बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले केवल पैदल यात्रा गरे । कतै कुनै ठाउँमा कुनै सबारी साधनको उपयोग गरेनन् । नदी तर्नको लागि डुंगाको सहायता लिएको हुन सक्छ । जमिनमा सुत्नु, निरन्तर यात्रा गर्नु, आफैँले भिक्षाटन गर्नु, एक दिनमा केवल एक जनाको घरबाट मात्र भिक्षा लिनु, दिनमा केवल एक पटक भोजन गर्नु र निरन्तर ध्यान तथा साधना गर्नु, प्रवचन दिनु तथागतका दैनिकी थिए । भगवान बुद्ध जीवनको अन्तिम समयसम्म पनि उपदेश दिएको देखिन्छ ।
ऐतिहासिक स्रोतहरुका आधारमा, बुद्धको समयमा भारतवर्षमा मानिएका शक्तिशाली राज्यहरुमा अंग, मगध, कोसल, काशी, बृज्जि (बज्जी), मल्ल, चेदी, कुरु, पाञ्चाल, मत्स्य, सौरसेन, अष्मक, अवन्ती, गन्धार तथा कम्बोज थिए । त्यत्ति बेला दुई किसिमका राज्य प्रणालीहरु थिए – ‘राजाको आधिपत्य भएका र राजाको आधिपत्य नभएका ।’
राजाको आधिपत्य नभएका राज्यहरुमा कपिलवस्तुको शाक्य, पावा तथा कुसीनाराका मल्ल, वैशालीको लिच्छवि, मिथिलाको विदेह, रामगामको कोलिय, अल्लकप्पको बुलि, रेसपुत्तको कलिङ्ग, पिप्पलवनको मौर्य तथा भग्गवाभर्ग (जसको राजधानी सिसुमार गिरी) थिए । त्यस समय राजाको अधिकार नभएका राज्यहरुलाई संघ वा गण भनिन्थ्यो । कपिलवस्तुका शाक्यहरुको शासन पद्धति सम्बन्धमा त्यहाँ जनतन्त्रवाद थियो वा थोरै मानिसहरुद्वारा गरिने शासन प्रणाली थियो, त्यसबारे धेरै जानकारी प्राप्त छैन । शाक्यहरुको जनतन्त्रवादमा शासन गर्ने परिवारको संख्या धेरै थिए र तिनीहरु एकपछि अर्कोले क्रमशःशासन गर्ने गरेको भन्न सकिन्छ । राजकीय परिवारको मुखियालाई राजा भनिन्थ्यो । सिद्धार्थ गौतम जन्मने बेलामा शुद्धोदनको राजा हुने पालो थियो ।
सिद्धार्थ गौतमले उन्तीस वर्षको उमेरमा गृहत्याग गरी मनको शान्तिका साथ दुनियाँलाई मुक्ति गराउने मार्गको खोजीमा निस्केका थिए । करिब छ– सात वर्षको कठोर तपस्याबाट बुद्धले ज्ञान प्राप्त गरेका थिए । बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बोधगया हो । गयाको एक छेउमा रहेको यो ठाउँलाई बोधगया भनिएको हो जुन आफैमा पर्यटकीय क्षेत्र पनि हो । हरेक दिन देश विदेशबाट मानिस त्यहाँ पुगिरहेका हुन्छन् । बुद्धत्व प्राप्त गरेपछि उनी सिद्धार्थ गौतमबाट गौतम बुद्ध भए । तथागत तथा श्रमण आदि अनेक नामबाट बोलाइए बुद्ध । बुद्धले पहिलो उपदेश काशी अर्थात् बनारस नजिक रहेको सारनाथमा दिएका हुन् । बुद्धले धेरै समय बिताएका ठाउँहरुमा सारनाथ, जेतवन र राजगृह हुन् । यीमध्ये भगवान बुद्धले सबैभन्दा बढी समय श्रावस्तीको जेतवनमा बिताएका थिए । भनिन्छ, बुद्धत्व प्राप्त गरेपछिको करिब चौध वर्ष बुद्धले जेतवनमा बिताएका थिए । अनि यात्राको दृष्टिकोणले पचहत्तर पटक जेतवन, चौबिस पटक राजगृह अनेकौँ पटक सारनाथ पुगेका थिए । भगवान बुद्ध कम्तीमा छ पटक वैशाली पुगेका थिए ।
