काठमाडौंका मेयरको शैली

स्रोत र अध्ययनबिना नै एक दुई वर्षको मिति नै तोकेर मेट्रोदेखि मोनो रेलसम्म ठूला ठूला योजना बाँडेर चुनाब जितिने नजीर थियो देशमा । चुनाबको मुखमैं पाँच वर्षमैं मेट्रो बनाउने क्षमता र साधनस्रोत मेयरसँग हुँदैन भनेर उनले सत्य बोल्ने हिम्मत देखाए । ढुंगेधारा, फुटपाथ र जात्राहरू बारे बोलेर अनि काठमाडौंको मौलिक पहिचान र इतिहासबारे चासो देखाएर उनले चुनाब जिते ।

नारायण गाउँले

चुनाबमा उठ्नुअघि धेरैले बालेन शाहलाई चिनेका थिएनन् । उठे नै पनि सेतोपाटीले बालेनले चुनाब जित्ने सर्वेक्षण प्रक्षेपण गर्नुअघि धेरैले सिरियसली लिएका थिएनन् ।

स्रोत र अध्ययनबिना नै एक दुई वर्षको मिति नै तोकेर मेट्रोदेखि मोनो रेलसम्म ठूला ठूला योजना बाँडेर चुनाब जितिने नजीर थियो देशमा । चुनाबको मुखमैं पाँच वर्षमैं मेट्रो बनाउने क्षमता र साधनस्रोत मेयरसँग हुँदैन भनेर उनले सत्य बोल्ने हिम्मत देखाए । ढुंगेधारा, फुटपाथ र जात्राहरू बारे बोलेर अनि काठमाडौंको मौलिक पहिचान र इतिहासबारे चासो देखाएर उनले चुनाब जिते ।
राजनीतिका मसिना–मसिना घटना र व्यक्तिमाथि टिप्पणी र गाली गरेको ‘विगत’ उनीसँग छैन । बिना तयारी नै कल्पना गर्न सकिने जति सपना कोचेको घोषणापत्र पनि छैन । माइक पायो कि खोकी हाल्ने बानी पनि छैन । हिजो अरूलाई यस्तो भनेको थिइस् त, आज खोइ त भन्ने आधार पनि छैन । फेसबुकका पुराना पोस्ट खोज्यो, र्याप र फोटोमात्रै आउँछ ।

दिनकै दशवटा फाइल खोल्छु, भ्रष्ट जतिलाई थुन्छु, भागाभाग बनाउँछु, विदेश पसेका जति सबैलाई काम र माम दिएर फिर्ता ल्याउँछु, ठूलो माछा फसाउँछु, न्यूयोर्क जस्तै दश लेनका सडक खोल्छु, काठमाडौंलाई सिंगापुर बनाउँछु, पाँच वर्षमैं आर्थिक क्रान्ति गर्छु, अर्थतन्त्र सय खरबको बनाउँछु जस्तो भाषण गरेर चुनाब जितेको भए विरोधीले हरेक मिनेट एउटा स्क्रिन–सट हालेर विरोध गर्दा हुन् । ठिटोले काठमाडौंको फोहोरबारे बोलेर चुनाब जित्यो, फोहोर नियन्त्रण गर्यो । विरोध गर्नु त केमा गर्नु । अलिकति ‘लक’ पनि हो कि ?

भनिन्छ, चर्चामा रहनकै लागि पनि एकदुई काण्ड त चाहिन्छ । तर चर्चा छ, काण्ड छैन । व्यक्तिगत र सार्वजनिक जीवनमा पनि औंला उठाउने ठाउँ छैन । बेलाबेला अलिकति अराजनैतिक आक्रोश त देखिन्छ, तर व्यक्ति या दल तोकेर तल्लो स्तरको गाली र चुनौती दिएको पनि छैन । झट्ट हेर्दा पूरै अटोक्र्याट जस्तो देखिन्छ, तर अन्य नगरपालिकातिर जस्तो मेयर र उपमेयरबीच तँ ठूलो कि म ठूलो भन्ने झगडा पनि छैन, समन्वय र सहकार्यमै काम भएको जस्तो लाग्छ । सुरुमा विरोध भएजस्तो देखिने नगरसभा पनि अहिले शान्त र सहयोगी छ । एक्लै लाइमलाइट र क्रेडिट लिने रहर पनि देखिन्न । फरक पार्टीकी भए पनि उपमेयर जहाँ पनि हिस्सेदार नै देखिन्छिन् । न मिडियासँग दुश्मनी या प्रतिशोध छ, न खास प्रेम नै । पद त कार्यकारी नै हो र पनि दिनदिनै सफाइ दिनुपर्ने विवाद पनि देखिन्न । महानगरको बजेट कतिवटा मन्त्रालयभन्दा ठूलो होला, यत्रो बजेट चलाउँदै गर्दा कसैले प्रश्न उठाउने ठाउँ नपाउनु ठुलो कुरा हो ।

