पशुपति आश्रमदेखि ग्य्रामी अवार्डसम्म

सन् १९९९ देखि सन् २००५ सम्म काठमाडौंका पशुपति क्षेत्र र बौद्धमा रातको एकान्तमा बाँसुरी बजाउँदा मनोज सिंहले भविष्यबारे सोचेका थिएनन् । उनका लागि संगीत साधना थियो भने ’बाँसको डंग्र्री’ आध्यात्मिक चिन्तनलाई मूर्त रूप दिने साधन ।  उनी केही वर्षदेखि अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका छन् । यी ४१ वर्षीय बाँसुरीवादक सम्मिलित समूह संगीतमा विश्वकै सर्वश्रेष्ठ पुरस्कार मानिने ग्य्रामी अवार्डको मनोनयनमा परेपछि उनको चर्चा चुलिएको छ ।

देवा नामक सांगीतिक एल्बममा सिंहसँगै जर्मनीकी देवा प्रेमाल र इंग्ल्यान्डका मिटेनले काम गरेका छन् । विगत १५ वर्षदेखि यी तीनजनाले सागीतिक समूहकै रूपमा काम गर्दै आएका छन् ।  यसबाहेक ‘बेस्ट न्यु एज एल्बम’ विधामा मनोनयनमा परेको ‘देवा’ एल्बममा भारतका प्रसिद्ध शास्त्रीय संगीतकार रविशंकरकी छोरी अनुष्काशंकरले पनि सितारवादन गरेकी छन् ।

संगीतमा पहिलो पाइला
आठ वर्षको हुँदा बाँसुरीतर्फ आकर्षित भएका सिंहको रुचि शास्त्रीय संगीतमा झन् बढ्दै गयो । पशुपति क्षेत्रस्थित किराँतेश्वर संगीत आश्रम हुँदै रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रममा सहभागी हुन पाउँदा उनलाई थप ऊर्जा थपिएजस्तो अनुभूति हुन्थ्यो । आश्रमलाई प्रतिनिधित्व गर्दै पशुपति क्षेत्रमा हुने भजनकीर्तन कार्यक्रममा उनी निरन्तर सहभागी हुन्थे । संगीतप्रतिको रुचिकै कारण उनी प्रस्तार र सुकर्मजस्ता समूहसँग आबद्ध रहे । एकपटक उनी फोक–रक सांगीतिक समूह १९७४ एडीसँग पनि आबद्ध भए ।

सम्झी बस्छु…, बाँच अनि बाँच्न देऊ…, गुराँसै फुल्यो… र पिँजडाको सुगा जस्ता कैयौँ चर्चित गीतमा उनले बाँसुरी बजाएका छन् । सिंह १९७४ एडीको सदस्यका रूपमा आबद्ध हुँदा उक्त सांगीतिक समूह नेपालमा स्थापित भइसकेको थियो । अनि ब्यान्डसँगै उनको चर्चा पनि चुलिँदै थियो । सांगीतिकरूपमा भिन्न प्रकारका समूहसँग आबद्ध हुँदा आफूले भिन्न काम गर्ने अवसर पाएको उनी बताउँछन् । ‘मलाई ग्य्रामीजस्तो प्रसिद्ध अवार्डमा मनोनयनमा पर्नुमा आध्यात्मिक विश्वासको समेत भूमिका छ जस्तो लाग्छ,’ सान फ्रान्सिस्कोमा रहेका सिंहले भने ।

‘अहिले पनि नेपाल आउँदा पहिले म पशुपति जान्छु, त्यसपछि किराँतेश्वर अनि बौद्धनाथ गएर मात्रै घर जान्छु ।’ ‘ती स्थानमा बाँसुरी बजाउँदा अहिले पनि अर्कै आनन्द अनुभूति हुन्छ । ममाथि ईश्वरको कृपा भएजस्तो लाग्छ र ग्य्रामीको मनोनयनमा पनि यसको भूमिका छ भन्ने लाग्छ ।’


