्रको यो असन्तुष्टिले माओवादी केन्द्र र तथा एकीकृत समाजवादीका लागि झन् प्रत्युत्पादक हुने लक्षण देखाएको छ । गठबन्धनको छलफलमा हप्तौँ समय बिताउने अन्तिममा आएर एक्लाएक्लै अघि बढ्नु भनेको राजनीतिक बेइमानी मात्रै होइन असक्षमतासमेत हो । आपूmहरूलाई जबर्जस्ती गठबन्धनको भारी बोकाइएको महसुस स्थानीयतहका कार्यकर्ताहरूले गरेका छन् । कतिपय पालिकाहरूमा त तालमेलका कारण उम्मेदवार हुनबाट वञ्चित हुनुपरेको आक्रोश कुटाकुटमा परिणत भएको छ । कतिपय पालिकामा उम्मेदवारहरू नै घाइते भएका छन् । जसले अधिकांश स्थानमा कार्यकर्तालाई निराश र आक्रोशित बनाएको छ ।

गठबन्धन हुने भएपछि सजिलै चुनाव जितिन्छ भन्दै जनताबाट टाढा भइसकेका कार्यकर्ता तथा व्यापारीहरूलाई टिकट थमाउने गल्तीसमेत दलहरूले गरेका छन् । उम्मेदवार छान्दा पार्टीमा गरेको लगानी र जनमतको कदर पहिलो सर्त हुनुपर्ने थियो । यस्तो परम्परा बसालेको भए आपसमै कुटाकुट हुने थिएन । आपसमै कुटाकुट हुने गरी अलोकप्रिय व्यक्तिलाई टिकट दिइयो, तर अधिकांश स्थानमा तालमेल गरिएन । अब पाँच दलीय गठबन्धनले चुकाउनुपर्ने मूल्य सानो हुने छैन । चुनावी तालमेलको यत्रो बाजा बजाउँदासमेत एमाले नै पहिलो दल बन्यो भने एकीकृत समाजवादी पार्टी त सकिन्छ नै, कांग्रेस र माओवादी केन्द्रले पनि निकै ठूलो मूल्य चुकाउनु पर्नेछ । भन्छन्, ‘बिहानले दिनको लक्षण देखाउँछ ।’

उम्मेदवारीसम्म पनि बेलामा टुंगो लगाउन नसक्ने, यत्रो पूर्व तयारी गर्दासमेत चुनावी तालमेललाई निष्कर्षकमा पुर्याउन नसक्ने दलहरूले निर्वाचनपछि देश चलाउँछन् भनेर जनताले कसरी पत्याउने ? अहिले आएर के देखिएको छ भने दलका शीर्ष नेताहरूले उम्मेदवारी वितरणलाई बपौती ठानेका रहेछन् । स्थानीय यथार्थ र कार्यकर्ताको भावनाको उपेक्षा गरेर आप्mना कृपापात्रलाई अगाडि सार्ने काम भएको छ । प्रतिस्पर्धी नेता वा कार्यकर्ताको तेजोवध गर्ने खेल पनि उम्मेदवारी चयनमा देखिएको छ । अझै पनि समय घर्किएको छैन । मतदानको अघिल्लो दिनसम्म पनि उम्मेदवारी निष्क्रिय बनाएर तालमेल गर्न सकिन्छ ।

प्रतिक्रिया