हाल नेपालमा ११८ वटा साना तथा मध्यम खालका निजी क्षेत्रको पशुखाद्य उद्योगहरू सञ्चालनमा छन्, जसबाट दैनिक औसत २ हजार ६०० टन पशुखाद्य उत्पादन हुँदै छ । तर, कच्चा पदार्थको ८० प्रतिशत जस्तै मकै, सोयाबिन र पूरक पदार्थहरू १०० प्रतिशत विदेशबाट आयात गरिँदै छ ।
पशुपक्षीपालन क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनमा १३ प्रतिशत योगदान दिँदै आएको छ । आर्थिक मात्र नभई सामाजिक दृष्टिकोणले पनि यस क्षेत्रको महत्व अत्यन्तै उच्च छ । तर, पशु आहाराको आयतका लागि ठुलो रकम बिदेसिनु ठुलो चुनौती हो ।
कृषि तथा पशु विकास मन्त्रालयको आर्थिक वर्ष २०७७–०७८ को तथ्यांकअनुसार नेपालमा १० लाख ६० हजार ४८७ मेट्रिक टन गाईको दुध उत्पादन भइराखेको छ भने १४ लाख १९ हजार ४१२ मेट्रिक टन भैँसीको दुध उत्पादन भइराखेको छ । त्यस्तै वार्षिक ५ लाख २० हजार ७४२ मेट्रिक टन मासु, ५ लाख ८४ हजार केजी ऊन, १ लाख ४ हजार ६२३ मेट्रिक टन माछा, दैनिक १४ लाख ९३ हजार ५५० गोटा अन्डा उत्पादन भइराखेको छ । पशुपालन क्षेत्रले राष्ट्रको कुल ग्रार्हस्थ उत्पादनमा ५ दशमलव ५६ प्रतिशत योगदान गर्दछ । नेपालमा १२ प्रतिशत चरन क्षेत्रले ढाकेको छ । आहाराको सन्तुलित मात्रा उचित प्रयोगले मात्र उन्नत उत्पादन, सफल व्यवसाय दिगो रूपमा सञ्चालन गर्न सकिन्छ ।
भौगोलिक बनावट, चरन–खर्कको उपलब्धता, शीतोष्ण जलवायु, खेतीयोग्य भूमिको अभावका कारण हिमाली क्षेत्रको मुख्य पेसा पशुपालन हो । पहाडी क्षेत्र नश्ल सुधार, व्यावसायिक पशुपालन, सहज बजारीकरण, उत्पादकत्व वृद्धि र रोजगारी बढाउन सक्ने क्षेत्रको रूपमा र तराई क्षेत्र व्यवस्थित पशुपालन, उत्पादकत्व वृद्धि, व्यवसायीकरण र नयाँ प्रजातिको पशुपक्षीहरू भित्र्याउने क्षेत्रका रूपमा विकास भइराखेको छ ।
पशुपालन व्यवसायलाई व्यावसायिक, आधुनिक, दिगो र प्रतिस्पर्धी बनाउने प्रक्रियामा पशु स्वास्थ्य, प्रजनन, बजार व्यवस्थापनसँगै सबैभन्दा महत्वपूर्ण पक्ष हो, पशु आहार व्यवस्थापन । शरीरको वृद्धि गर्न, स्वस्थ राख्न र उत्पादन गर्नका लागि आवश्यक पर्ने खाद्य तत्वलाई पोषण भनिन्छ । पोषक तत्वहरू भन्नाले कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज, लवण हुन् । कृषिजन्य बालीहरू मुख्यगरी अन्नबाली मकै, धान, कोदो, फाफर, जुनेलो, जौ आदि कार्बोहाइड्रेटको स्रोतको रूपमा प्रयोग हुँदै आएको छ । प्रोटिनको स्रोतको रूपमा दलहन तथा तेलहन र यिनका उपपदार्थ प्रमुख रूपमा प्रयोग हुने गरेको छ ।
शरीरलाई शक्ति प्रदान गर्नु, शरीरका कमजोर मांसपेशीलाई मजबुत गर्नु, शरीरको उचित रूपमा वृद्धि र विकास गर्नु, गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य स्थिति राम्रो राख्नु, रोगसँग लड्ने क्षमताको विकास गर्नु पोषणका महत्व हुन् । आहारा व्यवस्थापनले पशुको उत्पादकत्मा ठुलो प्रभाव पार्दछ । आहारा व्यवस्थापनले पशुलाई कुन अवस्थामा के खुवाउने, कति खुवाउने, कसरी खुवाउने भन्ने पनि सिकाउँछ । गाउँघरमा कृषकहरूले बढी आहारा खुवाउने गरेको पाइन्छ, तर आहारा पशुको उत्पादन अवस्था र उमेरअनुसार खुवाउन जरुरी छ । जस्तै हुर्कने अवस्था, गर्भिणी अवस्था, दुधालु अवस्था, थारो अवस्था, काममा प्रयोग भइरहेको अवस्था ।
