छानबिन प्रतिवेदन गुमनाम

काठमाडौं । सुन तस्करको ट्रान्जिट बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अझै पनि ठूलो परिणाममा तस्करी हुने गरेको खुलेको छ । साढे ३३ किलो सुनबाट पर्दाफास भएको यो प्रकरण अझै पनि जारी रहेको खुलेको हो ।

पहिला पनि तस्करीमा विमानस्थलकै कर्मचारीको मिलेमतो हुने गरेको थियो । अहिले पनि विमानस्थल कर्मचारीकै मिलेमतो हुने गरेको छ । यति गम्भीर विषयमा प्रशासनले कुनै ठोस एक्सन लिन सकेको छैन । काम गर्ने कर्मचारी नै तस्करीमा संलग्न हुन गम्भिर अपराध हो । विगतमा ३८ क्विन्टल तस्करीमा प्रहरी प्रशासन, विमानस्थल कर्मचारी र राजनीति दलका नेताहरुनै सलग्न रहेको खुलेको थियो ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि यो रहस्य खुलेको थियो । उनको फागुन १७ गते हत्याभएपछि २० गते बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन आयोग बनायो । सो आयोगले लामो अध्ययन गरेपछि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझायो ।

सुनकाण्ड र शाक्यको हत्याकाण्डका विषयमा छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन टोलीले सात सय ५२ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो । सो समितिले निकै जोडतोडका साथ छानबिन सुरु गरेको थियो । उसको काम कारबाही हेर्दा लाग्थ्यो अब कालोबजारी र तस्करीका दिन गए भनेर ।

सुरुवातमा प्रहरी प्रशासनमा रहेका दोषी देखिएका माथि उसले बयान लिने र पक्राउ गर्ने क्रम जारी राख्यो । ‘लहरो तान्दा पहरो आउछ’ भने झै एकपछि अर्को गर्दै तत्कालीन बहालवाला प्रहरी अधिकारी पनि तानिए । सुरुवाती दुई महिना सो टोलीले निकै चुस्त काम ग¥यो । जब तल्लोस्तरका अर्थात् भरियास्तरका मानिस पक्रिसकेपछि उसको गतिमा विस्तारै ब्रेक लाग्न थाल्यो ।

छानबिन टोली राजनीतिक नेतृत्वसम्म आउन नै सकेन् । त्यसबीचमा एकपटक समितिको म्याद पनि थप भयो । तर, खासै ठूलो प्रगति हासिल गर्न सकेन् र सरकारले प्रतिवेदन बुझाउन निर्देशन दियो । सो समिति ठूला माछा छेउ पुग्नै लाग्दा त्यसलाई त्यहीँ बिट मार्दै प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको थियो । प्रतिवेदनमा स्पष्टरूपमा भनिएको छ, ‘हालसम्म अनुसन्धानले देखाएअनुसार नेपालमा ३८ क्विन्टल सुन तस्करीको माध्यमबाट भित्रिएको देखिन्छ र यो भित्र्याउन कुनै समूहभन्दा पनि राजनीतिक रूपमा संरक्षण भएको समूह देखिएको छ ।’

समितिले म्याद सकिन लाग्दा यो तस्करीमा ठूलो सञ्जाल रहेकाले यसको अझै गहिराईसम्म छानबिन हुनुपर्ने धारणासमेत सार्वजनिक गर्यो । साढे ३३ किलो सुन काण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’लाई भने समितिले समात्न सफल भयो । तर, तिनै गोरेले यसमा राजनीतिक नेतृत्व पनि संलग्नता रहेको मुख खोलेका थिए । उनले राजनीतिक रूपमा को संलग्न रहेको भनेर खुलाएका छैनन् । उनी अहिले पनि गोलघरमा बसिरहेका छन् ।

साउनमा बुझाइएको प्रतिवेदन आठ महिना बितिसक्दा पनि सुनकाण्डमा न त छानबिन अगाडि बढेको छ न त प्रतिवेदन नै सार्वजनिक भएको छ । सुरुमा यसले राजनीति खुवै तताएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसवेला यो काण्डका विषयमा बोलेको थियो । राजनीतिक रूपमा फाइदा लिन चर्को बहस थालेको कांग्रेस आफ्नै दलका नेता समेत संलग्नता रहेको सुइको पाएपछि बोल्न हिच्किचाउन थाल्यो । समय वितेसँगै विपक्षीले यो मुद्धा विर्सिएको छ ।

