कतै नाम त कतै राजधानीमा किचलो

प्रदेश नाम र राजधानी

बुटवल । सात वटा प्रदेशमध्ये चार वटा प्रदेशले नाम र स्थायी राजधानी टुंगो लगाउने अन्तिम तयारीमा जुटेका छन् । तीन वटा प्रदेशले भने यसअघि नै नाम र राजधानी टुंगो लगाइसकेका छन् ।

प्रदेश–१, २, ३ र ५ नम्वरले अहिले नामकरणका लागि समिति, उपसमिति बनाएर काम गरिरहेका छन् । प्रदेश–१ मा नामकरण विषयमा विवाद उत्पन्न भएको छ । स्थायी राजधानी भने विराटनगर, इटहरी र गोठगाउँका भाग समेटेर घोषणा गरिने लगभग सहमति भएको छ ।

सो क्षेत्रमा राजधानी राख्न धनकुटामा विरोध हुने देखिएपछि त्यहाँ सम्पर्क कार्यालय राख्ने यसअघि नै प्रदेश सरकारले निर्णय गरिसकेको छ । नामका विषयमा भने नाममा विवाद छ । सर्वदलीय बैठक गरेर आइतबारसम्म एक निचोडमा पुगेर संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारीमा दलहरू रहेका छन् । यस विषयमा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस लगायतका ५ दलहरू सहमत भएका छन् । स्रोतका अनुसार प्रदेश–१ को नाम कोशी वा सगरमाथा राख्ने सहमति जुट्न सक्ने बताइएको छ ।

प्रदेश–२ मा पनि नामका विषयमा किचलो उत्पन्न भएको छ । राजधानी जनकपुरमै राख्ने लगभग सहमति जस्तै छ । नाम पनि मधेश राख्नुपर्ने सुझाव आएको छ भने अन्य नामहरू पनि आएका छन् । प्रदेश सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगले आफ्नो प्रतिवेदनमा प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुर राख्न सुझाव दिएको छ ।

उसको प्रतिवेदन अनुसार ७० प्रतिशत जनता मधेश नाम राख्नुपर्ने र ८० प्रतिशत जनता जनकपुरमै राजधानी राख्नुपर्ने पक्षमा सुझाव दिएको उल्लेख गरेको छ । तर, प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसले सो प्रतिवेदन औचित्यहीन भएको टिप्पणी गरेका छन् । प्रतिवेदन वस्तुनिष्ठ नरहेको उनीहरूको भनाइ छ । दुवै दलले नामका विषयमा विवाद उत्पन्न भएको बताए । नेकपा र कांग्रेस मिथिला र भोजपुरा हुनुपर्ने माग गरेका छन् ।

प्रदेश–३ को भने राजधानीका विषयमा अझै किचलो अन्त्य भएको छैन । स्थायी राजधानी हेटौडा, भक्तपुर वा काभ्रे कहाँ राख्ने भनेर छलफल भइरहेको छ । यद्यपी दलहरूबीच अहिलेसम्म सहमति हुन सकेको छैन । दलभित्रै स्थायी राजधानीको नाममा आन्तरिक सहमति जुट्न नसक्दा नामकरण भने छलफल भएको छैन । यद्यपी नेताहरूले राजधानीको टुंगो लागे नामाकरणमा कुनै समस्या नरहेको बताउँदै आएका छन् ।

तर, नेकपाले स्थायी राजधानी हेटौडा नै राख्ने लगभग सहमति गरेको स्रोतले दावी गरेको छ । यसअघि काभ्रे भनिएपनि त्यहा सुरक्षण मुद्रण स्थापना गरिने निर्णय भईसकेकाले भौतिक संरचनाको अभाव देखिएको छ । हेटौंडा नेकपाको राजनीतिक गढ समेत भएकाले त्यसलाई नै राजधानीका रुपमा विकास गर्न केन्द्रबाट निर्देशन गएको नेकपाकै नेताहरू बताउछन् । नामका विषयमा भने बागमतिमा लगभग सहमति जुट्ने स्रोतले बताएको छ ।

उता, प्रदेश–५ को नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङमा बनाउने उपसमितिले सुझाव दिइएको छ । प्रदेश सभामा राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले शनिवार मूल समितिलाई सुझाव सहितको प्रतिवेदन दिएको हो । शनिबार बसेको बैठकले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको छ । सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम
रूप दिनेछ ।

हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो । प्यूठानको सरुमारानी, अर्घाखाँचीको लापे, पाल्पाको तानसेनलगायतका स्थानको नाम पनि प्रतिवेदनमा समेटिएको छ । सुझाव संकलनमा १३ सय १२ जनालाई प्रश्न सोधिएको थियो । त्यसमध्ये रुपन्देही र दाङले मात्रै संख्याको १० प्रतिशतभन्दा बढी मत पाएका हुन् ।

सुझाव संकलनका क्रममा आएका सुझावअनुसार लुम्बिनीमा धेरैको मत रहेको छ भने बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए । यस्तै, स्थायी राजधानी र नामाकरणबारे विवाद चर्किने सम्भावना बढेपछि केही सांसदहरूले मध्यमार्गी उपायको खोजी गर्दै दाङ वा कपिलवस्तुमा सम्पर्क कार्यालय राखेर रुपन्देहीलाई नै स्थायी राजधानी तोक्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया