वैचारिक कार्यदिशामा विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी गठन भएको एक वर्ष पूरा भएकै समयमा वैचारिक बहसले नयाँ विवाद लिएको छ । अहिलेको नेतृत्व पक्ष जनताको बहुदलीय जनवादलाई रूपान्तर गर्दै लैजानुपर्ने पक्षमा देखिएका छन् भने दोस्रो तहका नेताहरू जबजलाई जस्ताको त्यस्तै लैजानुपर्नेमा उभिएका छन् ।

एकतालाई अन्तिम रूप दिँदै गर्दा सार्वजनिक मञ्चमै नेताहरूबीच अबको विचार के हुने भनेर बहस समेत हुन थालेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यसलाई परिस्कृत रूपमा लैजानुपर्ने बताउँछन् भने ईश्वर पोखरेल लगायतको समूह जबजलाई चलाउन नहुने भनेर आवाज उठाउन थालेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् । २६ औँ मदन–आश्रितस्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उनको विचारलाई छाड्न नमिल्ने बताए ।

‘मदन भण्डारीले अगाडि सारेको विचारलाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ,’ उनले भने, ’मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता ? यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।’ भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रूपमा नभई मार्गदर्शकका रूपमा लिनुपर्ने विचार व्यक्त गरे । ‘मदनको विचारलाई सूत्रका रूपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन । समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ,’ उनले भने ।

अर्का अध्यक्ष दाहाले भने जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट विचार संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन समाजमा वर्ग संघषको नयाँ व्याख्या र नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको अध्यक्ष दाहालले बताए । ‘पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिस्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो,’ दाहालले अगाडि भने,‘नयाँ परस्थितिअिनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी समर्थ हुन्छौँ ।’

तर, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले मदन भण्डारीको नेतृत्वमा प्रतिपादित जवजको रक्षार्थ कार्यकर्ताबीच जाने घोषणा गरेका छन् । जेठ १ गते युवा संघ नेपालले आयोजना गरेको स्थापना दिवसको अवसरमा नेकपाको सिद्धान्त जवज नै हुनुपर्ने भन्दै मैदानमा उत्रिएका नेता पोखरेलले अव पार्टीमा जवज स्थापित गर्न देशभरका कार्यकर्ताबीच जाने घोषणा गरेका हुन् । अध्यक्ष दाहालसँग युवासंघको कार्यक्रममै बहस समेत गरेका पोखरेलले एक्लै भएपनि यो विषयमा लडाई जारी राख्ने बताएका हुन् ।

‘जनताको बहुदलीय जनवादको विचारचाहिँ मलाई जहिलेसम्म सही लाग्छ, म एक्लै भए पनि दृढतापूर्वक उभिन्छु’, उनले अगाडि भने,‘देशव्यापीरूपमा पार्टीका कार्यकर्ताले यो विचारको सारलाई बुझ्नुहुन्छ । म ती विचारलाई कार्यकर्ताको बीचमा लिएर जान्छु ।’ नेता पोखरेलले बिचार मिल्नेसँग सहकार्य हुने भन्दै आफू कुनै पनि नेतालाई धुरी मानेर चल्ने मानिस नभएको घोषणा पनि गरेका छन् ।

नेकपाका नेताहरूका अनुसार पोखरेल पार्टीमा आफ्नो गुट स्थापना गर्ने दाउमा रहेका छन् । एकताका क्रममा असन्तुष्ट बनेका नेताहरूलाई समेटेर उनी मजबुत गुट बनाउने दाउमा रहेको स्रोतले जानकारी दिएको छ । यही कुरालाई मध्यनजर गर्दै उनले एकतालाई अन्तिम रूप दिदै गर्दा जबजलाई हतियार बनाएका हुन् ।

एकताको एक वर्षसम्म आईपुग्दा पनि पूर्णरूपमा एकता भइनसकेको नेकपामा विचारधारा के बनाउने भनेर अहिलेसम्म गम्भीर छलफल भएको छैन । पार्टी एकताको समयमा ‘जनताको जनवाद’ भनेर भनिए पनि दोस्रो तहका नेताहरू नै खुलेर विरोधमा उत्रिरहेका छन् । पार्टी चलयमान नहँुदा ठूलो शक्ति खेर गईरहेको छ । पछिल्लो पटक जनवर्गीय संगठनको नेतृत्व चयन गरेपनि पोलिटब्युरो र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन ।

यी विषय टुंगोमा पुर्याउन शनिवार पुन सचिवालयको बैठक बोलाइएको छ । २१ वटा जनसंगठन मध्ये पूर्व एमालेले १५ र पूर्व माओवादीले ६ वटा पाएको छ । १५ जनवर्गीय संगठनका संयोजकमध्ये ओली पक्षका ९ जना, माधव नेपाल पक्षका ५ जना छन् भने बामदेव गौतम आफैँ किसान महासंघको संयोजक छन् । पूर्व माओवादीतिरका ६ जना संयोजकमध्ये रामबहादुर थापा बादल पक्षले आधा हिस्सा पाएको छ । महिला संघकी अध्यक्ष अमृता थापा मगर, प्रेस संगठनका महेश्वर दाहाल र आदिवासी जनजातिका सुरेश आले बादल निकट मानिन्छन् ।

प्रतिक्रिया