शत्रु नै कम भएर हो कि, तिनले ठाउँ नपाएर हो कि, अलि बढी लक्की नै भएर हो कि बालेन अहिलेसम्म अरूभन्दा भिन्न छन् । आजसम्म आफ्ना पोस्टमा सबैभन्दा कम गाली खाने ‘नेता’ पनि शायद उनै होलान् । जे लेखे पनि नपढी लभ रिएक्ट गर्नेहरू कति धेरै छन्, तर गाली गर्नेहरू चाहिँ चश्मा लगाएर खोज्न पर्छ ।
आफूबाहेक अरू सबै खराब भन्ने त हाम्रो राष्ट्रिय सोच नै हो । ममा पनि छ, तपाईंमा पनि छ । कसैलाई छ भन्ने थाहा भएरै छ, कसैलाई थाहा नभइ नै पनि छ । बालेनमा पनि होला, अरू नयाँ र पुरानामा पनि होला । तर सन्तोषको कुरा, बालेनको हरेक बोली र भाषणमा त्यो पोखिएको छैन । उनलाई मन पराउनेका लागि या यति पढ्दै गर्दा पहिलो इम्प्रेशन पर्नेका लागि बालेन मात्रै ‘राम्रो’ भन्ने लागेको हुन सक्छ । एक त को राम्रो भन्ने ग्यारेन्टी छैन । दोस्रो, सबै नराम्रो भए त एक्लो बालेनले पो गर्ने के हो र ?

राम्रा त अरू पनि होलान् र छन् तर ती सबै बालेन जति लक्की छैनन् । कतिसँग उत्साह र सोच नयाँ होला तर ‘लिगेसी’ पुरानो छ । कतिसँग भविष्यको उज्यालो होला तर विगतको धूमिल छायाले पछ्याइरहेछ । कतिले उनले जस्तै इमान र साहस देखाएर सत्य बोल्न सक्दैनन्, सबै चेन्ज गर्छु भन्ने भाषण गर्न पर्ने हुन्छ । चेन्ज गर्न त सजिलो छैन । सजिलो भएको भए त्यसअघि नै कसै न कसैले त गर्दो हो ।

काठमाडौंका मेयरको शैली भने अलि बेग्लै छ । हातमा कुचो बोकेर ब्रुमरमाथि चढेको उनको स्टन्टवाला फोटो देख्नुभएको छैन होला । दर्जन मिडियालाई चिया ख्वाउँदै राजधानीलाई विश्वकै नमुना सहर बनाएको भन्नेजस्तो भाषण पनि पक्कै देख्नुभएको छैन । चुनाव लड्दै गर्दा मोनोरेलदेखि मेट्रो रेलसम्मका गफ गरेको पनि देख्नुभएको थिएन । मिडिया हेर्दा हाम्रा अन्य नेताले काम नै काम गरेको र देशलाई अद्भूत समृद्धितिर डोर्याउँदै गरेको र त्यसमा बालेनको उपस्थिति शून्यजस्तो लाग्छ । न टाउको हल्लाईहल्लाई अन्तर्वार्ता, न साधनस्रोतभन्दा ठूला योजना र सपना, न सस्तो स्टन्टबाजी, न नयाँ युग सुरू भएको भन्ने होर्डिंङ बोर्डहरू, न पत्रपत्रिकाभरि ज्याकेट विज्ञापन, न कुनै काण्ड र घोटालाका खबरहरू ।

तर मिडिया नहेरी काठमाडौंलाई हेर्नुभयो भने चित्र अलि बेग्लै लाग्न सक्छ । पक्कै काठमाडौं स्विट्जरल्यान्डका सहरजस्तो सफा र व्यवस्थित छैन तर केही वर्षअघि जताततै डम्पिङ् साइटजस्तो देखिने दुर्गन्धित सहर पनि छैन । बाटा र गल्लीहरू सफा छन् । फूल र बोटबिरुवाहरू हुर्काइँदै छन् । सार्वजनिक जग्गा र खुला क्षेत्रको संरक्षण र अधिकतम नागरिक उपयोगतिर ध्यान पुगेको छ, हिजो फोहोर फाल्ने ठाउँमा पुरिएका ढुंगेधाराहरू उत्खनन् हुँदै छन् ।

आज पनि धुलोको तुवाँलो त देखिन्छ तर आफ्नो बलबुताले भ्याएसम्म धुलो नियन्त्रणका लागि महानगर इमानदारीपूर्वक लागेको छ भन्ने पनि देखिन्छ । शिक्षादेखि सार्वजनिक शौचालय र स्थानीय सांस्कृतिक सम्पदादेखि राजस्वका स्रोतसम्म महानगरको कसरत स्पष्ट देख्न सकिन्छ । थोरै भएको होला, तर केही उल्लेख्य भएको छ, मुख्य कुरा हुँदै नभएको कुराको राज्यस्रोत दुरुपयोग गरेर प्रचार प्रसार भएको छैन । हो, अलिकति फुटपाथ व्यापारका समस्या होलान् । केही निर्णयहरूमा भावुकता या लहडको मात्रा धेरै भएको आरोपहरू होलान् । अलिकति राजनीतिक चरित्र र लचकताको इस्यु होला । आफ्नो मेयरलाई अलि सजिलोसँग भेट्न पाउनुपर्ने अपूर्ण चाहनाहरू होलान्, अलिकति ‘एटिट्यूड’का प्रश्नहरू होलान् । केही सिक्न र केही सुधार गर्न बाँकी होला ।

तर, राजनीतिमा आएको एउटा फ्रेस युवाले काठमाडौंजस्तो अत्यन्त अव्यवस्थित र दुर्गन्धित सहरलाई जे जति उपचार गरेको छ, गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ । कामको आधारमा टीकाटिप्पणी स्वाभाविक हो, तर व्यक्तिगत या आर्थिक चरित्रबारे आजसम्म औँला उठाउने अवसर कसैले पाएको छैन । कम्तिमा एउटा मेयरले चाहने हो भने केही हुन सक्ने रहेछ भन्ने नजीर स्थापना भएको छ । नगरसभाभित्र हिजो विरोध गर्नेलाई पनि उनले साथ लिएर हिँडेको दृश्य पनि हेर्नुभएकै होला ।

सबै कुरा गर्न त एक्लै मेयरले सक्ने कुरो पनि भएन, साधनस्रोतले भ्याउने कुरो पनि भएन । कति नीति र योजनाहरू पूरा नहुँदै एउटा मात्रै पाटो हेरेर हामीलाई गलत लागेको पनि हुन सक्छ । पब्लिकलाई स्पष्ट बुझाउन नसक्नु उनको कमजोरी पनि हुन सक्छ । अझै पनि काठमाडौं विश्वकै प्रदूषित सहर छ । गर्न धेरै बाँकी छ । तर यो एउटा मेयरको सीमाभित्र मात्रै नहोला । कम्तिमा आज काठमाडौं विश्वकै फोहोर सहर छैन । काठमाडौंले ऐतिहासिक र सांस्कृतिक इतिहास सम्झेको छ, पुनरुत्थान र संरक्षणतिर सोच्दै छ, त्यो वैभवलाई जोगाउन खोज्दै छ र साथसाथै एउटा आधुनिक सहरको रूपमा आफूलाई चिनाउन खोज्दै छ । कतै हाम्रा पुराना आशा र विश्वासझैँ यो पनि अस्थायी हो कि भन्ने डरचाहिँ लागिरहन्छ । कसैले सोचेको होला कि नहोला ?

हाम्रो राजनीति त छानबिन गर्ने कि नगर्ने, फाइल खोल्ने कि नखोल्ने, मेरो मात्रै खोल्ने कि तेरो पनि खोल्ने जस्तो कुरोमा सिँगौरी खेल्न व्यस्त छ ।आमजनताको पीड़ा र देशका प्राथमिकताबारे कसले सोच्न भ्याउला र ? जति हे¥यो त्यति दिक्क लाग्दो दृश्य छ । कति निराश बन्नु ? अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुशी बनौं !

प्रतिक्रिया