पशु आहारामा लगभग ३९ प्रतिशत घाँस, २६ प्रतिशत बाली अवशेष र ८ प्रतिशत कृषि उप–उत्पादन प्रयोग हुँदै आइरहेको छ । नेपालमा पशुपालनमा लाग्ने लागतमध्ये झण्डै ७० प्रतिशत खर्च आहारमा हुने गर्छ । तर, अझै पनि किसानले सन्तुलित आहार व्यवस्थापनमा वैज्ञानिक उपायको उपयोग नगरेको पाइन्छ । वर्तमानमा ३३ प्रतिशत सुक्खा पदार्थ र ४० प्रतिशत कुल पाच्य पदार्थको अभाव देखिन्छ, जुन समस्या पशुको उत्पादनशीलता तथा स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालको हो ।
गाईभैँसी, भेडाबाख्रा, सुंगर, कुखुरालाई उमेर अनुसारको पोषकतत्व आवश्यकता पर्दछ । पोषकतत्वहरू भन्नाले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज लवण हुन् । कृषिजन्य बालीहरू मुख्य गरी अन्नबाली मकै, धान, कोदो, फापर, जुनेलो, जौ आदी कार्बोहाइड्रेटको स्रोतको रूपमा प्रयोग हुँदै आएको छ । त्यस्तै प्रोटिनको स्रोतको रूपमा दलहन तथा तेलहन र यिनका उपपदार्थ प्रमुख रूपमा प्रयोग हुने गरेको छ । यस्ता पोषक तत्व पशुहरूको आहारामा कम भएमा शारीरिक वृद्धि कम हुने, राम्ररी नहुर्कने, प्रजनन क्षमता घट्ने, दुध उत्पादन घट्ने आदि लक्षणहरू देखिन्छ ।
शक्तिको अभावमा अन्य पोषक तत्वको उपयोगमा समेत नकारात्मक असर पर्दछ । शरीरमा आवश्यक प्रोटिनको अभावमा शारीरिक वृद्धि अवरुद्ध हुने, दुब्लाउँदै जाने तथा विभिन्न रोगहरूविरुद्ध प्रतिरोधी क्षमताको विकासमा बाधा पर्दछ । त्यस्तै गरी प्रजनन क्रियामा समेत नकारात्मक असर पर्दछ ।
विभिन्न भिटामिनको कमीले बाख्राहरूमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छन् । भिटामिन ‘ए’ को कमीबाट शरीरमा रोगविरुद्ध प्रतिरोधी क्षमतामा कमी आउने, प्रजनन प्रक्रियामा कमी आउने, दुब्लाउँदै जाने आदि समस्या उत्पन्न हुन्छन् । भिटामिन ‘डी’ को कमी भए शरीरमा क्याल्सियम तथा फस्फोरसको उपयोगमा बाधा पुग्छ तथा पाठापाठीका खुट्टाका हाड बांगिन्छन् । भिटामिन ‘ई’ को कमीले प्रजनन क्षमतामा कमी आउँछ । त्यस्तै भिटामिन ‘बी’ को कमीले पाचन क्षमतामा ह्रास, शारीरिक विकासमा अवरुद्ध हुने तथा रक्तअल्पताजस्ता समस्याहरू उत्पन्न हुन्छ । खनिज लवणहरूको कमीले मुख्य रूपमा भोक कम लाग्ने वा नलाग्ने, शारीरिक वृद्धिका कमी हुने तथा हड्डीको विकासमा बाधा पर्ने, पशुमा नियमित रूपमा बाली नजाने, दुध उत्पादनमा कमी हुने, मरेका बाच्छाबाच्छी पाठापाठी जन्माउने, रक्तअल्पता हुन सक्छ । आयोडिनको कमी भएका पशुमा गाँड भएका बाच्छाबाच्छी पाठापाठी तुहाउने र जिउँदो जन्मे पनि पछि मर्ने गर्दछन् ।
यस समस्याको समाधान स्वरूप एउटा नयाँ वैज्ञानिक प्रविधि पशुपालन पोषण लेखा परीक्षण प्रणाली एउटा सफल उपाय हुन सक्छ । यो प्रणालीले पशुपालन प्रणालीभित्र पोषक तत्वहरूको प्रवाह र सन्तुलनको मूल्यांकन गरी पशुलाई आवश्यक पोषण दिन सहयोग गर्छ । पशुपालन पोषक तत्व लेखापरीक्षण नेपाली किसानका लागि एक क्रान्तिकारी उपाय बन्न सक्छ । यसले उत्पादन लागत घटाउने, उत्पादन बढाउने, वातावरणीय प्रदूषण नियन्त्रणमा राख्ने जस्ता फाइदाहरू पुर्याउँछ ।
