खेलकुदमा लगाव राख्ने सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौंमा भएको थियो ।

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उनी उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर सुहाङ नेपाल फर्किए ।

स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानुन संकायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले ।

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यस अघिसम्म कुनै पनि निर्वाचनमा मतदान समेत गरेका थिएनन् । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन् ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबा सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन् ।

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ ।

उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ ।

हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य छन् । उनका एक दाजु, एक दिदी र एक बहिनी छन् । उनको दिदी सुसाङ पेशाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छिन् ।– रासस

प्रतिक्रिया