आईएमई ग्रुप र इन्डोनेसियाको नुसन्तराले ऊर्जा विकासमा साझेदारी गर्ने

काठमाडौं । आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई ग्रुपमा मंगलबार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो । यस समझदारी अन्तर्गत, पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ ।

पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ । यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ । आईएमई ग्रुका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटनपूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।

स्वीस इन्भेष्टमेन्टले १ अर्ब ३२ करोड लगानी गर्ने


स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् ।

उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषी, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

नेपाल स्थित स्विट्जरल्याण्डको दुतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेको छ ।

प्रतिक्रिया