काठमाडौं । समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रवार बिहान प्रवेश गरेको छ । बंगालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ ।
उक्त फानी’ को असर नेपालमा पनी सुरु भएको छ । सो बारेमा जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार नै सूचीत गरेको थियो ।
बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपालसम्मै आउने सम्भावना तत्काल देखिएको छैन ।
आँधीको प्रभावले त्यहाँ वर्षा सुरु भएको छ । ओडिसाको पुरी शहरमा मध्यान्ह १२ बजेसम्म आँधी प्रवेश गर्ने बताइएको छ । फानीको सम्भावित मार्गबाट ११ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ । तटीय क्षेत्रहरुमा रेल र विमान सेवा, दुई बन्दरगाह र शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पुरी शहरमा ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिरमा फानीको असर पर्न सक्ने बताइएको छ । उद्धार र राहतका लागि भारत सरकारले जल सेनालाई तम्तयार राखेको छ । ७ पानी जाहाज, ६ विमान, र दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।
नेपालको पश्चिमी क्षेत्र रुपन्देही र कैलालीमा शुक्रबार बिहान सामान्य हावाहुरी आएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी फानीको नेपालमा आंशिक प्रभाव पर्ने बताएको छ ।
भारतबाट बंगलादेशतिर पुग्ने क्रममा आँधीको वेग कमजोर हुने र नेपालमा सामान्य प्रभाव देखिने महाशाखाको भनाइ छ । शुक्रवार अपरान्हदेखि शनिबारसम्म पूर्वी नेपालमा हावाहुरीसहितको वर्षा र चट्याङ पर्न सक्ने बताउँदै सावधानी अपनाउन सूचना जारी गरिएको छ । शुक्रवार पश्चिमी वायु सक्रिय हुने भएकोले देशैभरी वर्षा हुने अनुमान पनि गरिएको छ ।
हिमाली भेगमा भारी हिमपात हुने अनुमान गरिएको छ । सन् २०१४ मा समुन्द्री आँधीका कारण नेपालको हिमाली क्षेत्रमा भारी हिमपात भएको थियो ।
प्रतिक्रिया