बज्जी गणतन्त्रको राजधानी वैशाली थियो । वैशालीका बासिन्दालाई लिच्छवि पनि भनिन्थ्यो । बज्जी र लिच्छवि उही हुन् पनि भन्ने गरिन्छ । बज्जीहरुसित बुद्धको निकटको सम्बन्ध थियो । सिद्धार्थ गौतमको विवाहमा पनि लिच्छविहरु पुगेका थिए । भनिन्छ, राजा शुद्धोदनले बज्जी गणतन्त्रका राजासँग आम्रपालीलाई लिएर आउन भनेका थिए । आम्रपाली शक्तिशाली गणिका थिइन् । उनको मर्यादा निकै उच्च थियो । शुद्धोदनले आफ्नो मान बढाउनका लागि पालकीमा नगरबधू अम्बपालीलाई बोलाएका थिए । त्यसपछि जब सिद्धार्थ गौतमले गृहत्याग गरे, तब वैशाली हुँदै राजगृहतर्फ गएका थिए । भगवान बुद्धलाई वैशाली मनपर्ने स्थानहरुमध्ये एक थियो । वैशालीको शासन पद्धति तथा नागरिकको व्यवहारबारे सिद्धार्थले आनन्दसित पटक पटक कुरो गरेका थिए ।
बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले केवल पैदल यात्रा गरे । कतै कुनै ठाउँमा कुनै सबारी साधनको उपयोग गरेनन् । नदी तर्नको लागि डुंगाको सहायता लिएको हुन सक्छ । जमिनमा सुत्नु, निरन्तर यात्रा गर्नु, आफैँले भिक्षाटन गर्नु, एक दिनमा केवल एक जनाको घरबाट मात्र भिक्षा लिनु, दिनमा केवल एक पटक भोजन गर्नु र निरन्तर ध्यान तथा साधना गर्नु, प्रवचन दिनु तथागतका दैनिकी थिए । भगवान बुद्ध जीवनको अन्तिम समयसम्म पनि उपदेश दिएको देखिन्छ । राजगृहको गृध्रकुट पर्वतबाट, भगवान बुद्धको जीवनको अन्तिम यात्राको क्रममा,चारिका, अम्बल ट्ठिाका, नालन्दा, पाटलीग्राम (पाटलीपुत्र), कोटिग्राम, नादिकाहुँदै वैशाली पुगेका थिए ।
वैशाली भगवान महावीरको जन्मस्थान पनि थियो र त्यहाँ जैन मतको एउटा गढ पनि थियो । भनिन्छ, त्यसबेला वैशालीमा अनिकाल परेको थियो । अनिकालले धेरै मानिसको मृत्यु भइरहेको थियो । वैशालीका मानिसहरुले आमसभा बोलाएर ठुलो छलफल गरे । कुनै पनि महत्वपूर्ण निर्णयमा त्यहाँ सबैको सहभागिता हुनुपर्ने प्रजातान्त्रिक व्यवस्था रहेको थियो । ठुलो छलफलपछि सभाले तथागतलाई वैशालीमा आमन्त्रण गर्ने निर्णय गरी वैशालीका पुरोहित–पुत्र र महालीनामको लिच्छविलाई निमन्त्रणा दिन पठाए । बुद्धले निमन्त्रणा स्वीकार गरी पाँच सय भिक्षुहरुका साथ बज्जीहरुको सिमानामा प्रवेश गरे । भनिन्छ, जतिबेला तथागतले बज्जी भूमिमा पाइला टेके, त्यत्तिबेला ठुलो जोरले आँधी चल्यो अनि मुसलधारे वर्षा भयो त्यसपछि अनिकाल समाप्त भयो । वैशालीका किसान तथा व्यवसायीहरुले बुद्धको झन् भव्य स्वागत गरे ।
केही समय विश्राम गरेर बुद्ध सम्पूर्ण अनुयायी भिक्षुहरुलाई वैशालीमै रोकी वर्षावासका लागि राजगृह फर्के र वर्षा सकिना साथ पुनःफर्केर आए । केही समय बसेर भगवान बुद्ध निस्कने बेलामा आनन्दसित भने – ‘आनन्द ! अब तथागतको यो अन्तिम वैशाली दर्शन हुनेछ ।’ पुरानु सहरको उत्तरी सिमानासम्म पुग्दा बुद्धलाई हजारौँले पछ्याएका थिए । बज्जीहरुको प्रेम र श्रद्धा अत्यन्त हार्दिक थियो । सबैले भगवान बुद्ध भनेर सम्बोधन गरे पनि उनी एक भिक्षु पनि थिए । बुद्धले सिमानामा वैशालीका मानिसहरुलाई ‘स्मृतिको रूपमा आफ्नो भिक्षापात्र’दिए । वैशालीलाई भगवान बुद्धको यो निकै ठुलो उपहार थियो । वैशालीलाई गरिएको सम्मान थियो ।