सहकार्य
पूर्वीय संगीतबाट प्रभावित देवा प्रेमाल र मिटेनसँग सिंहको भेट एउटा सांगीतिक यात्राका क्रममा अमेरिकामा भएको हो । प्रस्तार समूहको कार्यक्रमका क्रममा उनी अमेरिका गएका थिए । ‘त्यस वेला अमेरिकामा पूर्वीय दर्शनप्रति सर्वसाधारणको चासो थियो । योगप्रति मानिसहरूको ठूलो आकर्षण थियो । हाम्रो संगीत पनि रुचाएजस्तो लाग्थ्यो,’ सिंहले भने ।

यसैबीच, एउटा संगीत स्टुडियोमार्फत् उनको भेट देवा र मितेनसँग भयो । संगीतलाई हेर्ने दृष्टिकोण र एक प्रकारको समानताका कारण ती दुईले सिंहलाई सँगै काम गर्न आग्रह गरे । अमेरिकामा जे हुन्छ त्यो एक प्रकारले सारा संसारले अनुशरण गर्दो रहेछ भन्ने आफ्नो बुझाइकै कारण उक्त समूहमा काम गर्ने प्रस्ताव उनले स्वीकार गरे । मिटेन र देवाको भेट भने भारतको पुणेस्थित ओशो आश्रममा भएको थियो । वैवाहिक बन्धनमा बाँधिएका उनीहरूले संगीत सिर्जना गर्न थालेको २५ वर्षजति भयो । ‘खासगरी १९७४ एडीसँग सांगीतिक यात्रामा विदेश जाँदा हामीले निकै माया पाउँथ्यौँ । तर, हाम्रा दर्शक भने प्रायः नेपाली नै हुन्थे ।’

‘मलाई मेरो धर्म नेपाली संगीतलाई विश्वमा फैलाउनु हो जस्तो लाग्थ्यो । त्यसले पनि मलाई यो प्रस्ताव स्वीकार गर्न प्रेरित ग¥यो ।’ देवा र मिटेनसँग सहकार्य गरिरहेका सिंह १९७४ एडी र सुकर्मसँग पनि कुनै न कुनै रूपमा जोडिइरहेका छन् । झन्डै सात वर्षपछि एकसाथ जुटेको १९७४ एडीको नयाँ एल्बम निरन्तरताको एउटा धुनमा सिंहले बाँसुरी बजाएका छन् ।  ‘आगामी वर्ष अस्ट्रेलियामा हुने सांगीतिक कार्यक्रममा १९७४ एडीसँग बजाउने तयारी गरिरहेको छु,’ उनले भने । देवा र मिटेनसँग सिंहले सहकार्य गरेको १५ वर्ष भयो । हालसम्म उक्त समूहले आधा दर्जन सांगीतिक एल्बम सार्वजनिक गरिसकेको उनी बताउँछन् ।

नेपालमा अहिले प्रस्तुति नदिएको समूहले पश्चिममा भने राम्रै ख्याति कमाएको उनको दाबी छ । ‘वर्षमा करिब ६० देखि ७० वटा सांगीतिक कार्यक्रम गर्छौँ । ती विभिन्न देशमा हुन्छन् । ’ ‘भर्खरै युरोप भ्रमण गर्यौँ जहाँ २४ सहरमा प्रस्तुति दियौँ । आगामी वर्ष दक्षिण अमेरिका र क्यानडा भ्रमण गर्ने तयारी गरेका छौँ,’ उनले भने ।  समूहमा देवाले किबोर्ड बजाउँछिन् भने मिटेनले गितार । सिंहको काम भने रचनालाई पूर्वीय शैलीमा ढाल्ने, पूर्वीय धुन रचना गर्ने र त्यसमा बाँसुरीको धुन भर्नेछ । गायनमा भने देवाको मुख्य भूमिका रहन्छ । आवश्यकता हेरेर तीनै जनाले स्वर दिने गरेको सिंह बताउँछन् ।

ग्य्रामीजस्तो प्रसिद्ध अवार्डमा मनोनयन हुँदा कस्तो महसुस भइरहेको छ ?