राष्ट्रिय पशु आहारा तथा लाइभ स्टक गुण व्यवस्थापन प्रयोगशालाको तथ्यांकअनुसार पशुलाई चाहिने कुल पाच्य तत्व वनजगंलबाट २० प्रतिशत ५ प्रतिशत, झाडी जग्गाबाट १ प्रतिशत ८ प्रतिशत, घाँसे मैदानबाट २ प्रतिशत ५ प्रतिशत, बाली अवशेष र मिलिङ उत्पादनहरूबाट ४४ प्रतिशत, खेतबारीमा पाइने झारपातहरूबाट १५ प्रतिशत, सुधारिएको चरन क्षेत्रबाट ७ प्रतिशत, अनाजबाट ४ दशमलव ८ प्रतिशत, भान्साबाट निस्किएको फोहोरबाट ३ दशमलव ६ प्रतिशत प्राप्त हुने गरेको छ ।
पशुपालन गर्दा गाउँघरमा पाइने लोकल घाँस, खुदो, दाना, खोले, सुकेको परालमा मात्र भर पर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा पशुलाई चाहिने पर्याप्त पोषण तत्व अपुग हुने भएकाले उन्नत जातका घाँसे बालीहरू पनि नेपालका विकास गरिएको छ । जस्तै– इपिल (पेरु, के–६३६, ल्यकिना ट्राइकेन्डा, ल्युकिना कोलिन्स), किम्बु (केएम) टियोसिन्टे (टियोसिन्टे–१, टियोसिन्टे–२, राहुरी, सिर्सा, आर्य जिएफ, आरआई) नेपियर (गजराज, पुजा जाइन्ट, सिओ–४ आदि) ।
त्यस्तै पशु पोषणको क्षेत्रमा विभिन्न पशु आहारा जस्तै युरिया मोलासेस मिनिरल ब्लक, युरियाबाट उपचार गरिएको पराल, कुल मिश्रित रासन, परालमा आधारित पिलेट, हे, साइलेज विकसित गरिएको छ । नेपालमा पशु पोषणको क्षेत्रमा नानो प्रविधि भने विकसित हुन सकेको छैन । आव २०६९/७० बाट फोरेज मिसन कार्यक्रम सञ्चालन गरी ४५ हजार हेक्टर थप भूमिमा घाँस विकास गर्ने लक्ष्यको साथ देश अगाडि बढेको अवस्था छ । आव २०७०/०७१ मा मिसन कार्यक्रम २५ जिल्लामा लागु हुँदा, आव २०७१/०७२ देखि १० जिल्लामा मिसन कार्यक्रम लागू भएको थियो जसले पशु आहारा विकासका निम्ति सकारात्मक योगदान पुर्याएको देखिन्छ ।
पशुपालन क्षेत्रमा आधुनिक प्रविधिको विस्तार, सघन पशु पालन, पशु बिमा, ऋण प्रवाह, नस्ल सुधार कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, मूल्य शृंखलामा बजारीकरण, चरन तथा पशु आहारा विकास समुचित ढंगमा गराउन चुनौती छ । विश्वमा पशु आहारा क्षेत्रले विभिन्न किसिमका चुनौतीहरूको सामना गर्नुपरेको छ । जलवायु परिवर्तनको असर, सीमित प्राकृतिक स्रोत साधनबिच प्रतिस्पर्धा, पिउने पानी तथा सिँचाइको अभाव, बढ्दो जनसंख्या वृद्धि दर, मानव खाद्य सुरक्षा र पशु पोषण सुरक्षाबीच प्रतिस्पर्धा, घट्दो/बिग्रँदो खेतीयोग्य जमिन, आधुनिक जीवनशैली, फिड एडिट्टिप्स उपलब्धता र प्रयोगमा कमी, व्यावसायिक दानाको उच्च मूल्य, आहाराको क्षति, वैकल्पिक आहाराको पहिचान परीक्षण र प्रयोगमा कमी, कच्चा पदार्थहरूको गुणस्तर परीक्षण र दानामा एकरूपता नहुनु, भण्डारण क्षमताको कमी, सन्तुलित आहारा व्यवस्थापनको कमी, उन्नत घाँस खेती तथा घाँस संरक्षण प्रविधिको कम प्रयोग, बालीजन्य उपपदार्थमा पौष्टिक तत्वको कमी, दाना कच्चा पदार्थको गुणस्तर र परनिर्भरता, पशु पोषण एवं पशु आहाराका क्षेत्रमा खास चुनौतीहरू हुन् ।
के हो पशु पोषण लेखा परीक्षण ?
पशुपालन पोषण लेखा परीक्षण भनेको पशुको आहार स्रोत, पोषक तत्वको मात्रा, उमेर, अवस्था, उत्पादन स्तर आदिको आधारमा वैज्ञानिक गणनाको माध्यमबाट दैनिक खुवाइनुपर्ने सन्तुलित दानाको मात्रा निर्धारण गर्ने प्रणाली हो । यस प्रणालीमा किसानले घरमै उपलब्ध भएका घासजन्य खाद्य (Roughages), संघन खाद्य तथा खाद्य पूरक/एडिटिभहरूको विवरण दिनुपर्छ । प्रणालीमा जनावरको प्रकार, उमेर, उत्पादन अवस्थाको विवरण अपडेट गरेपछि दैनिक आहार योजनाको सिफारिस आउँछ । यसले घरेलु स्रोतको अधिकतम उपयोग गर्दै विदेशबाट आयात गरिने कच्चा पदार्थहरूमा निर्भरता घटाउने उपाय प्रदान गर्छ ।
कृषकले स्थानीय तहको पशु सेवा शाखा, प्रदेश अन्तर्गतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा स्मार्टफोन प्रयोग गरी डिजिटल माध्यमबाट पनि यो सेवा लिन सक्ने व्यवस्था मिलाउन सकिन्छ । यसले शिक्षित र अशिक्षित दुवै वर्गका कृषकलाई सहज जानकारी प्रदान गर्न सक्नेछ ।
हाल नेपालमा ११८ वटा साना तथा मध्यम खालका निजी क्षेत्रको पशुखाद्य उद्योगहरू सञ्चालनमा छन्, जसबाट दैनिक औसत २ हजार ६०० टन पशुखाद्य उत्पादन हुँदै छ । तर, कच्चा पदार्थको ८० प्रतिशत जस्तै मकै, सोयाबिन र पूरक पदार्थहरू १०० प्रतिशत विदेशबाट आयात गरिँदैछ । यसले व्यापार घाटा बढाइरहेको छ । यस्तो अवस्थामा स्वदेशमै उत्पादन भएको घाँस र स्थानीय स्रोतमा आधारित आहाराको विकासले सस्तोमा उत्पादन वृद्धि गर्न, आयात घटाउन, र निर्यातको सम्भावना बढाउन सक्छ ।
पशु पोषण लेखा परीक्षण प्रणाली नेपाली कृषकका लागि एक युगान्तकारी परिवर्तन बन्ने सम्भावना बोकेको छ । यसको व्यापक प्रयोगबाट पशुको स्वास्थ्य सुधार, उत्पादन वृद्धि, लागत घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने, तथा कृषकको आम्दानी र जीवनस्तर सुधार गर्न सकिनेछ । नेपालजस्ता कृषिप्रधान देशमा पशुपालन व्यवसायलाई सम्मानजनक, आत्मनिर्भर, र युवालाई आकर्षित गर्ने व्यवसाय बनाउन यस्तो प्रविधिको प्रयोग आजको अत्यावश्यकता हो ।
(बस्नेत कोसी प्रदेश सरकारका पशु पोषणविद् हुन्)
प्रतिक्रिया