एक समयको कुरो हो । भगवान बुद्धलार्इ भोजनको लागि अम्बपालीले निमन्त्रण गरेकी थिइन् । भगवान बुद्धले निम्तो स्वीकार गरिसकेका थिए । बुद्धलाई वैशालीमा रहेको आफ्नो निजी आम्रवन (आँपको ठुलो बगैंचा)बास समेतको निम्तो दिइसकेपछि वैशालीका राजकुमार तथा कुलीन युवाहरुले पनि निम्तो दिन जाँदा अस्वीकार गरे । बुद्धले आम्रवनमा अभूतपूर्व प्रवचन दिए । गणिका आम्रपालीले आफ्नो आम्रवन नै भिक्षुसंघलाई दिइन् । आफू पनि भिक्षु संघको सदस्य हुने इच्छा व्यक्त गरिन् । श्रमण सम्पूर्णतः सन्तुष्ट थिए, प्रसन्न थिए । उनको लागि राजा र रंकमा कुनै फरक थिएन । सबै माथि बुद्धको समान दया, कृपा र सम्मान थियो भन्ने कुरा नगरबधूको सम्मान गरेबाट स्पष्ट हुन्छ ।
आम्रपालीले प्रतिबद्धता गरेजस्तै बौद्ध धर्म अपनाइन् पछि गएर । भनिन्छ, आम्रपालीले भगवान बुद्धलाई केन्द्रमा राखेर सत्तरी ओटा भजनहरुको रचना गरेकी थिइन् । भनिन्छ, वैशालीका बज्जीहरुको भाषा बज्जिका थियो । अहिले पनि बज्जिका भाषाको जन्मस्थल वैशालीलाई नै मानिन्छ । आम्रपालीले मातृभाषामा नै भजनहरुको रचना गरेकी थिइन् रे । अझै पनि ‘त्रिपिटक परिचय’भन्ने ग्रन्थमा आम्रपालीको एउटा भजन उदाहरणको रुपमा दिइएको छ । पुस्तक हिन्दी भाषामा रहेकोले भजन पनि हिन्दी भाषामा उपलब्ध छ ।
अहिले पनि वैशाली बौद्ध धर्मावलम्बीका लागि तीर्थस्थल रहेको छ । बुद्धले उपदेश दिएको ठाउँमा अशोकले स्तम्भ बनाइएका छन् । पुराना बौद्धस्तूप तथा अन्य सामग्रीहरु यहाँ रहेका छन् । कैयौँ देशले विभिन्न आकृतिका भवनहरु बनाएका छन् । अनि, करोडौँको संख्यामा रहेका बज्जिका मातृभाषीको लागि बज्जिका भाषाको जन्मस्थलको हिसाबले स्वाभाविक रुपमा तीर्थ स्थल बनेको छ । भगवान बुद्धले बज्जीलाई अत्यन्त माया गरेको तथा बज्जी क्षेत्रमा पटकपटक उपदेशहरु दिएको हुनाले अहिले पनि बज्जी र बुद्धको सम्बन्ध देख्न सकिन्छ ।
आधुनिक बज्जीहरुले बुद्धसित सम्बन्धित विभिन्न साहित्यको सिर्जना गरेका छन् । बुद्ध तथा अम्बपालीको विषयमा महाकाव्य तथा खण्काव्यहरु लेखिएका छन् । भारतमा महापंडित उपाधिले विभूषित राहुल सांकृत्यायनले बुद्ध र बज्जीको सम्बन्धबारे केही प्रकाश पारेका छन् । यसै गरी महान् विद्वान् डा. भीमराव अम्बेडकरले पनि आफ्नो पुस्तक ‘भगवान बुद्ध र उहाँको धर्म’ भन्ने पुस्तकमा बुद्ध र बज्जीबारे पर्याप्त चर्चा गरेका छन् । बुद्ध पूर्णिमाको दिन सार्वजनिक हुने गरी मैले पनि बज्जिका भाषामा ‘बुद्ध’ महाकाव्य लेखेको छु । अनुसन्धानकर्मीहरुले भगवान बुद्ध र बज्जिका भाषाको सम्बन्धबारे पनि पर्याप्त प्रकाश पार्ने गरेका छन् । बुद्ध, बज्जी र बज्जिकाको सन्दर्भले बज्जिका मातृभाषा र मातृभाषीको सम्मान बढ्ने गरेको छ ।
भगवान बुद्धको जीवन सबैका लागि प्रेरणादायी रहेको छ । बुद्धको उपदेश त जति बुझ्यो त्यति विशाल गहिरो हुने रहेछ । संसारले शान्तिको अग्रदूत मानेको, एसियाको तारा भनेर सम्बोधन गरिएको बुद्धको जीवनमा त्याग र कर्मको सन्देश प्रबल रहेको छ । मानिसले चाहेमा सबै प्रश्नको उत्तर खोज्न सक्छ । बुद्धको महान् त्याग र तपस्याले संसारलाई सदाकाल आलोकित पारिरहने छ ।
प्रतिक्रिया