केशवले ल्याए ‘हितैको माया’

काठमाडौं । दशैँको छेको पारेर गायक केशव राईले ‘हितैको माया’ गीतिएल्बम बजारमा ल्याएका छन् । विगत २५ वर्षदेखि गायनमा क्रियाशील राईले यसअघि ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम ल्याइसकेका छन् ।

राजधानीमा सेवा इन्टरटेन्मेन्टको ब्यानरमा गीतकार जीवन मुकारुङले संयोजन गरेको कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बू, विशेष अतिथि गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङ, गीतकार टीका चाम्लिङ, आख्यानकार राजन मुकारुङ, कविहरू चन्द्र रानाहँछा, रविन्द्र दिखुक्पा, शुक्र राई लगायतले संयुक्तरूपमा विमोचन गरे । गायक केशव भने मकाउमा कार्यरत् छन् ।

‘हितैको माया’ एल्बममा ‘हितैको मायालाई’, ‘झममा झम’, ‘हाँसेर बोलिदेऊ सानु’, ‘जुग जाने माया’, ‘खोले हुन्थ्यो सोल्टिनीले’ र ‘साकेला नाचौँ’ गरी ६ ओटा लोकआधुनिक र फ्युजन दोहोरी गीतहरू समाविष्ट छन् । एल्बममा गायक केशवलाई सुनिता थेगिम, सरु कोयु, शशी राई, श्रेयसी चेम्जोङ, राजु आङ््देम्बे लगायतले स्वरमा साथ दिएका छन् भने शब्द लब्ली तुलसी, जिविहाङ राई, सरु कोयु, कुमार राई, टीका चाम्लिङ र स्वयं गायक समेतको रहेको छ ।

कार्यक्रममा बोल्दै प्राज्ञ लुमुम्बूले नेपाली गीत–संगीतको विकासमा डायस्पोरामा रहेका सर्जकको उल्लेखनीय योगदान रहेको बताए । उनले गायक केशव राईको ‘हितैको माया’ भित्रका गीतले माया, प्रेमका साथसाथै जीवन जगत्बारे बोलेको जिकिर गरे । यसै गरी अन्य वक्ताले गायक राईको गायकीको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया