मायाज बार र जंगल लभ

काठमाडौँ । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आउने भएका छन्– मायाज बार र जंगल लभ ।  मायाज बार उपत्यकामा मात्र प्रदर्शन हुँदै छ । त्यसैगरी जंगल लभ उपत्यका बाहिरका हलमा प्रदर्शन हुन लागेको हो । मायाज बार दिनेश डिसीले निर्देशन गरेका छन् । जंगल लभका निर्माताचाहिँ अहिलेसम्म थाहा हुनसकेको छैन । निर्माणसमूहले निर्देशकको नामै सार्वजनिक गरेको छैन । वितरक सुनील मानन्धरले निर्माण गरेको मायाज बारले गत बुधबार प्रिमियर गर्ने बताए पनि पछि आएर स्थगित गरेको थियो । यो चलचित्रमा नाच्ने केटी र फाइटरहरूको प्रतिस्पर्धा गराएर मनोरञ्जन गर्ने केही समूहको कथालाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।राजेश हमाल, करिस्मा मानन्धर, निशा अधिकारी, नागेन्द्र रिजाल, दिव्यश्वर गौतम आदिको मुख्य भूमिका रहेको छ भने नवनायक गजित विष्टले पनि अभिनय गरेका छन् । चलचित्रमा सुरेश अधिकारीको गीत तथा संगीत, गम्भीर विष्टको नृत्यनिर्देशन, एनबी महर्जनको द्वन्द्वनिर्देशन, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रमा सेक्सबारे पुरुषहरूको दिमागमा रहने घिनलाग्दा प्रवृत्तिलाई पनि उठान गर्न खोजिएको निर्माण पक्षले जनायो । त्यस्तै, उपत्यकाबाहिरबाट मात्र प्रदर्शनमा आउन लागेको जंगल लभ एसपी मुभिजको ब्यानरमा निर्माण भएको छ । शिवानी बलामीको प्रस्तुतिमा रोसिह महर्जनले निर्माण गरेको यो चलचित्रमा सहरिया वातावरणमा हुर्किएकी तर कुसंगतमा फसेकी केटीलाई साथीले जंगलमा लगेर मारेर फाल्न खोज्दा आदिवासीले भेटेर बचाएको र सँगै बसोबास गराएको कथा छ । प्रमोद खड्का, स्व. जेसिका खड्का, विनोद श्रेष्ठ, सीमा केसी, विनोद बस्नेत, दीपक अधिकारी, भेषमान श्रेष्ठलगायतले अभिनय गरेका छन् । कथा तथा द्वन्द्वनिर्देशन बाबु बलामीको रहेको चलचित्रमा संगीत सन्तोष प्रगाढ, नृत्यनिर्देशन सुरेश चौधरीको र छायांकन देवेन्द्र गिरी हुरहुरको छ ।

प्रतिक्रिया