काठमाडौं । कार्ल मार्क्सको २०१ जन्मस्मृतिका अवसर पारेर राजधानीमा आइतबार भएको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरूविच घोचपेच भएको छ । विशेषत क्रान्तिको दिशा र विचारका बारेमा मञ्चमा बसेका एकै पार्टीका नेताविच घोचपेच भएको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल थिए भने त्यसपछिका वक्ताहरूमा झलनाथ खनाल र धनश्याम भुषाल रहेका थिए ।
प्रज्ञा प्रतिष्ठानमा नेता कार्यकर्ताले खचाखच भरिएको हलमा सुरुमा भुषालले बोलका थिए । सत्तारुढ पार्टीभित्रै विपक्षी जस्तो गरी बोल्ने छवि बनाएका भुषालले सरकारको कटाक्ष र नेतृत्वको आलोचना गर्दै आफ्नो मन्तव्य सुरु गरे । उनले दुई तिहाईको सरकार धेरै उत्ताउलो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कम्युनिष्टहरू नसुध्रिए दुर्घटना हुने चेतावनी दिए ।
बितेको एक सय वर्षमा विश्वमै नपाएको जनमत नेपाली कम्युनिष्टले पाएको बताउँदै यसको ख्याल गर्न उनले सुझाए । ‘हाम्रो समृद्धिको डुंगा हिमपत्थरमा गएर दुर्घटना नहोस् । यो जनमतले हामीलाई कुनै पनि हिसावले उत्ताउलो हुन दिँदैन । कुनै पनि हिसाबले हामीलाई आत्तिन र मात्तिन दिँदैन’, नेता भुषालको भनाई थियो ।
नेता भुषालले पछिल्लो समय नेता कार्यकर्तामा मौलाएको अराजकतातर्फ संकेत गर्दै भने, ‘हिजो राजाले खाए, त्यसपछि कांग्रेसले खाए आज हामी खान्छौँ भन्न थालियो भने यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैन, हामीबाट सबैले समृद्धिमा पुग्ने आश गरेका छन् ।’ उनले सरकारलाई जनताको म्याण्डेट अनुसार अगाडी बढ्न पनि सुझाए । ‘बिहान भन्सार छल्ने दलाल आउँछ, दिउँसो आफ्नै पार्टीको नपढाउने शिक्षक आएर भेट्छ, साँझ भूमाफिया आयो’, अब त पाइलैपिच्छे दलालहरूसँग ठोक्किने अवस्था छ’, उनले कम्युनिष्टको अवस्थाबारे कटाक्ष गर्दै भने, ‘राजनीतिमा हामी दिनदिनै ठक्कर खान्छौँ ।
बिचरा ऊ क्रान्तिकारीको संसदीय राजनीतिमा ठुलो घर भइदिएदेखि, छोरा छोरी सार्वजनिक स्कुलबाट अंग्रेजी स्कुलमा लाइदिन सके ढुक्क हुने सपना देखिन्छ । अझै एयरपोर्टमा उत्रिँदा र चढ्दा सय दुई सय मानिसले पछ्याइदिए केही गर्थेँ कि भन्ने भ्रम बढ्न थालेको छ ।’ उनले बोलिरहदा मञ्चमा रहेका नेकपा अध्यक्ष दाहाल भने छटपटाई रहेको देखिन्थ्ये ।
नेता भुसालले सरकारको समेत कडा आलोचना गरे । ‘समृद्ध नेपाल सुखी नेपालीको नारा लाउँछौ तर दलाल पुँजीवादबारे चुइँक्क बोल्दैनौँ’, उनले भने, ‘यसअघि ल्याटिन अमेरिकामा समाजवाद त्यसै ढलेको थिएन । यस्तो लठुवा फौज तयार गरेर अब क्रान्ति र समाजवाद आउँछ ?’ भुसालले क्रान्तिबाट आएको अहिलेको जनमत जोगाउन हम्मे रहेको सुनाए ।
भुषालका कुरा सुनेपछि अध्यक्ष दाहालले पनि निराशाजनक विचार राखे । उनले पार्टी विशाल भएपनि तपाइँ हामी एक्लै जस्तो भएको अनुभुति भईरहेको बताए । अध्यक्ष दाहालले आफु सबै त्यागेर फेरी जंगल जान पनि तयार रहेको विचार राखे । दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं ?
विगतमा एक ठाउँको मान्छे अर्को ठाउ पुग्दा हार्दिकताका साथ स्वागत हुने गरपनि अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेको भन्दै आश्चर्य व्यक्त गरे । अध्यक्ष दाहालले समाजवाद ल्याउनकै लागि पोखरी जस्ता दुई पार्टीलाई मिलाएर गड्गडाउने खोला बनाएको उल्लेख गरे । तर, पार्टीभित्र अहिले अराजकता मौलाउदै गएकोमा चिन्ता समेत व्यक्त गरे । ‘अहिले हाम्रो पार्टीमा कम्रेडहरू एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भाछ, एउटाले अर्कोलाई सिध्याउन खोजिरहेका छन्’, दाहालले थपे, ‘कम्युनिष्ट पार्टीभिभत्र पनि बदमासीहरू निस्किए ।’
वर्तमान नेकपा पार्टीलाई रुपान्तरण गरेर कम्युनिस्ट पार्टी बनाउने उनले घोषणा समेत गरे । ‘मूल्य मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने हो । श्रमजिवी जनताको विशाल फौज बनाउने हो । फौज भन्दा फेरि जनयुद्ध गर्न लाग्यो भन्ने नबुझ्नुहोला’, दाहालले भने । पार्टीभित्र विचार र संगठन कस्तो हुने भनेर बहस आवश्यक भएको उनको भनाइ थियो ।
पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगठन स्थापना भएको करीब सातदशक भएको भए पनि एकताले गर्दा अहिले बहुमत प्राप्त भएको स्मरण गर्दै राष्ट्रियता कमजोर भएको अहिलेको अवस्थामा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्ट आन्दोलनको कार्यभार लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि भएको विचार व्यक्त गर्दै उनले भने, ‘महाकाली नदीदेखि लिम्पियाधुरासम्मको भाग नेपालको सिमाना हो, सरकारले त्यसलाई कायम गर्न अतिक्रमित जमिनबाट विदेशी सेनालाई हटाउनुपर्छ ।’
प्रतिक्रिया