टिके राजनीतिको दादागिरी

पार्टीले रामकुमारी झाँक्रीलाई १ हप्ताको समय दिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । झाँक्रीको राजनीतिक इतिहास हेर्दा उनी झुकेको देखिँदैन । झाँक्री नझुक्ने र पार्टी नरोकिने अवस्था आयो भने एकीकृत समाजवादी थप संकटमा पर्ने देखिन्छ । तर, यस्तो अवस्थालाई दृष्टिगत गर्दै जिम्मेवार नेताहरूले बीचको बाटो खोज्नु नै बुद्धिमता हुनेछ ।

धनराज वास्तविक

नेपाल लोकतान्त्रीकरणको प्रक्रियामा संक्रमण भइरहेको मुलुक हो । लोकतन्त्रलाई बलियो बनाउनका निम्ति लोकतान्त्रीकरणको अपरिहार्यताको बारेमा एउटा सानो लेखमा व्याख्या गर्न सम्भव छैन । लोकतन्त्रका मुख्य आधारहरू सुशासन, सहभागिता, प्रतिष्पर्धा, विधिको शासन, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, न्यायीक निरूपणजस्ता कुराहरू हुन् । नेपालको वर्तमान अवस्थामा यी सन्दर्भहरूको बारेमा आममान्छेहरू थोरधेर जानकार नै छन् ।


अहिले मुलकको लोकतन्त्रमाथि अनेकौँ प्रकारका प्रश्नहरू उठिरहेका छन् । सत्ता र शक्तिमा रहेकाहरूले कमजोर र निर्धाहरूको आवाज बन्द गर्ने कोशिससमेत गरिरहेका छन् । खासगरी वर्तमान लोकतन्त्रका निम्ति लडेको मिडियामाथि आज राज्यले अनेकन बाहाना बनाएर प्रतिशोध साँधिरहेको छ । मिडियाकर्मीले प्रश्न गरेकै भरमा राज्यले थुन्ने, मुद्दा चलाउनेजस्ता काम गरेको छ । स्वतन्त्रताको नाममा स्वच्छन्दता लोकतन्त्रले मान्दैन भन्ने कुरा मिडिया जगतलाई पनि ज्ञात हुनुपर्छ । तथापी स–सना कमजोरी गरेकै भरमा अधिकार र क्षेत्राधिकार मिचेर कारबाही गर्ने, थुन्नेसम्मका काम गर्नु लोकतन्त्र विरोधी हर्कत हो ।

प्रतिनिधिमूलक उदारणका रूपमा दृष्टि साप्ताहिकका प्रधानसम्पादक शम्भु श्रेष्ठले यतिबेला अदालती अवहेलनाको मुद्दा खेपिरहेको विषयलाई लिन सकिन्छ । सामान्यतया न्यायिक सिद्धान्तका मूल्य मान्यतासमेतलाई मात गर्नेेगरी फुल बेञ्च बस्नेदेखि फौजदारी मुद्दा लगाउनेसम्मका काम भइरहेका छन् । जुन विषय प्रेस काउन्सिलले सहजै समाधान गर्न सक्थ्यो र गल्ती भएकै रहेछ भने पनि सचेत गराउन सक्थ्यो ।

पार्टीको आन्तरिक लोकतन्त्र

आज सञ्चार जगतले भोगिरहेको जस्तै पीडा पार्टीको आन्तरिक लोकतन्त्रले पनि भोगिरहेको छ । भनिन्छ, जनवादबिनाको केन्द्रीयता निरंकुश हुन्छ भने केन्द्रीयताबिनाको जनवाद अराजक हुन्छ । स्थापित राजनीतिक दलहरू हुन् या नयाँ ? हामीले वर्तमान समयमा देखे÷भोगिरहेका हरेक दलहरूको आन्तरिक लोकतन्त्र मृतप्रायः छ । राजनीति दलहरूको आन्तरिक लोकतन्त्र बलियो भएन भने मुलुकको लोकतन्त्र बलियो बन्न सक्दैन ।

भन्नलाई नेपाली कांग्रेस मुलुकको सबैभन्दा बढी लोकतान्त्रिक दल भनिन्छ । तर, उक्त दलको केन्द्रीय, प्रदेश र जिल्ला तहको नेतृत्वको आलोचना गरेकै भरमा पार्टीले नेताहरूलाई निष्काशन गरिहेको छ । कांग्रेस नेतृत्वसमेत यति अलोकतान्त्रिक र निर्मम बनेको समयमा कम्युनिस्ट पार्टी र अन्य नयाँ पार्टीको अवस्था कस्तो होला ? सामान्य मानिसले समेत सहज अनुमान गर्न सक्छन् ।

नेकपा एमालेबाट भीम रावल निष्काशन पर्नुको एउटै कारण हो नेतृत्वको खरो, दरो र यथार्थ आलोचना । रावल आज घर न घाटको अवस्थामा छन् । पछिल्लो समय विन्दा पाण्डे, उषा किरणलाई एमाले पार्टीले कारबाही गरेको थियो । उनीहरूले पार्टी केन्द्रीय कार्यालय पार्टीकै सम्पत्तिबाट निर्माण गर्नुपर्ने राजनीतिक कुरा गरेका थिए । तीनै कुरा सामाजिक सञ्जालमा लेखेका थिए ।

अहिले नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको निकै चर्चा भइरहेको छ । १३ देखि २४ असारसम्म बसेको लम्बेतान पार्टीको केन्द्रीय सचिवालय बैठकले अन्य के कति विषयमा छलफल र निर्णय ग¥यो ? त्यो सबै छायामा प¥यो । चर्चाको केन्द्र भागमा रामकुमारी झाँक्रीको एउटा अभिव्यक्ति रह्यो । १४ असारमा लुम्बिनी युवा संघ नेपालको भेलामा पार्टी र पार्टी अध्यक्ष माधव नेपालमाथि अख्तियारले भ्रष्टचार मुद्दा चलाएपछि अनेकौँ प्रश्न उठेको सन्दर्भ उल्लेख गर्दै झाँक्रीले पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूसमेत अनैतिक गतिविधिमा संलग्न रहेका समाचार आइरहेको अवस्थामा पार्टीलाई पोखरी नभएर नदी बनाउनुपर्ने, अर्ली महाधिवेशन गर्नुपर्ने सन्दर्भलाई उल्लेख गरेकी थिइन् । साथै उनले ‘सिनो’ शब्द प्रयोग गर्दै कडा रूपमा प्रस्तुत भएकी थिइन् । सिनो शब्द, ब्याकरण, भाषा, प्रस्तुति आदिको अर्थ खोज्दै जाँदा अन्यत्र पुगिन्छ । तर, झाँक्रीको स्प्रिटलाई धेरैले नकारेको देखिन्न । पार्टीले रामकुमारी झाँक्रीलाई १ हप्ताको समय दिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । झाँक्रीको राजनीतिक इतिहास हेर्दा उनी झुकेको देखिँदैन । झाँक्री नझुक्ने र पार्टी नरोकिने अवस्था आयो भने एकीकृत समाजवादी थप संकटमा पर्ने देखिन्छ । तर, यस्तो अवस्थालाई दृष्टिगत गर्दै जिम्मेवार नेताहरूले बीचको बाटो खोज्नु नै बुद्धिमता हुनेछ ।

बैठकमै आलोचना गर्नेहरू किनारामा

माथि चर्चा गरिएझैँ पार्टी नेतृत्व र नीतिका बारेमा आफूलाई लागेको कुराहरू बैठकमा राख्ने पाइने अधिकार लेनिनवादी सिद्धान्तको मुख्य विशेषता हो । प्रश्न उठ्छ आजको दुनियाँमा मानिसहरू बैठक बस्ने टुंगो हुँदैन, कमिटी बन्ने ठेगान छैन, यस्तो अवस्था कसरी चुप लागेर बस्छन् ? अनि सामान्य मानिसको लोकतन्त्र कहाँ खोज्ने ? समय, परिस्थिति कहाँबाट कहाँ पुगिसक्छ । विषय र सन्दर्भ पुरोना भइसक्छ । हामीले मोबाइलमा एउटा आर्टिकल पढी नसक्दै प्रविधिमा नयाँ आयाम थपिन्छ र यसलाई स्वीकार गर्नुहोस् भन्ने आदेश दिन्छ ।

अर्को कुरा आजको जमनामा पार्टीभित्रको आन्तरिक लोकतन्त्रका बारेमा आममानिसले बुझ्न र जान्न पाउँदैन ? कुन विषयमा कुन नेता कहाँ उभियो भनेर जान्न पाउनु जनताको अधिकार होइन ? चुनावमा भोट हाल्ने कसरी ? सामाजिक सञ्जाल नै आजको मुख्य हतियार हो । एउटा स्टाटस लेखेकै भरमा समाचार बन्छ । हिजो यही एकलाइन समाचारको निम्ति दिनभर कुर्नुपर्ने र व्यक्तिलाई भेट्नुपर्ने बाध्यता थियो । आज हरेक व्यक्तिले आफ्नो विचार, आलोचना र जबाफ सामाजिक सञ्जालमार्फत दिनसक्छ । अर्थात पार्टीका अनिश्चित बैठक कुर्न आवश्यक ठान्दैन । बरू परेको बेहोर्न तयार हुन्छ । खासमा यही सन्दर्भकी पात्र हुन् रामकुमारी झाँक्री । पार्टीले के गर्छ र झाँक्रीले के गर्छन् ? त्यो समयले बताउँदै जाला ।

पुराना राजनीतिक दलहरूका शीर्ष नेताहरू पुरानै पाराले हिँडिरहेको कुरा आजको सच्चाइ हो । राजनीतिक दलको सांगठनिक जीवनमा केन्द्रीयताको आवश्यक हुन्छ । तर, त्यो कतिसम्म आवश्यक हुन्छ ? भन्ने कुरा हो । उहिलेकै जस्तो आज केन्द्रीयता लाद्न खोजेर हुन्छ ? हुँदैन । माक्र्सवाद नवीनतम विज्ञान हो । यसलाई व्यावहारिक र वैज्ञानिक बनाउन लेनिनवाद आवश्यक हुन्छ । अनि केन्द्रीयता आधुनिक अवस्था र आवश्यकतासँग मेल खानेगरी विकसित गर्नु पर्दैन ? जेन जी पुस्ता बोल्न नपाइने, लेख्न नपाइने र भन्न नपाइने पार्टीको राजनीतिमा लाग्छ ? लाग्दैन ।

बेलाको बोली सार्थक हुन्छ । बोल्न, लेख्न र भन्नका निम्ति पार्टीका बैठक नै कुर्नुपर्ने, बैठक बोलाओ भन्नुपर्ने, बैठकमा बोल्न पाउ भनेर याचना गर्नुपर्ने ? के हामीले लडेर ल्याएको लोकतन्त्रले यस्तो केन्द्रीयतालाई स्वीकार गर्छ ? मलाई लाग्छ गर्दैन । बरू कुनै पनि विषयमा कुनै पनि व्यक्तिले बोलेपछि त्यसको बारेमा नाप तौल गर्ने निकाय वा व्यक्तिले फलानो मितिमा बोलेको, लेखेको र भनेको कुरा के हो ? भनेर बैठक बसेको बेला सोधे हुन्छ । छानबिन गरे हुन्छ । जनवादी केन्द्रीयताको नाममा बेलाको बोलीमा लगाम लगाउने, लेख्न र बोल्न बन्देज गर्ने कुरा जनवाद र लोकतन्त्र विरोधी कुरा हो ।

लेनिनले आलोचकलाई एकसाथ लिएर काम गर्नुभयो । यता चीनमा माओले जनवादी केन्द्रीयताको विकास र विस्तार गर्ने क्रममा सर्वहारा वर्गको अधिनायकत्वलाई एकता गर्ने कुरा गर्नुभएको थियो । के हाम्रो नेपालमा जनवाद र केन्द्रीयताका बारेमा नयाँ तरिकाले सोच्न सकिँदैन ? नेपालमा केन्द्रीयताको नाममा पार्टीका नेता कार्यकर्ताहरूलाई लखेट्ने, कारबाही गर्ने, निष्काशन गर्नेजस्ता कामहरू भइरहेका छन् । जसको जमिन छैन, केबल नेताको चाकरी गर्ने, एस म्यान बन्ने दिनचर्या छ, त्यस्ता व्यक्तिहरूले आलोचक र विरोधीलाई अतिरिक्त केन्द्रीयताको डन्डा देखाएर तर्सान र बर्साउन खोज्छन् । अरिंगाल बन्ने काममा उद्धत रहन्छन् । जसका कारण नेपाली कम्युनिस्ट आन्दोलन छिन्नभिन्न छ । दर्जनौँ पसल खोलेर साउजी बन्न बाध्य छन् ।

हेक्का राख्नुपर्ने कुरा के छ भने, केन्द्रीयताको अतिरिक्त प्रयोगका कारण रसियमा ट्राटस्की, बुखारिनलगायत हजारौँले वर्ग सत्रुका नाममा ज्यान गुमाउनुपरेको थियो । यस सन्दर्भलाई गहन र मिहिन रूपमा विश्लेषण र संश्लेषण गर्दै नेपाली कम्युनिस्टहरूले आगामी यात्राका बारेमा चिन्तन गर्नुपर्छ । आफ्नो मूल सिद्धान्त नै छाडेर संसदीय राजनीतिमा अभ्यस्त भइरहेका कम्युनिस्टहरूले परम्परागत जनवादी केन्द्रीयतालाई समय सान्दर्भिक बनाउन अत्यन्तै ढिलो भइसकेको छ । यसको बारेमा पार्टीमा बहस र छलफल गर्न जति ढिलो उति क्षति हुने कुरा घामजस्तै छ ।

अनावश्यक शब्द स्थापित

नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा निकै तल्लो स्तरका शब्दहरू प्रयोग भएको पाइन्छ । त्यो क्रम आजका दिनमा पनि रोकिएको छैन । खासमा नेतृत्व नै उस्तै हो कि ? शब्द प्रयोग गर्ने नेता उस्तै हुन् ? भन्ने सबाल जमिन्छ । लाल गद्दार, झोले, साइबर स्याल, १० भाइ, सिनोजस्ता शब्दहरूका मालिक कम्युनिस्ट नै हुन् । कम्युनिस्टहरूको मिल्दा देवत्वकरण र नमिल्दा दानवीकरण गर्ने तल्लो स्तरको राजनीतिबारे पनि मानिसहरू जानकार नै छन् । यो सब किन भइरहेको छ ? यसको एक लाइन जबाफ छ, टिके राजनीति ।

जबजको नाममा टिके राजनीति भइरहेको छ । माक्र्सवाद र लेनिनवादको नाममा भ्रष्ट राजनीति भइरहेको छ । विचारमा विचलन र व्यवहारमा नांगो आन्दोलनले मुलुक र जनताको भलो गर्न सक्दैन । साथै आफ्नो निर्वाचन प्रणालीलाई त्यागेर बहुदलीय प्रतिष्पर्धामा आएका कम्युनिस्टहरूले न त प्रतिष्पर्धालाई व्यावहारिक बनाउन सकेका छन् । न त योग्य, दक्ष, सक्रिय, इमानदार, योगदान दिएकालाई छान्न सकेका छन् । कुनै विशेष पार्टीको कुरा होइन, टिके राजनीतिको ज्यादती र दादागिरी आम रूपमा देखिन थालेको छ ।

अन्त्यमा, राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्ने काम भइरहेका छन् । यो कुनै अमुक एउटा विशेष दलको ब्यथा होइन । राज्यमा रहँदा एउटा देख्ने र सडकमा आएपछि अर्को देख्ने खराब दृष्टिकोण नै आजको मुख्य समस्या हो । राजनीतिमा नैतिकता हुन्छ । इमानदारी हुन्छ । निष्ठा र त्याग भन्ने जिनिस पनि हुन्छ । यसअर्थ राज्य सत्ता र पार्टी सत्तालाई घाटसम्म लैजाने कुरालाई जायज नभनौँ । झोले प्रवृत्ति पार्टी जीवनका निम्ति सर्वथा घातक हुन्छ । यसबाट बच्न र पार्टीलाई बचाउनु असली कम्युनिस्ट नेता कार्यकर्ताहरूको कर्तव्य हो ।

प्रतिक्रिया