दोहोरो मारमा मजदुर वर्ग

कोरोना संक्रमित बिरामीको उपचारका लागि मुलुकको विद्यमान स्वास्थ्य व्यवस्थापनले धान्न छाडेको भन्दै सरकारले अपिल जारी गरेको छ । हुन पनि मुलुकमा कोराना संक्रमणको वृद्धि अकल्पनीय रूपमा भइरहेको छ । उदाहरणका लागि वैशाख १ गते राजधानी काठमाडौं उपत्यकामा २ सय ५४ संक्रमित देखिएका थिए । वैशाख १७ गते २ हजार ९ सय ५६ जनामा संक्रमण देखियो । कोरानाको संक्रमण एक्कासि यति ठूलो वृद्धि भएको घटना विश्वका थोरै मुलुकमा होला । गत वर्ष साउन भदौमा पनि कोरानाको संक्रमितको दैनिक संख्या यसरी नै वृद्धि भएको थियो । सक्रीय संक्रमितहरूको संख्या लगभग अहिलेको जति नै थियो, तर त्यतिबेला सरकारले सबैको उपचार संभव छैन भन्दै यसरी हात उठाएको थिएन । चार÷चार महिनासम्म लकडाउन हुँदा पनि आमजनसमुदायमा यतिधेरै निराशा र डर त्रास छाएको थिएन । सरकारप्रति जनताको भरोसा थियो । तर यतिबेला सरकारप्रति जनभरोसा टुटेको छ । यसको कारण हो सरकारको हदैसम्मको लापरबाही सिकिस्त बिरामीलाई पनि अस्पतालमा बेड छैन भनेर सार्वजनिक सूचना जारी गर्नुभन्दा एकसाता अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रीयतामा दैनिकजस्तो अथाह भिड जम्मा गर्ने सिलसिला जारी थियो । वैशाख ८ गते मूर्तिपूजा समारोहका नाममा प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा गरिएको भिडका कारण यतिबेला केही मन्त्रीहरू संक्रमण बोकेर बसेका छन् । अधुरो धरहरा उद्घाटनका नाममा जम्मा गरिएको भिडमा के कति संक्रमित भए होलान् ? त्यसको नतिजा धमाधम आउन थालेको छ ।

विकसित मुलुकहरू समेत तवाह भइरहेको अवस्थामा नेपालजस्तो सानो अर्थतन्त्र भएको अविकसित मुलुकले कोरोनाका सम्पूर्ण बिरामीहरूलाई यथोचित उपचारको व्यवस्था गर्न सक्नु भनेको चानचुने कुरा होइन । हाम्रो जस्तो मुलुकका लागि उपचारभन्दा पनि रोग फैलन नदिने उपाय नै ठूलो कुरा हो । अन्य दैवी प्रकोप जस्तो एक्कासि आएको समस्या होइन यो । पूर्व सूचना दिएरै करिब डेढ वर्षअघि आएको हो । प्रर्याप्त सावधानी अपनाइएको भए केही अपवादबाहेक ज्यादै पातलो बस्ती भएको हाम्रो मुलुकमा भुटानले जस्तै मज्जाले कोरोना नियन्त्रण गर्न सकिन्थ्यो । तर सरकारले कत्ति पनि सावधानी अपनाएन । गत पुस ५ गते प्रतिनिधिसभा विघटन पछिको घटना हेर्ने हो भने भिड जम्मा गर्ने प्रतिस्पर्धामा सरकार आफँै उत्रियो । प्रधानमन्त्री ओली स्वयंको निर्देशनमा देशव्यापी भिड जम्मा गरियो । भारतबाट तेस्रो मुलुक जानेहरूले काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरे । भारतमा रोजगारीमा गएका नेपालीहरू संक्रमण लिएर ह्वारह्वार्ती नेपाल छिरे । कोराना संक्रमितको संख्या दैनिक एक हजार वृद्धि हुँदासम्म विद्यालयको पठनपाठन सुचारु राखियो ।

खोप लगाउने नाममा भिड जम्मा गरियो । यसर्थ कोरोना संक्रमणको यो कहालीलाग्दो अवस्था उत्पन्न हुनुमा मुख्य दोषी सरकार हो । त्यसमा पनि प्रधानमन्त्री ओली सबैभन्दा बढी दोषी हुन् । आफ्नो लापरबाहीका कारण भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री ओलीलै नैतिक जिम्मेवारी लिनै पर्छ । नेपालमा यतिबेला कम्युनिष्ट पार्टीको सरकार छ । कम्युनिष्ट पार्टी भनेकै मजदुर वर्गको पार्टी हो । मजदुरहरू गरिब छन् । गरिबीको कारणले नै मजदुर बन्न बाध्य हुन् । विदेशमा मजदुरी गर्न जाने युवाहरूको संख्या ५० लाखभन्दा माथि छ । करिब एक करोड युवा स्वदेशमै मजदुरी गरिरहेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु भएका युवाहरूको संख्या हेर्ने हो भने ९० प्रतिशत मजदुरहरू नै छन् ।

संक्रमित युवाहरूको संख्या हेर्ने हो भने पनि करिब ८० प्रतिशत मजदुर नै छन् । त्यति मात्रै होइन अघिल्लो पटकको लक डाउनमा दुई जना नेपाली खानै नपाएर मरेको समाचार मिडियामा आयो । ती दुवै जना मजदुर थिए । कोरोना कहरको एक वर्षको अवधिमा करिब दुई हजारले आत्महत्या गरेको समाचार मिडियामा आयो । यी दुई हजार मध्ये १ हजार ७ सय ५३ जना मजदुर थिए । पहिलो कुरा कम ज्याला पाउने भएकोले मजदुर तथा तिनको परिवार कुपोषणको सिकार बनेका छन् । जसलाई कोरोनाले छिटै थला पार्छ । दोस्रो कुरा कारखानामा कार्यरत मजदुरहरूमा स्वास प्रश्वासको समस्या हुन्छ, अर्थात फोक्सो कमजोर हुन्छ । कमजोर फोक्सो भएकालाई कोरोनाले छिटै थला पार्छ । तेस्रो कुरा सेना, प्रहरी, निजामती कर्मचारी तथा तीनका परिवार बिरामी हुँदा व्यवस्थित र सहुलियत पूर्ण खर्चमा उपचारका लागि सरकारले छुट्टाछुट्टै विशेष अस्पतालको व्यवस्था गरेको छ । तर मजदुर वर्गका लागि अस्पतालको समेत व्यवस्था छैन । कोरोनाका कारण रोजगोर गुमाएको वर्ग पनि मजदुर नै हो । १३२औँ अन्तर्राष्ट्रिय मे दिवस मनाउँदै गर्दा यो मामिलामा सबै पक्ष गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया