धरौटीमा छुटे पूर्व आयुक्त पाठक

काठमाडौं । ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई घुस लिएकै रकम बराबर ७८ लाख रुपैयाँ धरौटीमा रिहागर्न आदेश दिएको हो ।

नेपाल इन्जिनियरिङ कलेजको मुद्धा मिलाइदिने भन्दै तत्कालिन आयुक्त पाठकले सञ्चालक लम्बोदर न्यौपाने समुहबाट ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएलगत्तै पाठकले राजिनामा दिएका थिए । सो विषयमा अख्तियारले नै अनुसन्धान गरी गत चैत १२ गते विशेष अदालतमा भष्ट्रचार सम्वन्धि मुद्धा दायर गरेको थियो । सोही मुद्धाका लागि उनि पहिलो पटक बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । विहान अदालतमा उपस्थित भएका उनीसँग बयान लिइएको थियो ।

अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकको बयान लिएका थिए । बयानपछि थुनछेकको बहस भएको थियो । बहसपछि उनलाई ७८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । पाठकको धरौटीका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेकोले उनी तारेखमा रिहा भएको विशेष अदालतका उप रजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

अदालतमा उपस्थित भए लगत्तै उनीसँग करिव पाँच घण्टासम्म बयान लिइएको थियो । स्रोतका अनुसार उनले घुमाउरो पारामा घुस लिएको स्विकार गरेका छन् । प्रत्यक्ष रुपमा भने उनले घुस आफुले नलिएको बयान दिएका छन् । विभिन्न व्यक्तिले आफुमाथी चलखेल गरेको कुरा पनि उल्लेख गरेको स्रोतले दावी गरेको छ ।

अख्तियारले अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ । उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ । सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ ।

यो घूस प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन् । दुवै व्यवस्थाअनुसार उनलाई ९ देखि १२ वर्षसम्म कैद हुनेछ । अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ । सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो फागुन ३ मा सार्वजनिक भएको थियो । सोही दिन उनले पदबाट राजीनामा दिएका थिए भने अख्तियारले ३ थान डिभिडी, ३ थान पेनड्राइभमा भिडियो तथा अडियो राखेर अदालतमा बुझाएको छ । मुद्दा अदालत लैजानुअघि अख्तियारले पाठकसँग बयान लिएको थियो ।

त्यसको भिडियो रेकर्ड पनि अदालतमा पेस गरिएको छ । यो घुस प्रकरणमा जोडिएका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको छ । घुसबापतको ७८ लाख रुपैयाँ तत्कालीन आयुक्त पाठकलाई झाले बुझाएका थिए । पाठकको भिडियो खिच्ने ध्वजमान मोक्तानबारे अभियोगपत्रमा केही उल्लेख गरिएको छैन ।

पाठकलाई घुस दिने न्यौपाने भने हाल फरार रहेका छन् । उनका विरुद्ध पनि अख्तियारले विशेषमा मुद्धा दर्ता गरेको छ । न्यौपानेविरुद्ध पनि सोही ऐनअन्तर्गत सजायको माग दाबी गरिएको छ । दुवैलाई ऐनअन्तर्गत ६ देखि ८ वर्षसम्म सजाय हुने उल्लेख छ । अदालतले धरौटीमा रिहा गरिदिएपछि अब पाठकले थुना बाहिर नै बसेर सो मुद्धा लड्न पाउने भएका छन् ।

प्रतिक्रिया