नेपालको वरियतामा सुधार गर्छु : वाटमोर

काठमाडौं । डेभ वाटमोर बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकको रुपमा सार्वजनिक भए । गत पुसमा १ वर्षका लागि नियुक्त भएका उनी प्रशिक्षकका रुपमा पहिलो पटक सञ्चारकर्मीबीच सार्वजनिक हुँदा नेपाली क्रिकेटको स्तर वृद्धि गर्न आफूले सहयोग गर्ने बताए ।

वाटमोरले छोटो बोले तर कुटनीतिक भाषामा धेरै कुरा गरे । उनले एक वर्षमा आफ्नो अनुभव नेपाली क्रिकेट विकासमा लगाउने बताएका छन् । ‘नेपाली क्रिकेटको विकासमा मेरो अनुभव लगाउनेछु,’ वाटमोरले भने ‘यस्तै नेपालको वरियता सुधार गर्ने लक्ष्य छ ।’

वाटमोरले नेपाल अहिले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त देश रहेको र त्यसलाई पनि कायम राख्नु आफ्नो लक्ष्य रहने बताए । नेपालले आईसीसी विश्वकप लिग अन्तर्गत आगामी मार्चमा ओमानमा ट्राई सिरिज खेल्दैछ । जसमा नेपाल ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । अहिले वाटमोरको लागि पहिलो काम र चुनौती नै त्यही हुनेछ । उक्त सिरिज आउन अब २ महिना मात्र बाँकी छ । अहिले कीर्तिपुर र मूलपानीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ ।

वाटमोर नेपाल आएलगत्तै नेपाली क्रिकेटरको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन् । सम्भवत प्रधानमन्त्री कप सकिएपछि क्यानले बनाएको छनोट समितिले बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गर्नेछ । वाटमोरले छनोट समितिले खेलाडी छान्ने र त्यसमा आफूले सहयोग गर्ने बताए ।

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले वाटमोरसंग उनी आउनुभन्दा अघिदेखि नै विभिन्न विषयमा कुराकानी भएको र क्रिकेटका विषयमा सल्लाहअनुसार नै अघि बढ्ने बताए । उनलाई के लक्ष्य दिइएको छ भन्ने प्रश्नमा प्याकुरेलले भने ‘हामीले विशेषगरी तीन वटा क्षेत्रमा रहेर काम गर्ने भनेका छौँ । एउटा विश्वकप लिग २ मा राम्रो नतिजा ल्याउने, दोस्रो ग्रासरुट क्रिकेट विकासमा काम गर्ने र तेस्रो महिला क्रिकेट र यु–१९ क्रिकेटलाई पनि कन्सलट्यान्सको रुपमा सहयोग गर्ने रहेको छ ।’

कोभिड–१९ महामारीका कारण २०२० मा नेपालले लिग २ को एउटा मात्र सिरिज खेल्न पायो । अधिकांश समय प्रतियोगिता र प्रशिक्षण हुन सकेन । २०२१ मा भने नेपालले लिग २ कै दुई सिरिज खेल्नेछ । यस्तै अन्य प्रतियोगिताहरु पनि खेल्ने सम्भावना छ । त्यसैले वाटमोरले नेपाली क्रिकेट कसरी अघि बढाउनेछन् हेर्न बाँकी छ ।

प्रतिक्रिया