यद्यपि, सरकारले भने यसलाई सफलताको रूपमा चित्रित गर्न छाडेको छैन । चर्को दबाब परेका वेलामा सरकारले यसको अनुसन्धान भइरहेको भन्दै पन्छिने गरेको छ । जसले गर्दा यो काण्ड अब यत्तिकै सेलाउने प्राय निश्चित जस्तै छ । जनताले दुईतिहाइको यो सरकारबाट सुनकाण्डका सरदार मानिनेहरू पक्राउ पर्ने आशा व्यक्त गरेका थिए । तर, त्यसमा चुकेपछि स्वयं नेकपाकै नेताहरू सरकार माफियासँग घुलमिल भइरहेको सार्वजनिक मञ्चबाट आरोप लगाउँछन् ।

त्यसो त सुनकाण्डको यो प्रतिवेदन मात्र सार्वजनिक नभएको पहिलो घटना भने होइन् । यसअघि नाम नै किटान गरेर संसदीय समितिले बनाएको प्रतिवेदन पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । परि थापा नेतृत्वको समितिले छानबिन गरी २८ पुस ०५५ मा बुझाएको प्रतिवेदनमा किटानीका साथ दीपक मल्होत्रा, अनिल जाटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह (स्व.), ताहिर शाह, प्रकाश टिबडेवाला, विष्णु जोशी, धोजेन्द्र गौचन, विष्णु गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँरको नाम दिएको थियो । यी मध्ये केही व्यक्ति अझै पनि राजनीतिक संरक्षणमा विभिन्न व्यवसाय गरिरहेका छन् । तर, ती कुनैमाथि कानुनी कारबाही अहिलेसम्म पनि भएन । २० वर्षसम्म पनि प्रतिवेदन कार्यान्वयन नभएका वेला सरकारले प्रतिवेदनअनुसार काम गर्न सक्नेमा आशंका व्यक्त हुन थालेको छ ।

निगमका कर्मचारीबाटै सुन तस्करी
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित दुई जनालाई प्रक्राउ गरेको छ । नेपाल वायुसेवा निगमका कर्मचारीसहित दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा घर भएका २१ वर्षीय रञ्जितकुमार यादव र कतारबाट काठमाडौं आएका २६ वर्षीय धर्मेन्द्रकुमार यादव छन् । रञ्जित एक वर्षदेखि करारको रुपमा विमानस्थलमा लोडरको काम गर्दै आएका व्यक्ति हुन् । धर्मेन्द्र दोहाबाट नेपाल एयर लाइन्सको फ्लाइटबाट काठमाडौं आएका थिए । विमास्थलमा ओर्लनेबित्तिकै उनी बस चढेर अलि वर आएपछि लोडरको काम गर्ने रञ्जित दगुर्दै बस भएको ठाउँमा पुगे । धर्मेन्द्रले रञ्जितलाई हातमा सानो पोको थमाए, जुन सुन थियो ।

त्यसपछि धर्मेन्द्र गौशालाको एक होटलमा पुग्नेबित्तिकै प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि निगमका कर्मचारी रञ्जितलाई पनि पक्राउ गर्यो । पक्राउपछि धर्मेन्द्रले दिएको १० तोलाका तीन टुक्रा सुन रञ्जितले मोटरसाइकलको ब्याट्रीमाथि लुकाएर राखेको स्विकार गरे ।

पक्राउ परेपछि उनले सुन लिएको स्वीकार गर्दै मोटरसाइलकमा लुकाएर राखेको सुनको बारेमा प्रहरीलाई बताएका थिए । प्रहरीले विमानस्थलमै पार्किङ गरेर राखेको उनको मोटरसाइकलको ब्याट्रीमाथि लुकाएर राखेको सुनका तीनवटा टुक्रा बरामद गरको थियो । उक्त सुन ३० तोला रहेको प्रहरीले जनाएको छ । उनले यसरी सुन पास गरेबापत पैसा बुझ्दै आएको प्रहरीले जनाएको छ । ३० तोला सुन पास गर्दा मात्रै उनले झन्डै ६ हजार रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले लामो समयदेखि यसरी तस्करी गर्दै आएको प्रहरीले बताएको छ । प्रहरीले विमानस्थलका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया