अलमुताइरीद्वारा महिला टोलीसँग अन्तरक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष दुवै टोली अहिले प्रशिक्षणमा व्यस्त छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष टोलीको प्रशिक्षण कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरिहेका छन् । एसियन कप छनोटको तयारीमा रहेको महिला टोलीको प्रशिक्षक ग्यारी फिलिप्स भने अहिले अष्ट्रेलियामा छन् । फिलिप्स अष्ट्रेलियामा रहेपनि महिला टोलीको प्रशिक्षण गत साताबाट सुरु भइसकेको छ । उनीले आफू नर्फदा सम्म टोलीको प्रशिक्षणमा सहायक प्रशिक्षक चेतन घिमिरे, अरुणा गुरुङ लगायत रहेका छन् । फिलिप्सले टोलीको निरीक्षण र संयोजनका लागि आग्रह गरे अनुरुप महिला विभागका संयोजक हरि खड्काले पनि टोलीलाई हेरिरहेका छन् ।

शुक्रबार बिहान महिला टोलीको नियमित प्रशिक्षणपछि पुरुष टोलीका प्रशिक्षक अलमुताइरीले महिला टोलीसँग केहि समय अन्तरक्रिया गर्न चाहेकोले समय दिएको खड्काले बताए । ‘राष्ट्रिय टोलीको प्रशिक्षकले केहि भन्छु भनेपछि मौका दिनु पर्छ भन्ने लागेर समय दियौं,’ खड्काले भने,‘ उनले झन्डै ३ वर्षअघि विरानगरमा भएको साफ च्याम्पियनसिपको नेपाल र भारतबीचको फाइनलको भिडियो हेरेको प्रसंग सेयर गरे । राम्रो खेल्दा खेल्दै पनि बढी उत्साहित भएर खेल विग्रेको हुन सक्ने अनुमान गरे । केहि सुझाव पनि दिए ।’

खड्काकै प्रशिक्षणमा नेपालले साफ च्याम्पिनसिप र डेढ बर्षअघि स्वदेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फाइनल खेलेको थियो । दुवैमा नेपाल पराजित भएको थियो । सागमा पराजित भएसँगै खड्काले हारको जिम्मेवारी लिदै मुख्य प्रशिक्षक पदबाट राजीनामा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका खड्का अहिले पनि एन्फाको महिला विभागका प्रमुख हुन् । खड्काका आनुसार मुख्य प्रशिक्षक फिलिप्सले महिला टोलीको प्रशिक्षण योजनाहरु पठाएका छन् ।

एएफसी महिला एसिया कप छनोटका लागि अहिले ४५ खेलाडी प्रशिक्षमा छन् । छनोटको समूह एफमा नेपाल फिलिपिन्स र हङकङसँग रहेको छ । भदौ २८ देखि असोज ९ गते भित्र दशरथ रंगशाला वा पोखरा रंगशालामा समूह एफका खेल हुनेछन् । समूहको विजेता टोलीले भारतमा अर्को वर्ष आयोजना हुने एएफसी एसिया कप खेल्नेछ ।

प्रतिक्रिया