पुजार सार्कीको ‘रिमै’ सार्वजनिक

काठमाडौं । आगामी १० जेठमा विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका छन् ।

यो गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसैगरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ । गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको संगीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ ।

यसअघि सार्वजनिक गीत ‘दर्शन गरेँ’लाई अत्यधिक रुचाइएको छ भने चलचित्रका पोस्टर र टिजरबाट दर्शक प्रतिक्षित बनेका छन् । यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । सो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङडम नेटवर्कको ब्यानरमा बनेको सोे चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । निर्माता भुसालले नै यस चलचित्रको लागि संगीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।

प्रतिक्रिया