बहसमा कला नीति

काठमाडौं । नेपाली ललितकला क्षेत्रको विकास, प्रवद्र्धन तथा संवद्र्धनका निम्ति कला नीतिको आवश्यकता रहेको विज्ञले बताएका छन् । ओदान केयु आर्ट एण्ड डिजाइन एल्मुनाइ एसोसिएसनले बिहीबार गरेको ‘नेपालमा कला नीति’ विषयक बहसमा देशलाई समृद्ध बनाउन कला र संस्कृतिको विकासमा राज्यले योजनाबद्ध काम गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

भर्चुअल बहसमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, ललितकला क्याम्पसका प्रमुख सहप्राध्यापक डा रमेश पोखरेल र काठमाडौं विश्वविद्यालय कला तथा डिजाइन विभागका एकेडेमिक प्रोग्राम प्रमुख कौशल जोशी सहभागी थिए । उनीहरुले राज्यले कला नीतिमार्फत कलाक्षेत्रको बिहंगम विकासमा लाग्ने वातावरण निर्माणमा पहल गर्नुपर्ने बताए ।

प्रतिष्ठानका कुलपति कर्माचार्यले कला क्षेत्रलाई राज्यले विशेष महत्व दिएर योजनाबद्ध कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘प्रतिष्ठानले कला र संस्कृतिको व्यापक विकासमा निम्ति राज्यसँग नीति बनाउन पहल गरिरहेको छ ।’ कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले सहजीकरण गरेको सो कार्यक्रममा ललितकला क्याम्पस प्रमुख पोखरेलले कला शिक्षालाई आमरुपमा विस्तार गर्न प्रादेशिक तथा स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

उनले कला र संस्कृतिको समुचित विकास हुनसके मात्र राज्य समृद्ध बन्न सक्ने जिकिर गरे । त्यस्तै काठमाडौं विश्वविद्यालय कला तथा डिजाइन विभागका प्रोग्राम कोअर्डिनेटर जोशीले कलालाई व्यापक रुपमा विस्तार गर्न यसलाई विविध पक्षसँग जोडेर नीति बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले कलालाई शैक्षिक, कार्यक्रमिक तथा योजनागत रुपमा अगाडि बढाउनुपर्ने बताउँदै समाज रुपान्तरणमा कलाको विशिष्ट भूमिका रहने भनाइ राखे । संस्थाले नेपाली कलाक्षेत्रका समृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने योजना बनाइरहेको ओदानका अध्यक्ष कैलाश श्रेष्ठले बताए ।

उनले भने, ‘नेपाली कला क्षेत्रलाई व्यापक बनाउन र यसको महत्वलाई सबै पक्षसँग एकाकार गर्न ओडानले कार्यक्रमिक, संस्थागत, योजनाबद्ध तथा नीतिगत तहमा सहयोग एवं क्रमिक रुपमा कार्यक्रम गर्नेछ ।’ नेपाली कलाको मौलिक पहिचानसँगै यसको महत्व र विशिष्टतालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान ओदानले काम गर्ने संस्थाका महासचिव कविराज लामाले बताए ।

प्रतिक्रिया