देवा र मिटेनले हाम्रो कामले ग्य्रामीमा स्थान पाएको सूचना दिँदा म घरमै थिएँ । ’बेस्ट न्यु एज एल्बम’मा मनोनयन भएको थाहा पाउँदा मलाई त्यति धेरै आश्चर्य भने लागेन । खुसी भने निकै भएँ । हामीले गर्ने संगीत अरूभन्दा भिन्न छ । त्यसैले होला मनोनयन भएको ।  रमाइलो कुराचाहिँ के भने ग्य्रामीमा मनोनयन भएको खबर फैलिएपछि नेपालबाट निकै धेरै फोन र इमेल आए । रातभरिजसो फोन बजेपछि ठूलै काम गरिएछ जस्तो लाग्यो । नेपाली सञ्चारमाध्यमबाट धेरैले सोधीखोजी गरेको कुरा देवालाई सुनाएँ । उनलाई भने जर्मनीबाट खासै त्यस्तो सोधीखोजी गरिएको रहेनछ ।

ग्य्रामीमा मनोनयन हुने पहिलो नेपाली भएकाले होला नेपालमा यति धेरै चासो देखिएको । हाम्रो संस्कृति पनि अलि फरक छ । हामी नेपाली हुनुमा गर्व गर्छौँ । देवामा रहेका सातवटा धुनमध्ये चारवटा मैले रचना गरेको हुँँ एउटा धुनमा मेरी फुपूको पनि भूमिका छ । उहाँले गुनगुनाएको ‘हरेराम हरेराम’ बोललाई पनि एल्बममटा समेटेका छौँ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको भजनबाट प्रभावित हुने हुँदा पनि समूहमा मेरो भूमिका महत्वपूर्ण छ ।

पूर्वीय धुनले ग्य्रामीमा स्थान पाउँदा कस्तो महसुस भइरहेको छ ?
यो निकै खुसीको कुरा हो । म संगीतबाट मानिसको आत्मा छुने प्रयत्न गर्छु । मेरो धर्म र जीवनको उद्देश्य नै संगीत हो भन्ने जस्तो लाग्छ । र ग्य्रामीजस्तो अवार्डमा मनोनयनमा पर्दा साँच्चै त्यसो गर्न सकिएको रहेछ जस्तो लाग्छ ।

जितहार भन्दा पनि ग्य्रामीमा मनोनयन हुनु नै ठूलो कुरा हो । तर जुन विधामा हामी मनोनयन भएका छौँ त्यसमा अरूको र हाम्रो संगीत निकै फरक छ । मनोनयन हुने पाँचमध्ये दुईलाई म व्यक्तिगत रूपमै चिन्छु । अर्का एक जनासँग मेरो गत वर्ष कुरा भएको थियो । सँगै केही काम गर्ने कुरा पनि भएको थियो । उनले एकपटक ग्य्रामी जितिसकेका छन् ।

एक हिसाबले म किन आशावादी छु भने उहाँहरूको प्रायः रचना इन्स्ट्रुमेन्टल छ । हाम्रो रचना नितान्त फरक छ । काठमाडौंको बौद्धमा हुर्केका मनोज सिंहले पश्चिमा मुलुकमा पूर्वीय संगीत प्रवद्र्धन गर्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ । ‘मैले उहाँहरूलाई (देवा र मिटेन) नेपालमा कार्यक्रम गरौँ भनेको छु । भविष्यमा पक्कै होला,’ उनले भने ।  ‘विश्वमा जहाँ गएर बाँसुरी बजाए पनि मलाई पशुपतिनाथमा बजाउँदा जस्तो आनन्द महसुस हुँदैन ।’

प्रतिक्रिया